Logo
|
Friday 26th April 2024
Logo

epaper

जब पूरै बन्द हुन्छ मुटुको नसा



आम नेपालीहरुको बदलिँदो खानपान, धुम्रपान, र जीवनशैलीका कारण उच्च रक्तचाप तथा मुटुको रक्तनलीमा बोसो जमेर हृदयघात भएका विरामीहरुको संख्या बढ्दो छ । एन्जियोप्लास्टी तथा बाईपास सर्जरी हृदयाघातका विरामीको उपचारमा प्रयोग हुने महत्वपूर्ण उपचार विधि हुन् ।
मुटुको नसामा बोसो, चिल्लो पदार्थ जमेर रक्तनली साँघुरिन गई मुटुमा रगतको प्रवाह कम हुन थालेपछि शरीरले कुनै पनि गाह«ो काम गर्दा छाती दुख्ने लक्षण देखापर्ने अवस्थालाई एन्जाइना भनिन्छ । केहि समय आराम गरेपछि यो दुखाइ निको हुन्छ र मुटुले फेरि राम्ररी काम गर्न थाल्छ । यो अवस्थामा मुटुमा स्थायी क्षति हुन पाउँदैन ।

चिल्लो पदार्थको मात्रा रगत एवं रक्तनलीमा बढ्दै गएर मुटुको रगतको नसा पुरै बन्द भएको अवस्थामा आराम गर्दा पनि मुटुको रगत प्रवाह पुनः सञ्चालन हुन सक्दैन र छाती दुख्ने समस्या कम हँुदैन । यस अवस्थालाई हृदयाघात भनिन्छ । हृदयघातपछि मुटुको जुन भागको रगत प्रवाह रोकिन्छ त्यो भागको मांसपेशी मरेर जान्छ र काम गर्न छोड्छ । थोरै मांसपेशी मरेको अवस्थामा बिरामीको शक्ति क्षमता कम भए पनि बाँच्न सक्छ तर धेरै मांसपेशी मरेको अवस्थामा मुटुले कार्य गर्न नसक्ने भएकाले बिरामीको मृत्यु हुनसक्छ ।
कसरी दिने उपचार सेवा ?

खाने ट्यावलेट, एन्जियोप्लास्टी र बाईपास सर्जरी गरी ३ किसिमका उपचार विधि छन् । एउटा नसा बन्द भएर कम जोखिमयुक्त अवस्थामा ट्यावलेटको प्रयोग गराएर उपचार गरिन्छ । दुई वटा नसा बन्द भएमा अवस्थाअनुसार एन्जियोप्लास्टी गर्नुपर्छ । तीनवटा नसा बन्द भएमा बाइपास सर्जरी गर्नुपर्छ ।

एन्जियोप्लास्टी के हो ?

यो तिघ्रा वा हातको नसाबाट तार घुसाई मुटुको नसा खोल्ने पद्धति हो । उक्त तारको सहायताबाट बैलुन पठाएर बन्द भएको नसालाई फुलाइन्छ र त्यसपछि जाली (स्टेण्ट) राखेर रगत सुचारु गराइन्छ । यस्तो अवस्थामा चिरफारको जरुरत पर्दैन ।

बाइपास के हो ?

यसमा बन्द भएको रगतको नसालाई शरीरको अन्य भागबाट निकालिएको नसाको नयाँ बाटो जोडेर रगतको पुन प्रवाह गराइन्छ । यसका लागि प्रायः खुट्टाबाट निकालिएको नसा प्रयोग गरिन्छ ।

बाइपास सर्जरीको आवश्यकता कस्तो अवस्थामा पर्छ ?

मुटुको तीन वटै नसा बन्द भएको वा मुटुमा रगत जाने मुख्य नसा (लेफ्ट मेन स्टेम) बन्द भएको जटिल अवस्थामा बाइपास सर्जरी राम्रो उपचार हो । एन्जियोप्लास्टी मात्र गर्दा यस अवस्थामा फेरि छिटै हृदयाघात हुने वा चाँडै मृत्यु हुने सम्भावना रहन्छ ।

हृदयाघातले मुटु कमजोर भइसकेको बिरामीलाई बाईपास गर्न मिल्छ कि मिल्दैन ?

बाईपास सर्जरीले सबैभन्दा फाइदा मुटु कमजोरी भइसकेका बिरामीलाई नै हुन्छ । त्यसैले यस्ता कमजोर मुटु भई सकेकाहरुले झन छिटो मुटुको सर्जनको सल्लाह लिनुपर्दछ ।

के मधुमेहको बिरामीलाई बाईपास गर्न मिल्छ ?

बाइपास सर्जरीबाट धेरै फाइदा पुग्ने समुह मधुमेहका रोगीहरु हुन् । एन्जियोप्लास्टीको तुलनामा बाइपासबाट मुटुलाई राम्रोसँग बचाउन सकिन्छ ।

बाइपास शल्यक्रियाको कति जोखिम छ ?

बाइपास संसारमै सबैभन्दा धेरै व्यक्तिलाई गरिएको शल्यक्रिया हो । यस शल्यक्रियाबारे धेरै सुक्ष्म अध्ययन र अनुसन्धान भएका छन् । जबकि अरु कुनै पनि शल्यक्रियाको यति धेरै अध्ययन र अनुसन्धान हुन सकेको छैन । त्यसैले सजिलोसँग बिरामीको ज्यनज जोगाउने चिकित्सा प्रणालीको रुपमा यो शल्यक्रिया प्रमाणित भएको छ ।

बाईपास सेवा कहाँ उपलब्ध छन् ?
यो सेवा हाल गंगालाल राष्ट्रिय हृदय केन्द्र, मनमोहन कार्डियोथोरासिक सेन्टर, मानव अंग प्रत्यारोपण केन्द्र, धुलिखेल अस्पताल, बीपी केइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान आदिमा उपलब्ध छन् ।

बाइपास शल्यक्रियाका लागि नेपाली डाक्टर सक्षम छन् ?

यो शल्यक्रिया मुलुकका अस्पतालहरुमा नियमित रुपमा भइरहेका छन् । नेपाल र पश्चिमी देशहरुमा लामो अनुभव बटुलेका शल्य चिकित्सकहरु नेपालमै उपलब्ध छन् । उनीहरुले उच्च सेवा प्रदान गरिरहेका छन् । त्यसैले विदेशमा जानु पर्ने आवश्यकता पर्दैन ।

बाइपास शल्यक्रिया गरेका बिरामीले कति दिन अस्पताल बस्नुपर्छ ?

साधारणतया एक हप्तामा बिरामी घर जान सक्छन् । कतिपय अवस्थामा बिरामीको उमेर, शारीरिक अवस्था, मुटुको स्वस्थता, मधुमेहको अवस्थाले पनि प्रभाव पार्नसक्छ ।

बाइपास शल्यक्रियाका लागि सरकारबाट के सहयोग उपलब्ध छ ?

विपन्न नागरिकका लागि नेपाल सरकारले एक लाख रुपियाँ बराबरको आर्थिक सहयोग उपलब्ध गराउँछ । यो सुविधा सबै अस्पतालहरुमा उपलब्ध छ । यसका लागि सम्बन्धित चिकित्सकको सिफारिस लिएर आफु बसोबास गर्ने वडामार्फत जिल्ला जनस्वास्थ्य कार्यालयमा निवेदन दिनुपर्छ ।

बाइपासपछि कसरी मुटु स्वस्थ राख्ने ?

– बोसो र चिल्लो खाना नखाने
-धुम्रपान नगर्ने
-ड्ड दैनिक कम्तिमा आधा घण्टा हिड्ने वा व्यायाम गर्ने
– शरीरको तौल नियन्त्रण गर्ने
– तनाव मुक्त जीवनशैली अपनाउने
-चिनीको मात्रा तथा मधुमेह नियन्त्रण गर्ने
– नुन कम खाने
– कोलेस्टेरोलको मात्रा घटाउने,
– नियमित रुपले स्वास्थ्य परिक्षण गराउने

प्रतिक्रिया दिनुहोस्