भान्सा–भान्सामा विषादीयुक्त तरकारी

राजु अधिकारी,झापा || प्रकाशित मिति :2018-02-09 04:42:28

भारतबाट नेपाल भित्रिरहेको तरकारीमा विषादी मात्रा अत्यधिक फेला परे पनि किनबेचमा रोक लगाउन कोही पनि अग्रसर भएका छैनन् । सीमा नाकाबाट परीक्षण बेगरै नेपाल भित्रिरहेको तरकारी बजारमा पुगेपछि परीक्षण गर्दा अधिकांशमा अत्यधिक विषादीको मात्रा भेटिएको छ।

मानव स्वास्थ्यका लागि हानिकारक ठहर भइसकेका तरकारी किनबेच भने निर्वाध चलिरहेको छ । बिर्तामोडस्थित कृषि उपज बजारको विषादी परीक्षण केन्द्रमा जाँच गरिने तरकारीमा विषादीको मात्रा अत्यधिक फेला पर्दै आएको छ । भारतबाट ल्याइएका तरकारीमा मानव स्वास्थ्यमा प्रत्यक्ष असर गर्ने विषादी भेटिने गरेको जानकारी ल्याबमा कार्यरत प्राविधिक सुष्मा खड्का बुढाथोकीले दिइन्।

‘तरकारी जाँच गर्दा पाइएको विषादी मात्राअनुसार खान नमिल्ने देखिन्छ तर, बजारभरि यस्तै तरकारीको राज छ ।
उनका अनुसार सामान्यतया कुनै पनि तरकारीमा विषादीको मात्रा ४५ प्रतिशतभन्दा कम भएमात्रै खानयोग्य मानिन्छ । ‘तर, यहाँ जाँच गरिने अधिकांश तरकारीमा विषादीको मात्रा ६० प्रतिशतको हाराहारीमा पाइन्छ,’ उनले भनिन् । उनका अनुसार कृषि उपज बजारस्थलमा आइपुग्ने भारतीय तरकारीमा विषादीको मात्रा बढी पाइने गरेको छ।

केही वर्षअघि राजधानीको तरकारी बजारमा परीक्षणक्रममा विषादीयुक्त तरकारी धेरै भेटिँदा सीमा नाकामा परीक्षण केन्द्र राख्नुपर्ने आबाज चर्किएको थियो । तर, त्यो घटनाको तरंग सेलाउँदै जाँदा यस्तो आवाज उठाउनेको स्वर पनि मत्थर हुँदै गयो । नाकामा अहिलेसम्म परीक्षणको प्रबन्ध भएको छैन । काँकडभिट्टा नाकामा रहेको प्लान्ट क्वारेन्टाइनमा प्रयोगशाला त छ तर त्यसले तरकारीमा रोग भए–नभएको मात्रै जाँच गर्छ । ‘हामी रोगमात्रै जाँच गर्छौ, विषादी जाँच्ने उपकरण छैन,’ कार्यालयका कर्मचारी सुरेन्द्रप्रसाद साहले भने, ‘त्यसैले विषादीबारे हामीलाई जानकारी हुँदैन।’

नाकामा परीक्षण केन्द्र नराखेर लाचारी देखाइरहेको सरकारले अरुले राखिदिएको प्रयोगशालाको उपयोग पनि राम्ररी गरेको छैन । १० महिनाअघि प्याग नामक संस्थाले बिर्तामोडमा राखिदिएको विषादी परीक्षण प्रयोगशालामा जाँच त हुन्छ तर त्यसको रिपोर्टअनुसार काम केही हुँदैन । ‘हामीले जाँचेको तरकारीमा देखिएको विषादीको मात्राअनुसार त्यो खान नमिल्ने देखिन्छ,’ कृषि उपजका एक कर्मचारीले भने, ‘तर, बजारभरि तिनै तरकारीको राज छ । कसले रोक्ने, कसले छेक्नेरु’

नेपालमा उत्पादितभन्दा भारतबाट आयातित तरकारी तथा फलफूलमा अत्यधिक विषादी भेटिने गरेको बुढाथोकीले बताइन् । उनका अनुसार भारतबाट आउने तरकारी र फलफूल क्वारेन्टाइनमा जाँच हुनुपर्ने हो तर, अधिकांश वस्तु बिनाजाँच आइरहेका छन् । कृषि उपजस्थल बिर्तामोडको तथ्यांक शाखाकी कर्मचारी माया राजवंशीका अनुसार अहिले तरकारी ५० प्रतिशतसम्म र फलफूल ८० प्रतिशतसम्म आयात हुन्छ । आलु, प्याज, सिमी, गोलभेडा, काउली, ब्रो काउली, भन्टालगायत तरकारी भारतबाट आउने गरेको राजवंशीले बताइन् । बिर्तामोड बजारमा मात्रै होइन, पूर्वका अधिकांश बजारमा भारतीय उत्पादनकै उपस्थिति बढी छ । उपभोक्ताको भान्सामा विषादीयुक्त तरकारी पाकिरहेको छ।

नेपालको अदुवामा विषादी भेटिएको दाबी गर्दै भारतले निर्यातमा दुई वर्षअघि लामो समय प्रतिबन्ध लगाएको थियो । त्यसबेला विषादी फेला परेन । त्यसपछि पनि अनेक बहानामा अवरोध निरन्तर छ । तर, अत्यधिक विषादी रहेको भनेर यसअघि नै प्रमाणित भइसकेको भारतीय तरकारी तथा माछामासु भने परीक्षणबेगरै नेपाल भित्रिन्छ । मसलामा प्रयोग हुने अदुवामा भारतले उच्च सजगता देखाइरहँदा दिनहुँ नेपाली उपभोक्ताको भान्सामा भित्रिने तरकारीमा भने विषादी छ–छैन भनेर जाँच्ने उपकरणसमेत नाकामा छैन । ‘यो आफ्ना नागरिकप्रति सरकारले देखाएको चरम बेवास्ता हो,’ उपभोक्ता अधिकारकर्मी सन्तोष न्यौपाने भन्छन्, ‘यस्तो बेवास्ताले बजारमा विषादीयुक्त तरकारी र फलफूल किनबेच खुला जस्तै भएको छ।’

सरकारी लाचारी कति उच्च छ भने प्रमुख नाकामा भारतबाट आउने खाद्यवस्तु जाँच्ने प्रविधि र जनशक्ति दुवै छैन । त्यसैले माछा, तरकारी हेरेर, छामेर र सुँघेरै खानयोग्य भनिदिने चलन दशकौंदेखि जारी छ । काँकडभिट्टा नाकाबाट मात्रै वार्षिक सरदर ७० हजार मेट्रिक टन हाराहारीमा तरकारी नेपाल भित्रिन्छ । माछा पनि ठूलो परिमाणमा भित्रिन्छ । तर, ती कुनैको पनि विश्वसनीय परीक्षण हुँदैन । ती हेरेर, छामेर र सुँघेरै बजार हुँदै उपभोक्ताको भान्सासम्म पुग्छन् । हरियो तरकारीमा देखिएको लापरबाही माछामासुमा पनि उत्तिकै छ । एनिमल क्वारेन्टाइन कार्यालय काँकडभिट्टामा आयातित मासुजन्य वस्तु जाँच गर्ने प्रयोगशाला छैन।

स्थानीय सरकार रमिते
स्थानीय चुनावमा उम्मेदवार बनेका झापाका अधिकांश नेताले आफ्नो गाउँ÷नगरलाई विषादीमुक्त बनाउने घोषणापत्रमै उल्लेख गरेका थिए । बिर्तामोड, मेचीनगर, दमक, भद्रपुरजस्ता ठूला नगरमा चुनाव जितेका दलका नेताहरुको घोषणापत्रमा विषादी मुद्दा मुख्य प्राथमिकतामा छ । तर, उनीहरु कति बेपर्वाह छन् भने विषादी प्रमाणित तरकारी बेचबिखन रोक्नेतर्फसमेत ध्यान दिन सकेका छैनन् । परीक्षण रिपोर्टले खान अयोग्य प्रमाणित तरकारी खुलेआम बिक्री भइरहँदा पनि स्थानीय सरकार रमिते मात्रै बनेको छ । त्यस्ता तरकारी र फलफूल बिक्री वितरणमा रोक लगाउन कोही अग्रसर छैन । बिर्तामोड नगरपालिका–५ का वडाध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनका अनुसार यो वर्ष अर्गानिक खेती गर्न भन्दै तीन करोड रुपैयाँ नगरबाट विनियोजन भएको छ । तर, विषादीयुक्त तरकारी तथा फलफूल बिक्री वितरणमा रोक लगाउने कुनै योजना भने बनेको छैन। नागरिक दैनिकबाट

    Comment Here!