दिनमा एकपटक सास फेर्छ उपत्यकाले

वीरेन्द्र ओली ,काठमाडौं || प्रकाशित मिति :2018-04-12 07:43:08

उपत्यकामा जनसंख्या वृद्धिसँगै गाडीको चाप बढेको छ । सडक निर्माण, विस्तारदेखि खानेपानीको पाइपलाइन विस्तार र भूकम्पपछिको पुनर्निर्माणसँगै प्रदूषणको मात्रा पनि बढेको छ ।

प्रदूषणको कारण, यसबाट मानव स्वास्थ्यमा पार्ने असर र नियन्त्रणका उपायबारे वातावरणविद् भूषण तुलाधरसँग नयाँ पत्रिकाकर्मी वीरेन्द्र ओलीले गरेको कुराकानी उनकै शब्दमा :

भूषण तुलाधर/वातावरणविद्

यसरी बढ्दै छ प्रदूषण
प्रदूषणको मुख्य कारण यातायात प्रणाली हो । यातायातका साधनबाट निस्किने धुवाँमा सडकबाट उडेको धुलो पनि मिसिएको छ । प्रदूषणको दोस्रो स्रोत उद्योगबाट निस्किने धुलो र धुवाँ हो । उपत्यकाभित्र भक्तपुर, काठमाडौं र लतिलपुर क्षेत्र रहेका छन् । यस क्षेत्रमा फोहोरलाई जलाएर नष्ट गरिन्छ । खेतबारीमा लगाइने आगोबाट पनि धुवाँ निस्कने गर्छ । उपत्यकामा ढल, सडक, खानेपानी र नयाँ तथा पुनर्निर्माणको काम भइरहेको छ, यसबाट पनि धुवाँ र धुलो निस्किन्छ । र, पनि सबैभन्दा धेरै प्रदूषण यातायात प्रणालीबाट हुने गरेको छ ।

१०–२० वर्षको तथ्यांकलाई हेर्ने हो भने हरेक वर्ष १३–१४ प्रतिशतको दरमा यातायतको चाप थपिँदै गएको छ । यहाँको जनसंख्या ४/५ प्रतिशतले बढ्दै गएको छ । गाडीको संख्या बढ्दा प्रदूषणको स्रोत त्यसै बढ्ने भयो । नयाँ गाडी बढ्दैमा त प्रदूषण बढ्दैन भन्ने पनि होला, तर त्यस्तो हुँदैन । मानाैँ नयाँ गाडीले केही वर्ष धुवाँ फालेन भने पनि त्यसले ट्राफिक जाम त हुन्छ नि !

गाडी कम गेयरमा राखेर जाममा चलाउँदा त्यसै धेरै धुवाँ फाल्छ । गाडी नयाँ भएर मात्र हुँदैन गाडीको स्पिड कस्तो छ, त्यसको कन्डिसन के छ ? भन्ने कुरोले निकै फरक पार्छ ।

अर्को विगत २–३ वर्षदेखि धुलो, धुवाँ हुने क्रियाकलाप बढेका छन् । मेलम्ची खानेपानी, चक्रपथ विस्तारलगायत विभिन्न विकास निर्माणका काम गर्दा, समयमै सडक पिच नहुँदा धुलो बढ्दै गएको छ । धुलोले धुवाँ बढाउने काम गर्छ । धुलो धेरै भयो भने गाडीको एअरफिल्टर जाम गराउँछ । त्यो सफा भएन भने र एअर फिल्टर जाम भयो भने धुवाँ धेरै फाल्न थालिहाल्छ । पछिल्लो समय धुलोको मात्रा पनि बढ्दै गएको छ, गाडीको संख्या पनि त्यस्तै बढेको छ । यसले धुवाँ पनि बढ्दै गएको छ ।

अर्को धुवाँ धेरै फाल्ने स्रोत इँटाभट्टाको संख्या त खासै बढेको छैन, तर भएका इँटाभट्टामा नयाँ प्रविधिको प्रयोग गरेर प्रदूषण कम गर्न सकिन्छ, त्यो भएको छैन । इँटाभट्टाको मुख्य कमजोरी भनेको जुन समयमा धेरै प्रदूषण हुन्छ । सोही समयमा काम सुरु हुनु हो । त्यसले प्रदूषण झन् बढाएको छ । पछिल्लो समय इँटाको विकल्पमा स्वेल सिमेन्ट प्रयोग गर्न थालिएको छ । यसमा ७ प्रतिशत सिमेन्ट, बालुवा, माटो प्रयोग हुन्छ । यसको प्रयोग बढाएर पनि प्रदूषण घटाउन सकिन्छ ।

डिजल गाडीबाट निस्किने धुवाँमा ‘क्यासिनोजेनिक’ अधिक हुन्छ । यसमा मानव स्वास्थ्यमा क्यान्सर बनाउने तत्व धेरै हुन्छ । सडकको धुलोमा मोटा कण हुन्छन् । धुलो, धुवाँको ठूलो कण भएपछि शरीरभित्र प्रवेश गर्न पाउँदैन । नाकको रौँले त्यस्ता ठूला कणलाई रोक्छ । तर, मसिनो कण भयो भने शरीरको भित्री भागसम्म प्रवेश गर्छ । अहिले सरकारले धुलोको मापन गर्न थालेको छ । पिएम २.५ माइक्रोनभन्दा साना धुलोका कण शरीरको भित्री भागसम्म पुग्छन् । धुवाँको मसिना कणमा हानिकारक रसायन अधिक हुन्छ । धुलोमा ठूला कण हुने भएकाले कम हानिकारक रसायन हुन्छन् । त्यसैले धुलोभन्दा धुवाँ धेरै हानिकारक साबित हुन्छ । ट्राफिक जाम बढ्यो भनेर सडक विस्तार गर्नु समाधान होइन । सडक विस्तार गर्नु भनेको त थप गाडीलाई निम्तो दिनु हो ।

स्वास्थ्यमा प्रभाव
धुलो, धुवाँले सबैभन्दा पहिलो असर श्वास–प्रश्वास प्रणालीमा गर्छ । दमका रोगीलाई त यसले झन् असर गर्छ । धुवाँ, धुलोले फोक्सोलाई सबैभन्दा बढी समस्यामा पार्छ । यसले फोक्सोको क्यान्सरसमेत हुन सक्छ । हामीले यही हावामा सास फेर्छौँ, श्वासप्रश्वासका क्रममा बाहिरको प्रदुषित हावा फोक्सो हुँदै रक्तसञ्चार प्रणालीमार्फत रगतमा मिसिन सक्छ । रगतमार्फत त्यो शरीरभरि पुगेपछि हृदयाघात हुन सक्छ । धुलोका मसिना कण मस्तिष्कमा गएमा त्यसले मस्तिष्कघात हुन सक्छ ।

पहिला सरुवा रोगको संक्रमण धेरै हुन्थ्यो । अहिले परिस्थिति परिवर्तन भएको छ । नसर्ने रोगबाट मानिसहरू बढी प्रभावित भएका छन् । यस्तो हुनुमा प्रदूषण मुख्य कारण हो । प्रदूषणले गर्भवती महिलालाई पनि असर गर्छ । प्रदूषित वातावरणले बच्चा कम तौलको जन्मिने हुन्छ । अहिले विश्वभरि नै वातारण प्रदूषणको जोखिम बढ्दो छ । विश्व स्वास्थ्य संगठनको मापदण्डभन्दा पाँच गुणा प्रदूषणको जोखिम बढेको छ ।

अध्ययनअनुसार प्रदूषणकै कारण कुनै न कुनै रोग लागेर उपत्यकामा मात्र वार्षिक करिब १० हजार मानिसको ज्यान जाने गरेको छ । यो कुनै विपत्तिभन्दा कम होइन । प्रदूषण घटाउन जुन गतिमा काम हुनुपर्ने हो, त्यो हुन सकेको छैन । प्रदूषणले खासगरी बालबालिका, प्रौढ र गर्भवती महिलालाई बढी असर गर्छ । बालबालिकाको शरीर राम्रोसँग विकसित भइसकेको हुँदैन, उनीहरू अन्य उमेर समूहकाले भन्दा छिटो–छिटो श्वास लिन्छन् । बालबालिकाको रोगसँग लड्ने क्षमता पनि कम हुन्छ । प्रदूषित वातावरणले बालबालिकाको दिमागी विकासमा पनि असर गर्छ । पौढहरूको पनि झन्डै अवस्था त्यही हो ।

वायु प्रदूषण हुँदा पर्यावरणलाई असर गर्छ । विश्वव्यापी रूपमा जलवायु परिवर्तन हुनुमा पनि वायु प्रदूषण मुख्य कारण बनेको छ । कार्बनडाइअक्साइडले जलवायु परिवर्तनमा प्रभाव पार्छ । कालो धुवाँले सूर्यको किरण सोस्ने काम गर्छ । यदि धुवाँ, धुलो कम गर्ने हो भने जलवायु परिर्वन, वायु प्रदूषण र स्वास्थ्यलाई सुधार गर्न सकिन्छ ।

प्रदूषण घटाउने उपाय
पहिलो कुरा त काठमाडाैँ उपत्यकाको सीमिततालाई बुझ्न जरुरी छ । कुनै पनि सामान किन्दा सबैभन्दा पहिला वालेट हेरिन्छ । जति पैसा हुन्छ, त्यतिकै सामान खरिद गर्ने गरी योजना बनाइन्छ । उपत्यकामा प्रदूषण बढाउन प्राकृतिक भू–वनावटले पनि भूमिका खेलेको छ । वरिपरि पहाडले घेरिएको छ । सजिलै हावा बहन सक्दैन । जाडोमा यहाँ सबैभन्दा धेरै वायु प्रदूषण हुन्छ । जाडोमा एक त पानी पर्दैन । दोस्रो कुरा, हावा पनि कम चल्छ । चार महिनामा वर्षभरिको ८० प्रतिशत पानी पर्छ । त्यो जाडोमा नभई गर्मी मौसममा पर्छ । यो भनेको हाम्रो शौचालयको फल्सले चार महिना मात्र काम गरेको जस्तो हो । बाँकी ८ महिना शौचालयको हालत के होला ? त्यस्तो भयो भने सोहीअनुसार शौचालयको प्रयोग गरिन्छ ।

उपत्यकामा हावा पश्चिमी थानकोट नाकाबाट आउँछ । केही मात्रामा दक्षिणबाट पनि लाग्ने गर्छ । सबै मिसिएर पूर्वउत्तर हुँदै हावा बहने गर्छ । जाडोमा दिउँसो मात्र हावा लाग्ने गर्छ । यस्तो हुँदा बिहान ९/१० बजेतिर धेरै प्रदूषण हुन्छ । दिउँसो १२–१ बजेतिर त्यो घट्न थाल्छ । राति भएपछि फेरि प्रदूषण बढ्न थाल्छ । त्यो भनेको उपत्यकाले दिनमा एकपटक श्वास फेरेजस्तो हो । उपत्यकाको प्राकृतिक अवस्थाअनुसार विकास निर्माण र सवारीसाधन चलाउने व्यवस्था गर्न जरुरी छ । पश्चितिरबाट हावा चल्छ भने उत्तरतिर कुनै पनि उद्योग, कलकारखाना राख्नुहुँदैन । तर, सरकारले धेरै सिमेन्ट उद्योग धादिङतिरै स्थापना गर्न दिएको छ । गिटी उद्योग त्यतै छन् ।

आजको दिनमा पनि उपत्यकामा ४० प्रतिशत जनसंख्या हिँड्ने गर्छ । निजी गाडी चढ्ने ७/८ प्रतिशत मात्र छन् । अरू मोटरसाइकल, सार्वजनिक सवारीसाधनमा यात्रा गर्छन् । हिँड्दा होस् वा गाडी नै चढ्दा पार गर्ने दूरी ५/६ किलोमिटर जति हुन्छ । एभरेज ५ किलोमिटर हो, उपत्यका यात्रुको दूरी । यस्तोमा सोहीअनुसारको यात्रा गर्ने व्यवस्था गर्नुपर्छ । सरकारले हिँड्ने, साइकल चढ्ने र सार्वजनिक यातायातका साधनलाई प्रवद्र्धन गर्ने गर्नुपर्छ । गाडीहरू चलाए पनि सकेसम्म इलेक्ट्रिकल चलाउन जरुरी छ । विश्वभर इलेक्ट्रिक बसहरू चलाउन सुरु भइसकेको छ ।

सकेसम्म हिँड्ने कुरालाई प्राथमिकता दिनुपर्छ । हिँड्नु शरीरका लागि लाभदायक हुन्छ । पछिल्लो समय मुटु रोगी बढ्दै गएका छन् । चिकित्सकले ‘शारीरिक व्यायाम गर्नुस्’ भन्छन् । सहरिया जीवन बाँचिरहेकामा धेरै कमको मात्रै फिजिकल इक्सरसाइज भएको हुन्छ । धुलो, धुवाँकै कारण कतिले हिँड्ने, डुल्ने, शारीरिक व्यायाम गर्ने गर्दैनन् ।

हिँड्ने खालको वातावरण बनाउन जरुरी छ । हिँड्नका लागि एउटा त सुरक्षित बाटो हुनुपर्यो‍, अर्को आरामदायी पनि । घाम लागेका वेला छहारी र बस्ने बेन्चहरू हुनुपर्छ । जाडो हुँदा घाम तापेर बस्ने खालको वातावरण भएमा अधिकांश मान्छे हिँड्छन् भन्ने लाग्छ ।

उपत्यकामा सडक दुर्घटना भयो भने त्यसमा ४० देखि ५० प्रतिशत पैदल यात्रुकै मृत्यु भएको हुन्छ । यहाँ त यस्तो भयो कि सबैभन्दा धेरै धुवाँ, धुलो खानेदेखि अपहेलित हुने र असुरक्षित हुने पनि पैदलयात्री नै भए ।

रिङरोडलाई आठ लेनको बनाइँदै छ । आठ लेन बनाउँदै गर्दा बाटो काट्ने जेब्रा क्रसिङ नहुँदा समस्या देखिएको छ । कंलकीदेखि कोटेश्वरसम्म तीनवटा ओभरब्रिज छन् । गाडी नआएका वेला दायाँ–बायाँ हेर्दै कुदेर बाटो काट्नुपर्ने बाध्यता छ । कुनै सामान चोरेर भागेजस्तो गरी पैदल यात्रु भाग्नुपर्छ । गाडीका लागि त बाटो बनाइयो, तर मान्छेले बाटो काट्नुपर्छ भन्ने ख्याल गरिएन । अपुग भए पनि राखिएका ओभरब्रिज सबल मान्छेका लागि त होला, तर अशक्त, वृद्धवृद्धा र बालबालिकाका लागि ध्यान दिएको पाइँदैन ।

भइरहेका विकास निर्माण समयमै नहुँदा पनि प्रदूषण बढेको छ । विकास निर्माण गर्दा ‘पार्ट पार्ट’मा गर्नुपथ्र्यो । निर्माणका क्रममा पानी छर्केर काम गर्ने हो भने पनि प्रदूषण कम हुन्छ ।

काठमाडौंमा धेरै प्रदूषण हुने बिहान ८/९ बजेतिर हो । धेरै वातावरणविद्ले बिहान मर्निङवाक गर्नुहुँदैन भन्ने गर्नुहुन्छ । तर, म बिहान मर्निङवाक गर्नुस् भन्छु । तपाईं कहाँ, कुन क्षेत्रमा हुनुहुन्छ भन्ने कुराले फरक पार्छ । मर्निङवाक नगरी घरमै बसे पनि सास नफेरिकन बसिँदैन । बाहिर मर्निङवाक जाँदा पनि सास फेरिन्छ । मर्निङवाकका लागि टुँडिखेल नजानुस् भन्छु । जहाँ गाडीको सबैभन्दा धेरै भिडभाड छ, त्यहाँ जानुभएन ।

बाहिर निस्किँदा माक्र्स अनिवार्य लगाउनुस् । माक्र्सको विभिन्न क्वालिटीका हुन्छन् । कतिपय मसिना कण रोक्ने खालका छन् । कपडाको माक्र्सले मसिना कण रोक्न सक्दैनन् । यसले कम्तीमा ठूला कण भए पनि रोक्छ । सकिन्छ भने राम्रो खालको माक्र्स लगाउने, नभए सस्तो खालको भए पनि लगाउन जरुरी छ ।नयाँ पत्रिका

    Comment Here!