विद्यालयको खानेपानी ट्यांकीमा विष[अपडेट]

माधव घिमिरे, विराटनगर || प्रकाशित मिति :2018-08-14 11:26:11

 

मोरङको लेटाङ नगरपालिकास्थित जाँतेमा रहेको एक विद्यालयको खानेपानी ट्यांकीमा अज्ञात व्यक्तिले हालेको विषादीका कारण २० जना विद्यार्थी बिरामी परेका छन् ।

उर्लाबारी-३ स्थित मंगलबारे अस्पतालमा उपचारका लागि ल्याइएका विद्यार्थीहरु । तस्बिर सौजन्यः गोपाल काफ्ले

स्थानीय श्री माध्यमिक विद्यालयको खानेपानी ट्यांकीमा हालिएको विष मिस्रित पानी पिउँदा विद्यार्थी बिरामी परेका हुन्।
बिरामीमध्ये १८ जनाको उर्लाबारी-३ मंगलबारेस्थित म‌ंगलबारे अस्पतालमा उपचार भइरहेको जाँतेस्थित प्रहरी कार्यालयका असई हरिनारायण राजवंशीले बताए। उनका अनुसार अरु खुश्बु मिश्र र सृष्टि निरौला, कमला लिम्बू र मनिष थापालाई थप उपचारका लागि विराटनगर पठाइएको छ।
विद्यालय परिसरमा रहेको ५ सय लिटर क्षमताको सिमेन्टबाट बनाइएको ट्यांकीमा विषादी हालेको पाइएको थियो।
असई राजबंशीका अनुसार ट्यांकीमा ‘साइबेरिन’ लेखिएको विषको बट्टा फेला परेको छ। विषादी कसले हालेको भन्ने खुलेको छैन। सोधखोज भइरहेको प्रहरीले जनाएको छ।
विद्यालय समय सुरु हुन लाग्दा टाढा टाढाबाट आएका विद्यार्थीले पानी पिएका थिए। त्यसपछि शिक्षकहरुले पनि पिउने क्रममा केही गन्ध आएजस्तो लागेपछि ट्यांकीमा जाँच गरिएको असई राजबंशीले बताए। त्यसक्रममा विषादी हालेको पाइएको थियो। कान्तिपुरदैनिकबाट

    Comment Here!