Logo
|
Friday 26th April 2024
Logo

epaper

बिरामीलाई सित्तैमा प्रदान गरिने औषधिकाे मूल्य मेटाएर खरिद



 

 

औषधिमा मूल्य भएको स्थानमा कालो मसी

बिरामीलाई सित्तैमा प्रदान गरिने औषधिकाे मूल्य मेटाएर खरिद गरिएको छ । गाउँपालिका र औषधि वितरकको मिलेमतोमा मूल्य मेटाएर औषधि खरिद गर्दा अनियमितता भएको स्थानीय बासिन्दाको आरोप छ ।

हुम्लाको सार्केगार्ड गाउँपालिकाले खरिद गरेको मूल्य मेटाएको औषधि स्वास्थ्य संस्थामा पुगेको छ । सबै स्वास्थ्य संस्थामा वितरण गरिएको औषधिमा मूल्य भएको स्थानमा कालो मसी लगाइएको छ ।

सर्केगाडका वडाहरूले खरिद गरेको औषधिमा मूल्य उल्लेख भए पनि गाउँपालिकाले खरिद गरेको औषधिमा मूल्य मेटिएको बराई स्वास्थ्य चौकीका अनमी विपना पुन मगरले बताइन् । ‘वडाले खरिद गरेको औषधिमा मूल्य थियो, तर गाउँपालिकाले खरिद गरेको औषधिमा पूरै मूल्य मेटिएर आएको छ,’ उनले भनिन् ।

सर्केगाड गाउँपालिका–५ का वडाध्यक्ष कर्ण शाहीले मूल्य मेटिएको औषधि आएको बताए । ‘हामीले खरिद गरेको औषधिमा मूल्य थियो, उही औषधि गाउँपालिकाले खरिद गर्दा मूल्य मेटाइएको छ,’ वडाध्यक्ष शाहीले भने ।

वडा नं. ५ मा मात्रै होइन, अन्य वडाका स्वास्थ्य संस्थामा पनि त्यस्तै औषधि भेटिएको छ । गोठी स्वास्थ्य चौकीमा रहेको औषधिमा पनि मूल्य मेटिएको पाइएको छ ।

अनियमितता गर्न मूल्य मेटाएको स्थानीय बासिन्दाको भनाइ छ । केही जनप्रतिनिधिले पनि शंका जनाएका छन् । भ्रममा पारेर अनियमितता गर्न मूल्य मेटाएको उनीहरूको आरोप छ ।

अनियमितता भएको छैन : धामी
सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले अनियमितता नभएको दाबी गरे । वितरकसँग मिलेरै औषधिको मूल्य मेटाएको उनले स्विकारेका छन् । ‘सहुलियत दरमा दिइएको औषधि बाहिर बिक्री नहोस् भनेर वितरकबाटै मूल्य मेटाएको हुँ,’ धामीले भने । यसरी ७ लाख २ हजारको औषधि खरिद गरिएको उनले बताए ।

स्वास्थ्य संस्थामा औषधि अभाव
गाउँपालिकाले सात लाखको औषधि खरिद गरेको जनाए पनि स्वास्थ्य संस्थाहरूमा भने औषधि अभाव देखिएको छ । सर्केगाडका पाँचवटै स्वास्थ्य चौकी र दुईवटा सामुदायिक एकाइ स्वास्थ्य केन्द्रमा औषधि अभाव भएको जनाइएको छ । गाउँपालिकाले अलिकति मात्रै औषधि दिने गरेको छ । जसले गर्दा दुई–तीन सातामै औषधि अभाव हुने गरेको स्वास्थ्यकर्मीको भनाइ छ ।

स्वास्थ्य संयोजक धामीले औषधि पर्याप्त मात्रामा खरिद गरिएको दाबी गरे । ‘आपत्कालीन अवस्थाका लागि औषधि स्टक राखेका छौँ,’ उनले भने । नयाँपत्रिकाबाट 

प्रतिक्रिया दिनुहोस्