Logo
|
Friday 26th April 2024
Logo

epaper

किन जन्मन्छन् जुम्ल्याहा बच्चा ?



 

सामान्यतः गर्भवती महिलाले एउटा बच्चा जन्माउने गर्छन् । तर, कहिलेकाहीँ जुम्ल्याहा, तिम्ल्याहा बच्चा पनि जन्मने गर्छ । यस्तो बच्चा जन्मिनुमा आमाको मात्र कारण हुँदैन । यसमा बुबाको पनि उत्तिकै भूमिका हुन्छ । तर, यस्तो बच्चा जन्मिएको अवस्थामा कुनै उपचारको व्यवस्था भने छैन । कतिपय अवस्थामा प्राकृतिक कारणले पनि यस्तो बच्चा जन्मिने गर्छन् । यी हुन् जुम्ल्याहा बच्चा जन्मिनुका केही मुख्य कारण :

दुई सय ५० जना गर्भवती महिलामध्ये एकमा जुम्ल्याहाको सम्भावना हुने विभिन्न अनुसन्धानले देखाएका छन् । यद्यपि, सबै महिलामा यसको सम्भावना हुन्छ ।

कुनै नश्लीय समूहमा यस्तो बच्चा जन्मनुलाई सामान्य रूपमा लिइन्छ । नाइजेरियामा जुम्ल्याहा बच्चा जन्मने दर निकै बढी छ भने जापानमा निकै कम ।

बढी उमेरका महिलामा जुम्ल्याहा बच्चाको सम्भावना पनि बढी हुन्छ । किनभने, बढी उमेरका महिलाले एकभन्दा बढी डिम्बको निर्माण गर्छन् ।

यो एउटा वंशाणुगत कारण पनि हो । जुन पुस्तौँपुस्तासम्म चल्ने पनि गर्छ । यस्ता महिलामा एकभन्दा बढी डिम्बको निर्माण गर्ने आनुवंशिक गुण प्राप्त हुन्छ ।

इन विट्रो फर्टिलाइजेसनमा जुम्ल्याहा बच्चा हुने सम्भावना बढी हुन्छ । यस्तो प्रक्रियालाई नेपालमा टेस्टट्युब बेबी भन्ने पनि गरिन्छ । यस्तो प्रक्रियामा एकभन्दा बढी भ्रूणको स्थानान्तरण गरिन्छ ।

यस कारण फरक देखिन्छन्
महिलाको गर्भाशयमा फरक–फरक डिम्ब निषेचित भएमा फरक–फरक रूप रङका बच्चा जन्मने गर्छन् । यी बच्चाको आनुवंशिक संरचना पनि फरक–फरक हुन्छ । यसरी जन्मने बच्चा एउटा केटा र अर्को केटी हुने सम्भावना बढी हुन्छ । यी दुई कम र बढी उमेरका जस्ता देखिन्छन् ।

यस कारण समान देखिन्छन्
कुनै–कुनै जुम्ल्याहा बच्चा उस्तै देखिन्छन् । उनीहरूको रूप रंग एकै प्रकारको हुन्छ । डिम्ब एक स्पर्मबाट निषेचित भएमा यस्ता जुम्ल्याहा सन्तान जन्मन्छ । तर, केही समयपछि यस्तो डिम्ब दुई भागमा विभाजित पनि हुन सक्छ । यी दुई बच्चाकै आनुवंशिक संरचना एकै प्रकारको हुन्छ । यी दुई बच्चा कि त केटा, कि त केटी हुन्छन् । एउटा केटा र अर्को केटी भने हुँदैन ।नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्