तपाईंको बच्चालाई अटिजम पो छ कि ?
कारण, लक्षण, रोकथाम, निदान र उपचार
जनस्वास्थ्य सरोकार, काठमाडौँ । अटिजम स्नायु तथा नसाको विकासमा आउने ह्रासले उत्पन्न समस्या हो । यो जन्मजात नसा र तन्तुको विकासका क्रममा आएको असमानताको एउटा रूप पनि हो ।
अमेरिकन सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले सन् २०१८ को तथ्याङ्क सार्वजनिक गर्दै अमेरिकामा ४४ जनामध्ये १ जना बालबालिकामा अटिजम हुने गरेको उल्लेख गरेको छ । बालिकाको तुलनामा बालकहरुमा ४ गुणा वढी अटिजम हुने संभावना रहने सिडिसीले बताएको छ ।
अटिजमलाई चिकित्सकीय भाषामा अटिजम स्पेक्ट्रम डिसअर्डर भनिन्छ । यो एक विकाससम्बन्धि गडवडी भएकाले पिडित व्यक्तिमा कुराकानी गर्न, पढ्न, लेख्न र समाजमा घुलमिल गराउन गाह्रो हुन्छ । अटिजम एउटा यस्तो अवस्था हो जसमा पीडित व्यक्तिको दिमागले अन्य व्यक्तिको दिमागको तुलनामा अलग तरिकाले काम गर्छ ।
अटिजमबाट पीडित व्यक्ति एक अर्काभन्दा अलग हुन्छन् । अर्थात् अटिजमका विभिन्न बिरामीले विभिन्न लक्षणहरू महसुस गर्छन् । यद्यपि यस रोगको बारेमा धेरै जानकारी उपलब्ध छैन र हाल यसको पूर्ण उपचार छैन । यस रोगबाट पीडित व्यक्तिहरू जागिर खान, परिवार र साथीहरूसँग मिलेर वस्न सक्षम भएपनि कहिलेकाहीँ उनीहरूले अरूको सहयोग लिनुपर्छ ।
कतिपय अटिजम भएका व्यक्तिहरूलाई पढ्न र लेख्न कठिनाइ हुन्छ भने अटिजम भएका केही बिरामीहरू पढ्न र लेख्नमा धेरै छिटो वा सामान्य हुन्छन् । परिवार, शिक्षक वा साथीहरूको समर्थनमा, यी व्यक्तिहरूले नयाँ सीपहरू सिक्न र कुनै पनि सहयोग बिना काम गर्न सक्षम छन् । केही अध्ययनहरूले देखाएको छ कि निदान र इन्टरभेन्सन उपचार सेवाहरूको मद्धतले अटिस्टिक व्यक्तिहरूलाई सामाजिक व्यवहार र नयाँ सीपहरू सिक्न मद्दत गर्छ जसबाट उसले आफ्नो जीवन राम्रोसँग जीउन मद्धत गर्दछ ।
अटिजमका प्रकार
अटिस्टिक डिसअर्डर (क्लासिक अटिजम)ः यस प्रकारको अटिजम धेरैलाई हुने गरेको पाइन्छ । अटिजमको यस डिरअर्डरबाट प्रभावित व्यक्तिहरूलाई सामाजिक व्यवहार र अन्य व्यक्तिहरूसँग कुराकानी गर्नमा कठिनाइ हुन्छ । साथै, असामान्य चीजहरूमा रुचि राख्ने, असामान्य रूपमा व्यवहार गर्ने, बाधा अड्चन गर्ने, ठट्टा गर्ने वा कहिलेकाहीं अड्किएर कुरा गर्ने जस्ता बानीहरू पनि अटिस्टिक विकारका लक्षणहरू हुन सक्छन् । साथसाथै कतिपय अवस्थामा बौद्धिक क्षमतामा पनि ह्रास आउन सक्छ ।
अस्पेर्गेर सिन्ड्रोमः यो सिन्ड्रोमलाई अटिस्टिक डिसअर्डरको सबैभन्दा हल्का रूप मानिन्छ । यस सिन्ड्रोमबाट पीडित व्यक्तिहरूको व्यवहारमा कहिलेकाहीँ अनौठो लाग्न सक्छ तर तिनीहरू निश्चित विषयहरूमा धेरै चासो राख्न सक्छन् । यद्यपि यी व्यक्तिहरूलाई मानसिक वा सामाजिक व्यवहारसँग सम्बन्धित कुनै समस्या हुँदैन ।
पर्वेसिव डेवलप्मेन्ट डिसअर्डरः सामान्यतया यो अटिजमको प्रकार मानिदैन । यो केहि परिस्थितिहरूमा मात्र व्यक्तिहरु पीडित भएको माानिन्छ ।
अटिजमबाट प्रभावित बच्चाको लक्षण
यस रोगका लक्षणहरू सामान्यतया १२–१८ महिनाको उमेरमा देखा पर्दछ (वा त्यसभन्दा अघि पनि) जुन हल्कादेखि गम्भीर हुनसक्छ । यी समस्याहरू जीवनभर रहन सक्छन् । अटिजम भएका नवजात शिशुहरूले विकासका निम्न लक्षणहरू नदेखाउँदा अटिजमको आशंका गर्न सकिन्छ ।
- आँखामा आँखा जुधाएर नहेर्ने वा आँखा सम्पर्क नगर्ने
- एक दुई शव्द पटक पटक बोल्ने वा वरवराउने
- कुनै चिजतर्फ औंल्याएर इशारा गर्ने
- अरु बच्चाहरुसँग घुलमिल नहुने
- एक्लै बस्न खोज्ने
- खेलकुदमा भाग नलिने वा रुचि नराख्ने
- कुनै एक ठाउँमा घन्टौं एक्लै वा चुपचाप बस्ने
- एउटै वस्तुमा ध्यान केन्द्रित गर्ने वा एउटै कुरा बारम्बार गर्ने
- अरूसँग सम्पर्क नगर्ने
- कुराकानीको क्रममा अर्को व्यक्तिको प्रत्येक शब्द दोहोर्याउने
- सन्की व्यवहार गर्ने
- कुनै एक काम वा सामानमा पूर्ण रूपमा व्यस्त हुने
- आत्म–चोट वा हानि गर्ने प्रयास
- क्रोधित, चिन्तित, बेचैन र तोडफोड जस्ता व्यवहार गर्ने
- कुनै काम लगातार गरिरहने जस्तोः ताली बजाउने
- एउटै वाक्य बारम्बार दोहो-र्याइरहने
- अर्को व्यक्तिको भावना नबुझ्ने
- कुनै विशेष प्रकारको आवाज, स्वाद र गन्धप्रति अनौठो प्रतिक्रिया दिने
- पुराना कुराहरु भूल्ने
- स्लिप डिसअर्डर अन्तर्गत निदाउन गाह्रो हुने, पातलो निद्रा हुने वा राति ब्युझेपछि चकचक गर्ने
- फुसी इटर अन्तर्गत नयाँ खानेकुरा सजिलैसँग नखाइदिने, एउटै खालको खाना खोज्ने
- कब्जियत
जोखिम कारक
अटिजम हुनुको सही कारण अहिलेसम्म थाहा हुन सकेको छैन । यद्यपि, विभिन्न अध्ययनहरूले यो विकार केही आनुवंशिक र वातावरणीय कारणले भएको बताउँछन् जसले गर्भमा रहेको बच्चाको मस्तिष्कको विकासमा बाधा पु-याउँछ । जस्तै–
- दिमागको विकासको नियन्त्रण गर्ने जीनको गडवडी
- पहिले नै अटिजम भएका अभिभावकका छोराछोरी
- समय भन्दा पहिले जन्मिने बच्चाहरु
- कम तौलमा जन्मिएका बच्चाहरु
- बुढ्यौली आमाबाबुका छोराछोरी
- जेनेटिक वा क्रोमोजोमल कन्डिसन जस्तोः ट्युवरस स्कलेरोसिस या फ्रेजाइनल एक्स डिन्ड्रोमको समस्या
- गर्भावस्थामा लिइएका केही औषधिको साइड इफेक्ट
अटिजमको रोकथाम
अध्ययनहरूले अटिजमको सही कारण निर्धारण गर्न नसकेको हुनाले यस विकारलाई रोक्न हाल कुनै प्रभावकारी उपाय छैन ।
अटिजमको निदान
हाल, अटिजमको निदान गर्न कुनै विशेष परीक्षण छैन । शुरुमा कानको जाँच गरिन्छ । सामान्यतया, आमाबाबुले बच्चाको व्यवहार र विकासमा ध्यान दिनुपर्छ । यसले समस्याको निदान गर्न मद्दत गर्दछ । बिरामीको हेर्ने, सुन्ने, बोल्ने र मोटर कोअर्डिनेसन गर्ने क्षमता सम्बन्धित विशेषज्ञहरूद्वारा मूल्याङ्कन गरिन्छ ।
अटिजमको उपचार
यो रोगको उपचार नै थेरापी हो । जति सक्दो चाँडो विभिन्न थेरापी शुरु गर्नुपर्छ । थेरापीबाट ९० प्रतिशत समस्या समाधान गर्न सकिन्छ । समयमै रोग पहिचान गरी विहेवियर थेरापी दिनु नै यसको महत्वपूर्ण उपचार हो ।
अटिजम भएका बालबालिकालाई सञ्चार गर्न, सामाजिक व्यवहार गर्न, विभिन्न थेरापी एवं खेलको माध्यम प्रयोग गर्न सकिन्छ । बालबालिकाका प्रथम गुरु नै अभिभावक हुन् । अभिभावकले नै उनीहरूसँग सबैभन्दा बढी समय बिताउने अवसर प्राप्त गर्छन् । त्यसैले यस्तो समस्या भएका बालबालिकाका अभिभावकले नै विहेवियर थेरापीको तालिम लिनु आवश्यक हुन्छ । उनीहरूले नै बालबालिकालाई घरका विभिन्न परिस्थितिमा, वातावरण सुहाउँदा खेल खेल्दै थेरापी दिनुपर्छ ।
अटिजमका मुख्य लक्षणहरूको उपचारमा औषधिहरू प्रभावकारी छैनन् । तर तिनीहरूले बेचैनी, अवसाद, सनकी व्यवहारलाई नियन्त्रण गर्न मद्दत गर्न सक्छन् जुन सामान्यतया अटिजम भएका बिरामीहरूमा देखिन्छ । अटिजमका बिरामीहरूलाई पनि डाक्टरहरूले निम्न औषधिहरू प्रयोग गर्न सिफारिस गर्न सक्छन् ।
- एन्टी–एन्जाइटी औषधिहरू (अस्वस्थ व्यवहार नियन्त्रण गर्न)
- चिडचिडापन, क्रोध र एउटै व्यवहार बारम्बार दोहोर्याउन एन्टिसाइकोटिक औषधिहरू दिइन्छ ।
- केन्द्रीय स्नायु प्रणाली उत्तेजक औषधि बेचैन र बेचैन व्यवहारको राहत दिन
- डिप्रेसन र दोहोरिने व्यवहारहरू कम गर्न एन्टिडिप्रेसेन्ट औषधि
अटिजममा दिइने थेरापी
फिजियोथेरापीः फिजियोथेरापीमा प्रयोग गरिने विभिन्न विधिहरु जस्तैः व्यायाम, म्यानुपुलेसन, उपकरणको प्रयोग आदि मार्फत अटिजम भएको बच्चाको समस्या समाधान गर्ने प्रयास गर्दछ ।
स्पिच थेरापीः बच्चाहरुमा बोल्न सिकाउने, कुराकानी गर्न सिकाउने, आत्मविश्वास जगाउने, अरुसँग समायोजन गर्न सक्षम बनाउने आदिका लागि विशेष अभ्यास गराउने विधिबाट अटिजम बालबालिकामा अनेक विधिहरु सिकाउने गरिन्छ ।
अकुपेसनल थेरापी एवं सेन्सरी इन्टिग्रेसनः दिनभरका गतिविधिहरु जस्तैः खानेकुरा पकाउन लगाउने, विभिन्न प्रकृतिका लुगा लगाउन दिने, कार्यक्रम सञ्चालन गर्न सिकाउने, खेल्न सिकाउने आदि अनेक कार्यमा संलग्न गराइन्छ । यसरी नै संवेदी एकीकरण चिकित्साका रुपमा प्रकाश एवं दृश्य, ध्वनि, स्पर्श, गन्धलगायत अन्य कुराहरुलाई प्रयोग गरी उपचार गरिन्छ । खेल चिकित्साका रुपमा विभिन्न खेलहरु खेलाएर र हेराएर उपचार गरिन्छ ।
संगीत चिकित्साः संगीतका विभिन्न विधाहरु जस्तै– नृत्य, गायन, वाद्यवादन आदिलाई प्रयोग गरी बच्चाहरुको व्यवहारमा परिवर्तन ल्याउने, उनीहरुमा स्वस्थ मनोरञ्जन दिने, शारीरिक अभ्यासमा लगाउने र प्रस्तुतीकरण गराएर सामाजिकीकरणमा लैजाने जस्ता अभ्यासहरु गराइन्छ ।
कला थेरापीः चित्रकला, रंगहरुको प्रयोग, मूर्तिकलाका रुपमा विभिन्न आकारमा माटो वा अन्य वस्तु बनाउन र उनीहरुमा सृजनशीलता विकास गराउन सकिन्छ । यसरी नै अभिनय आदिको माध्यमले शिक्षा दिएर व्यवहारमा परिवर्तन एवं प्रतिभाको विकास र उपचार गर्न सकिन्छ ।
व्यवहार थेरापी ः यसले असमायोजित व्यवहारलाई समायोजन गर्न र सिकाइ तथा अभिप्रेरणाको लागि व्यवहार चिकित्साको प्रयोग गरिन्छ जसले बच्चामा पुनर्वल प्राप्त भई सिक्न जागरुक होस् । सामाजिक व्यवहार, कुराकानी र सञ्चार, दोहो¥याउने व्यवहारमा परिवर्तन आदि गर्न अप्लाइड बिहेवियर एनालाइसिस (एबीए) को प्रयोग गरिन्छ ।
योग थेरापीः सूक्ष्म व्यायाम, आसन, प्राणायाम, धारणा, ध्यान, मुद्रा, मन्त्र, शोधन विधि आदिको प्रयोग गराई बच्चाहरुको शारीरिक तथा मानसिक स्वास्थ्य तथा व्यवहारमा सकारात्मकता ल्याउने प्रयास गरिन्छ ।
प्राकृतिक चिकित्सा थेरापीः मडथेरापी, हाइड्रोथेरापी, मसाजथेरापी, सनथेरापी, क्रोमोथेरापी, आहार तथा पोषण चिकित्सा, जडीबुटी, कल्प आदि पञ्चमहाभूत चिकित्साका विधिहरु तथा चुम्बकीय चिकित्सा, व्यायाम, जीवनशैली चिकित्सा, प्राकृतिक दृश्यावलोकन आदिलाई समावेश गरी बालबालिकाको अटिजमका समस्याहरुमा प्राकृतिक चिकित्सा प्रयोग गर्न सकिन्छ । साथै अटिजममा पेट थेरापी, अक्वा थेरापी पनि महत्वपूर्ण मानिन्छ । प्रभावकारी रुपमा थेरापी गरेमा बच्चाको सुधार ३ देखि ६ महिनामा देख्न सकिन्छ । थेरापीलाई मेन्टेन गरिराख्नुपर्छ ।
यस्ता थेरापीबाट अटिजम भएका बालबालिकाको शारीरिक तथा मानसिक क्षमताको विकास हुने, उनीहरु रमाउने र खुसी हुने, उनीहरूलाई आराम दिने र यसका कारण उनीहरूमा रोग–प्रतिरोधक क्षमताको पनि विकास गर्न मद्दत पुग्दछ ।
(डा. असिम श्रेष्ठ काठमाडौंको बाँसबारीस्थित उपेन्द्र देवकोटा मेमोरियल न्युरो हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)