Logo
|
Friday 26th April 2024
Logo

epaper

देशमा ४८ सय डाक्टर बेरोजगार, तर ९५० सरकारी दरबन्दी खाली



देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । देशभर एक हजार ६ सय ५० सरकारी चिकित्सकको दरबन्दी रहेकोमा आधा पनि पदपूर्ति भएको छैन । नौ सय ५० चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् ।

सरकारलाई हाल ९५० चिकित्सक आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनाल बताउँछन् । ‘१ हजार ६ सय ५० सरकारी दरबन्दी छ, तर चिकित्सक भने ७ सय मात्र कार्यरत छन् । बाँकी दरबन्दी रिक्त छन्,’ उनले भने ।

नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने ४८ सय चिकित्सक अहिले पनि बेरोजगार रहेको बताए । उनका अनुसार काउन्सिलमा २३ हजार ५ सय चिकित्सक दर्ता छन् । करिब १३ हजार चिकित्सक निजी स्वास्थ्य संस्थामा कार्यरत छन् । ५ हजार चिकित्सक देशमा अवसर नपाएर बिदेसिएका छन् ।

नेपालमा हरेक वर्ष करिब दुई हजार एमबिबिएस डाक्टर उत्पादन हुन्छन् । बाहिरबाट अध्ययन गरेकासमेत जोड्दा करिब २५ सयको हाराहारीमा पुग्छ । नेपालमा झन्डै ४ दशकअघिदेखि एमबिबिएस पठनपाठन सुरु भएको हो ।

आठदेखि १२औँ तहसम्म अभाव
सरकारले देशभरबाट चिकित्सकको तथ्यांक संकलन गर्न सुरु गरेको छ । सबै तथ्यांक संकलन भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उपसचिव खनालले बताए । ‘हरेक वर्ष २५ सय चिकित्सक थपिँदै गएका छन्, तर हामीलाई चिकित्सकको अभाव झन् बढ्दै गएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । आठदेखि १२औँ तहसम्मका चिकित्सकको अभाव भएको मन्त्रालयले जनाएको छ ।

सरकारले हरेक वडामा एकजना एमबिबिएस डाक्टर पुर्‍याउने लक्ष्य लिए पनि हालको संख्याले पूर्ति हुने देखिँदैन । सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल सञ्चालन गर्ने नीति लिएको छ, तर त्यसअनुसार सरकारसँग चिकित्सक छैनन् ।

विशेषज्ञ चिकित्सक मात्रै ४ सय अभाव
सरकारी अस्पतालमा चार सयभन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । जसकारण मन्त्रालयले निजी मेडिकल कलेजहरूसँगको सहकार्यमा सेवा प्रवाह गर्दै आएको छ । भएका चिकित्सक पनि लामो समयसम्म बिदामा बस्ने गरेका छन् । अव्यवस्थाका कारण सरकारी अस्पतालको सेवा थप खस्किँदै गएको अधिकारीहरू बताउँछन् ।

अस्पतालले दरबन्दी लुकाउँदा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुर्‍यालले देशभरका स्वास्थ्य संस्थामा चिकित्सक पुर्‍याउन नसक्नु कमजोरी भएको बताए । ‘मन्त्रालयको केही प्राविधिक कमजोरीले पनि चिकित्सकको यकिन संख्या उपलब्ध हुन सकेको छैन,’ डा. प्याकुर्‍यालले भने, ‘सरकारी स्वास्थ्य संस्थाले चिकित्सकको दरबन्दी लुकाएर माग फारम पठाउँदा पनि समस्या भएको छ ।’

काठमाडौंकै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले १२ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा ११ जनाको लुकाएको मन्त्रालयले बताएको छ । रिक्त स्थानमा करार र अस्थायी चिकित्सक भर्ना गराउँदा प्रमुखलाई फाइदा हुने भएकाले दरबन्दी लुकाउने गरेका छन् । नयाँ पत्रिका

प्रतिक्रिया दिनुहोस्