देशमा ४८ सय डाक्टर बेरोजगार, तर ९५० सरकारी दरबन्दी खाली
देशमा चार हजार आठ सय चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन् । दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो । देशभर एक हजार ६ सय ५० सरकारी चिकित्सकको दरबन्दी रहेकोमा आधा पनि पदपूर्ति भएको छैन । नौ सय ५० चिकित्सकको दरबन्दी खाली छ । देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका सात सय चिकित्सक मात्रै छन् ।
सरकारलाई हाल ९५० चिकित्सक आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनाल बताउँछन् । ‘१ हजार ६ सय ५० सरकारी दरबन्दी छ, तर चिकित्सक भने ७ सय मात्र कार्यरत छन् । बाँकी दरबन्दी रिक्त छन्,’ उनले भने ।
नेपाल मेडिकल काउन्सिलका रजिस्ट्रार डा. दिलीप शर्माले भने ४८ सय चिकित्सक अहिले पनि बेरोजगार रहेको बताए । उनका अनुसार काउन्सिलमा २३ हजार ५ सय चिकित्सक दर्ता छन् । करिब १३ हजार चिकित्सक निजी स्वास्थ्य संस्थामा कार्यरत छन् । ५ हजार चिकित्सक देशमा अवसर नपाएर बिदेसिएका छन् ।
नेपालमा हरेक वर्ष करिब दुई हजार एमबिबिएस डाक्टर उत्पादन हुन्छन् । बाहिरबाट अध्ययन गरेकासमेत जोड्दा करिब २५ सयको हाराहारीमा पुग्छ । नेपालमा झन्डै ४ दशकअघिदेखि एमबिबिएस पठनपाठन सुरु भएको हो ।
आठदेखि १२औँ तहसम्म अभाव
सरकारले देशभरबाट चिकित्सकको तथ्यांक संकलन गर्न सुरु गरेको छ । सबै तथ्यांक संकलन भएपछि कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उपसचिव खनालले बताए । ‘हरेक वर्ष २५ सय चिकित्सक थपिँदै गएका छन्, तर हामीलाई चिकित्सकको अभाव झन् बढ्दै गएको छ,’ मन्त्रालयका एक अधिकारीले भने । आठदेखि १२औँ तहसम्मका चिकित्सकको अभाव भएको मन्त्रालयले जनाएको छ ।
सरकारले हरेक वडामा एकजना एमबिबिएस डाक्टर पुर्याउने लक्ष्य लिए पनि हालको संख्याले पूर्ति हुने देखिँदैन । सरकारले प्रत्येक पालिकामा १५ शय्याको अस्पताल सञ्चालन गर्ने नीति लिएको छ, तर त्यसअनुसार सरकारसँग चिकित्सक छैनन् ।
विशेषज्ञ चिकित्सक मात्रै ४ सय अभाव
सरकारी अस्पतालमा चार सयभन्दा बढी विशेषज्ञ चिकित्सकको अभाव देखिएको छ । जसकारण मन्त्रालयले निजी मेडिकल कलेजहरूसँगको सहकार्यमा सेवा प्रवाह गर्दै आएको छ । भएका चिकित्सक पनि लामो समयसम्म बिदामा बस्ने गरेका छन् । अव्यवस्थाका कारण सरकारी अस्पतालको सेवा थप खस्किँदै गएको अधिकारीहरू बताउँछन् ।
अस्पतालले दरबन्दी लुकाउँदा समस्या
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. सुशीलनाथ प्याकुर्यालले देशभरका स्वास्थ्य संस्थामा चिकित्सक पुर्याउन नसक्नु कमजोरी भएको बताए । ‘मन्त्रालयको केही प्राविधिक कमजोरीले पनि चिकित्सकको यकिन संख्या उपलब्ध हुन सकेको छैन,’ डा. प्याकुर्यालले भने, ‘सरकारी स्वास्थ्य संस्थाले चिकित्सकको दरबन्दी लुकाएर माग फारम पठाउँदा पनि समस्या भएको छ ।’
काठमाडौंकै परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले १२ जना मेडिकल अफिसरको दरबन्दी रहेकोमा ११ जनाको लुकाएको मन्त्रालयले बताएको छ । रिक्त स्थानमा करार र अस्थायी चिकित्सक भर्ना गराउँदा प्रमुखलाई फाइदा हुने भएकाले दरबन्दी लुकाउने गरेका छन् । नयाँ पत्रिका