Logo
|
Friday 26th April 2024
Logo

epaper

जाडोबाट जोगाउन बाआमालाई सुर्इ



 चिसो बढ्दै छ। यही बेला बालबालिकासँगै बा-आमालाई पनि निमोनियाको जोखिम हुन सक्छ। तर समयमै खोप लगाए रोकथाम हुन्छ। यतिबेला सबै स्वास्थ्य संस्थामा निःशुल्क खोप उपलब्ध छ। खोप लगाउँदा रोगको जोखिमबाट बच्न सकिन्छ।

 

निमोनियाबाट जोगिन ६५ वर्ष नाघेकाले एक पटक मात्र खोप लगाए जीवनभर पुग्छ। ‘निमोनिया प्रतिरोधी खोप एक पटक गरिने लगानी जस्तै हो। फ्लुको खोप बर्सेनि दोहोर्‍याउनु पर्छ। ब्याक्टेरियल निमोनियाविरुद्वको खोप ज्येष्ठ नागरिकले जिन्दगीमा एक पटक लगाए पुग्छ। खोप लगाउने समय यही बेला हो’, ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा.रमेश कँडेलले भने। अन्य उमेरकालाई फ्लुको खोप हरेक वर्ष लगाउनु उपयुक्त हुन्छ। निमोनियाले फोक्सोमा संक्रमण हुन्छ। सास फेर्न गाह्रो हुन्छ। ब्याक्टेरिया, भाइरस र फंगसलगायत सुक्ष्म जीवाणुले निमोनिया हुन्छ।

रोग प्रतिरोध क्षमता न्यून हुने बालबालिका र ज्येष्ठ नागरिकलाई यही बेला खोप लगाउन चिकित्सक सुझाउँछन्। देशमा ५ वर्षमुनिका करिब ३६ प्रतिशत बालबालिकामा पुड्कोपन छ। करिब १० प्रतिशत बालबालिका ख्याउटेपनबाट प्रभावित भएको सरकारी तथ्यांक छ। कान्ति बाल अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ डा.कमलराज शर्मा भन्छन्, ‘किटाणुले निमोनिया हुने भए पनि जाडो याममा यो बढ्छ।’ बालबालिकालाई आमाको दूध खुवाउने, न्यानो लुगा लगाइदिने, बाहिर खुला वातावरण र फोहोरमा हिँडडुल गर्न नदिने, तातो पेय र पौष्टिक खानेकुरा खुवाउनेतर्फ ध्यान दिनुपर्ने उनको सुझाव छ।

बालबालिकालाई न्युमोकोक्कल विरुद्वको खोप विभिन्न स्वास्थ्य संस्थामार्फत निःशुल्क दिने गरिएको छ। स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका निर्देशक डा.आरपी बिच्छा भन्छन्, ‘खोपले निमोनियाबाट हुने बाल मृत्युदर घटेको छ।’ दीर्घरोगी ज्येष्ठ नागरिकलाई पनि सम्बन्धित चिकित्सकले सिफारिस गरे निःशुल्क खोप दिन सकिने उनले बताए।

फ्लु तथा निमोनियाले अरुलाई पनि छिटो संक्रमण गर्छ। रोगसँग लड्ने क्षमता न्यून भएका व्यक्तिलाई छिटो आक्रमण गर्छ। मधुमेह, दम, मिर्गौलासम्बन्धी रोग लागेका ज्येष्ठ नागरिकलाई यसको संक्रमण हुने सम्भावना धेरै हुने डा.कँडेल बताउँछन्। अशुद्ध खानेपानी, सरसफाइको कमीलगायत कारणले पनि यो रोगले खासगरी जाडोमा पिरोल्ने गरेको छ। रोगले थला पारेपछि ज्येष्ठ नागरिकलाई बिसेक पार्न धौ धौ हुन्छ।

दमलगायत रोगले सताएका बिरामीलाई निमोनियाको जोखिम धेरै हुन्छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत डा.कँडेल भन्छन्, ‘दीर्घरोगी बाआमालाई बढी ख्याल गर्नुपर्छ। जाडो याममा बढी संक्रमण भएको पाइन्छ। ब्याक्टेरिया र भाइरल फ्लुले निमोनियाँ गराउँछ। यो दर बढ्दै गएको छ।’

फ्लुका कारण हुने निमोनियाबाट जोगित बालबालिका र ज्येष्ठ नागरिकलाई खोप आवश्यक भएको डा.कँडेल बताउँछन्। यो सरुवा रोग भएकाले बालबालिकालाई हुनासाथ ज्येष्ठ नागरिकमा सर्ने जोखिम बढ्छ। हाच्छ्युँ गर्दा सावधानी अपनाउने र फ्लु भएको छ भने भीडभाडमा जानु हुँदैन। यसो गरे अरुलाई हुने संक्रमणको जोखिम घटाउन सकिन्छ। ‘बालबालिका र बाआमालाई यो समयमा बढी हेरचाह र पोषिलो खानेकुरा खुवाउनु आवश्यक छ’, डा.कँडेलले भने। अन्नपुर्ण पोस्ट

प्रतिक्रिया दिनुहोस्