Logo
|
Friday 26th April 2024
Logo

epaper

बलात्कारका घटनाको ‘ग्राफ’ थप वृद्धि



बलात्कार, महिला हिंसा लगायतका घटनामा दोषीमाथि कारबाही हुन नसकेको आवाज नागरिकस्तरबाट उठिरहँदा बलात्कारका घटनाको ‘ग्राफ’ थप वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षसम्म औसत दैनिक चारवटा बलात्कारका घटना हुने गरेकोमा चालु वर्षको पहिलो तीन महिनामा औसत ६ वटा घटना भएको प्रहरीको रेकर्ड देखिएको छ । बलात्कारसँगै जबर्जस्ती करणी उद्योग, अप्राकृतिक मैथुन लगायतका घटना पनि अगाडि बढेका छन् ।
संघीय संसद्को महिला तथा समाजिक समितिमा गृह मन्त्रालयले पेस गरेको लिखित प्रतिउत्तर अनुसार चालु वर्षको पहिलो तीन महिनामा ५९० वटा बलात्कारका घटना दर्ता भएका छन् । साउन, भदौ र असोज महिनामा दर्ता भएका यी घटनामा संलग्न ६९७ जना रहेका छन् । जसमा ५६१ जना पक्राउ परेका छन् । घटनामा संलग्नमध्ये १३६ जना फरार छन् । प्राप्त उजुरीमा फछ्र्यौट २३२ छन् । ३५८ उजुरी बाँकी छन् ।
कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्याको छानबिन र महिलामाथि भइरहेका अन्य घटनाबारे समितिले गृह मन्त्रालयसँग जवाफ माग गरेको थियो । समितिको निर्देशन अनुसार गृहले निर्मला हत्याको अनुसन्धान र अन्य घटनाबारे समितिलाई लिखित जानकारी दिएको हो ।
महिला तथा समाजिक समिति सभापति निरुदेवी पालले गृहले सम्पूर्ण घटनाको प्रतिवेदन पेस गरिसकेको जानकारी दिनुभयो । पालले भन्नुभयो, ‘पछिल्ला समयमा बलात्कार लगायतका घटना बढेपछि न्यूनीकरणका उपाय अवलम्बन गर्न गृह र महिला बालबालिका मन्त्रालयलाई निर्देशन पनि दिएका थियौँ । हामीले घटना सम्बद्ध तथ्याङ्क पनि माग गरेका थियौँ । सबै विवरण समितिमा आइसकेको छ । आगामी बैठकमा यसबारे हामी छलफल गर्छौँ ।’
समितिले घटना न्यूनीकरणका उपाय अवलम्बन गर्न मन्त्रालयहरुलाई निर्देशन दिए पनि तथ्याङ्कले भने घटना बढेको देखाउँछ । अघिल्लो आर्थिक वर्षमा औसत दैनिक चारवटा बलात्कारका घटना प्रशासनसमक्ष दर्ता हुने गरेकोमा अहिले औसत छभन्दा बढी घटना दर्ता भइरहेका छन् । चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५९० वटा जबर्जस्ती करणीका उजुरी दर्ता भएका छन् । यो संख्या दैनिक औसत ६ वटाभन्दा बढी हो । अघिल्लो आर्थिक वर्षमा बलात्कारका घटना दैनिक औसत चारवटा थिए ।
आर्थिक वर्ष २०७४÷७५ मा कूल एक हजार ४८० जबर्जस्ती करणीका उजुरी दर्ता भएका थिए । यस अनुसार औसत चार बलात्कारका घटना भएको देखिन्छ । यी घटनामा एक हजार ३३६ जना पक्राउ गरिएको प्रहरी रेकर्ड छ । सोही घटनामा संलग्न भएका ३३४ अझै फरार छन् । प्राप्त उजुरीमध्ये एक हजार ४१६ फछ्र्यौट भएका र ६४ उजुरी फछ्र्यौट हुन बाँकी छन् ।
यस्तै, कर्तव्य ज्यानको घटना अघिल्लो आर्थिक वर्षमा ६२८ रहेकोमा चालु वर्षको पहिलो तीन महिनामा नै १७८ पुगेका छन् । गृहले समितिले पेस गरेको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७४÷७५ मा जबर्जस्ती करणी उद्योगका ७२७, अप्राकृतिक मैथुनका २४, मानव बेचबिखन तथा जबर्जस्ती करणीका १० घटना प्रहरीसमक्ष आइपुगेका छन् । अपहरण तथा जबर्जस्ती करणीका २३ घटनाको उजुरी दर्ता भएको छ । बलात्कार, करणी उद्योग लगायत सबै घटनाका दुई हजार ५५५ अभियुक्तमध्ये ५१७ अझै फरार छन् ।
यस्तै, चालु वर्षको पहिलो तीन महिनामा जबर्जस्ती करणी उद्योगका २५७, अप्राकृतिक मैथुनका १०, मानव बेचबिखन तथा जबर्जस्ती करणी र अपहरण तथा जबर्जस्ती करणीका एक÷एक घटना भएका छन् । पहिलो तीन महिनामा महिलामाथि हुने विभिन्न प्रकृतिका घटनाको सङ्ख्या ८५९ रहेको जवाफ मन्त्रालयले समितिलाई दिएको छ ।
मन्त्रालयले निर्मला हत्या प्रकरणका विषयमा पनि समितिलाई जवाफ दिएको छ । समितिले विवरणात्मक रूपमा मात्र जवाफ पेस गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको र हत्यारा यकिन नभएको जवाफमा उल्लेख छ । श्रोतः गोरखापत्र दैनिक

प्रतिक्रिया दिनुहोस्