Logo
|
Friday 26th April 2024
Logo

epaper

‘संक्रमित उपचार गर्नै आउँदैनन्’



‘संक्रमित उपचार गर्नै आउँदैनन्’

सरकारले निःशुल्क औषधोपचार र पायक पर्ने ठाउँमा उपचार व्यवस्था मिलाए पनि हजारौं क्षयरोग र एचआईभी संक्रमित सम्पर्कविहीन छन्। ‘संक्रमितलाई उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण छ’, राष्ट्रिय क्षयरोग केन्द्रका निर्देशक डा. भीमसिंह तिंकरीले भने, ‘झण्डै १२ हजार क्षयरोगीको निदान हुन सकेको छैन।’ उनका अनुसार १०–१२ क्षयरोगी पहिचान गर्न बाँकी छ। करिब ३२ हजार क्षयरोग र एचआईभी संक्रमित उपचारबाहिर रहेको सरकारी आँकडा छ।

नेपालमा कुल क्षयरोगीको संख्या पत्ता लगाउन अध्ययन गर्न थालिएको डा. तिंकरीले बताए। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले नेपालमा झण्डै ४५ हजार क्षयरोगी रहेको अनुमान गरेको छ।

सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा. राजेन्द्र पन्तका अनुसार क्षयरोगीले खोक्दा, हाच्छयँु गर्दा, सास फेर्दा रोग सर्ने जोखिम हुँदा चुनौती थपिएको बताउँछन्।

क्षयरोगले सुरुमा फोक्सोमा आक्रमण गर्ने र पछि शरीरका अन्य भागमा असर पुर्‍याउँछ। दुर्गम क्षेत्रका संक्रमितको उपचारमा पहुँच छैन। पहुँच भएकाहरूले पनि नियमित औषधि सेवन नगरेको डा. पन्तको भनाइ छ। कतिपयको रोग समयमै पहिचान नहुँदा पनि उनीहरू रोगसँग जुधिरहेका छन्।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. तारानाथ पोखरेल झन्डै १६ हजार एचआईभी संक्रमित उपचारबाहिर रहेको बताउँछन्। सन् २०१७ मा नेपालमा कुल एचआईभी संक्रमितमध्ये ५३ प्रतिशतले मात्र एन्टी रेक्ट्रो भाइरल (एआरभी) उपचार गराइरहेका छन्। नेपालमा ३१ हजारभन्दा बढी एचआईभी संक्रमित छन्। यौनकर्मी, दुव्र्यसनी, वैदेशिक रोजगारमा गएका र तेस्रो लिंगीमा उच्च संक्रमण देखिएकोले उपचारको दायरामा ल्याउनु चुनौतीपूर्ण रहेको डा. पोखरेलको भनाइ छ।

संक्रमितहरू सम्पर्कविहीन हुँदा यी क्षयरोग र एचआईभीको रोकथाम, उपचारमा समस्या भएको चिकित्सकहरू बताउँछन्। संघ, प्रदेश र स्थानीय तीनै तहका सरकारले जनचेतना फैलाउनुपर्ने खाँचो रहेको नेपाल चिकित्सक संघका पूर्वअध्यक्ष एवं वरिष्ठ छाती रोग विशेषज्ञ केदारनरसिंह केसीको भनाइ छ।

सार्क क्षयरोग तथा एचआईभी एड्स केन्द्रका निर्देशक डा. पन्तका अनुसार दुर्गम जिल्लामा संक्रमितहरू उपचारबाहिर छन्। ‘अशिक्षा, गरिबी, सेवाको गुणस्तर लगायतमा समस्या छन्। सेवा लिए पनि निदान नभएको अवस्था छ’, डा. पन्तले भने, ‘बेलैमा उपचार गर्दा आयु लम्बिने भए पनि संक्रमितहरू हिचकिचाउने गर्छन्।’

क्षयरोग केन्द्रका निर्देशक डा. तिंकरीले क्षयरोगबाट हुने मृत्युदर न्यून पार्नु चुनौतीपूर्ण देखिएको बताए। डब्लूएचओले नेपालमा बर्सेनि ५ देखि ९ हजार व्यक्ति क्षयरोगबाट मर्ने अनुमान गरेको छ। अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्