Logo
|
Friday 26th April 2024
Logo

epaper

सिन्धुपाल्चोकको केउरानीमा स्वास्थ्य शिविर सम्पन्न



राजधानीबाट नजिकै भएपनि गुणस्तरीय स्वास्थ्य सेवाबाट बञ्चित सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–८ स्थित केउरानीमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।
गोकर्णेश्वर नगरपालिका–५ स्थित कोइराला मेडिकल हलको प्रमुख आयोजनामा पुष २८ मा भएको शिविरमा ३ महिने शिशु देखि ८५ वर्ष सम्मका वृद्धवृद्धा गरी ४ सय भन्दा बढीले सेवा लिएका थिए ।
स्थानीय केउरानी स्वास्थ्य चौकीमा भएको शिविरमा बालरोग, विभिन्न खालका अन्य रोग, दन्त रोग, वाक तथा श्रवण रोग सहित दृष्टि रोग लागेकाहरुको बाक्लो उपस्थिति थियो । लरोग विशेषज्ञ डाक्टर अनिलराज ओझा, जनरल फिजिसियन डाक्टर सञ्जय शाह, डाक्टर रोहित खत्री, दन्त्य रोग विशेषज्ञ डाक्टर पुष्पदीप खरेल, दृष्टि विशेषज्ञ दमन अधिकारी, वाक तथा श्रवण रोग विशेषज्ञ आस्था कोइराला लगायतले शिविरमा सेवा दिनु भएको थियो ।
शिविरमा एक सय भन्दा बढीको काम नलाग्ने दाँत निकालिएको थियो भने कमजोर दृष्टि भएकाहरुको दृष्टि जाँच गरी औषधि समेत उपलब्ध गराइएको थियो । ती मध्ये अत्यावश्यक एक सय जनालाई केही दिन भित्रै निशुल्क चस्मा उपलब्ध गराइने कोइराला मेडिकल हलका संचालक तथा समाजसेवी विमल कोइरालाले जानकारी दिनुभयो ।
शिविरमा आएका कक्षा ८ देखि १० मा पढ्ने मध्ये ९० प्रतिशतको दृष्टि क्षमता कमजोर पाइएको थियो भने करीब १५–२० जना वृद्ध वृद्धामा मोतियाविन्दुको समस्या देखिएको कोइरालाले बताउनुभयो ।
कोइरालाका अनुसार शिविरमा आएकाहरुलाई वितरण गरेर बाँकी रहेको सबै औषधि समेत केउरानी स्वास्थ्य चौकीलाई हस्तान्तरण गरिएको थियो । डाउन सिन्ड्रोमका कारण कक्षा कोठामा निष्क्रिय रहँदा अपहेलित विद्यार्थीहरु वाक तथा श्रवण रोग विशेषज्ञ आस्था कोइरालाको परामर्शबाट निकै लाभान्वित भए । कोइरालाले त्यस्ता विद्यार्थी, शिक्षक र अभिभावलाई सँगै राखेर आवश्यक परामर्श दिनु भएको थियो ।
शिविर आयोजना गर्न मेलम्ची नगरपालिका, चितवन निवासी समाजसेवी माधव बुर्लाकोटी, क्वेष्ट फर्मास्यूटिकल्स्, लेभेन फर्मास्यूटिकल्स्का सुदीप हमाल, आर्या फर्मा ल्याब, स्थानीय जलवाइदेवी मावि परिवार लगायतको विशेष सहयोग प्राप्त भएको कोइराला मेडिकल हलका संचालक विमल कोइरालाले बताउनुभयो ।
कोइराला मेडिकल हलका भगिनी संस्थाहरु हेल्थी मुस्कान डेन्टल क्लिनिक तथा कान्तिपुर अप्टिकल्स् परिवारको पनि शिविर सक्रिय सहभागिता रहेको थियो । मेलम्ची नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ठंकराज गिरीले स्थानीयहरु निकै लाभान्वित हुने गरी शिविर संचालन गर्नु भएकोमा कोइरालाप्रति आभार व्यक्त गर्नु भएको छ । आफ्ना पिता स्वर्गिय रामप्रसाद कोइरालाको स्मृति तथा सामाजिक उत्तरदायित्व अन्र्तगत कोइरालाले विगत केही वर्ष अघि देखि आफ्नो जन्मथलो सिन्धुपाल्चोक केउरानीमा स्वास्थ्य शिविर सहित विविध सामाजिक कार्यक्रम संचालन गर्दै आउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्