Logo
|
Friday 26th April 2024
Logo

epaper

भक्तपुर क्यान्सर अस्पतालमा नेपालकै जटिल शल्यक्रिया



वरिष्ठ मुटु, फोक्सो तथा रक्तनलीसम्बन्धी कन्सल्टेन्ट सर्जन डा. मोहनप्रसाद देवभण्डारीको नेतृत्वमा उक्त शल्यक्रिया गरिएको हो।

अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. ऋषिकेशनारायण श्रेष्ठले फोक्सोको क्यासर भई अस्पतालमा उपचार गर्न आएका ६५ वर्षीय एक पुरुष बिरामीको बायाँ फोक्सो पुरै काटेर झिक्ने जस्तो जटिल शल्यक्रिया सफल भएको जानकारी दिए।

उनका अनुसार अहिले बिरामीको अवस्था सामान्य छ। उनले अस्पतालस्थित सर्जिकल आईसीयूमा स्वास्थ्य लाभ गरिरहेको मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले बताए।

‘अस्पतालमा फोक्सोको केही भाग काट्ने शल्यक्रिया धेरै भए र भइराखेका पनि छन्’, उनले भने, ‘तर पूरा फोक्सो निकाल्ने सफल शल्यक्रिया भने मंगलबार गरेका छौं।’

उक्त शल्यक्रिया गर्न वरिष्ठ चिकित्सक डा. देवभण्डारीलाई एनेस्थेसियोलोजिस्ट डा. दीपेश धिताल तथा उनको टिम र अप्रेसन थियटरका स्वास्थ्यकर्मीहरुले सहयोग गरेका थिए।
डा. देवभण्डारीले फोक्सोको शल्यक्रियाबारेमा लामो समय बेलायतमा अध्ययन र अनुभव प्राप्त गरेपछि नेपाल आएका हुन्।

क्यान्सर लागेको फोक्सो पूर्ण रुपमा काटेर झिक्ने सफल शल्यक्रिया भक्तपुर क्यान्सर अस्पतालको उपचारको क्षेत्रमा अति महत्वपूर्ण एवं कोसेढुंगा सावित हुने अस्पतालका मेडिकल डाइरेक्टर प्रो.डा. श्रेष्ठले विश्वास व्यक्त गरेका छन्।

‘यो शल्यक्रियासँगै फोक्सोको क्यान्सरको जटिल शल्यक्रियाको लागि भक्तपुर बाहिर वा अझ देशबाहिर जानुपर्ने अवस्थाको अन्त्य हुने हामीले विश्वास लिएका छौं’, उनले भने, ‘फोक्सोको क्यान्सर डायग्नोसिस, स्टेजिंग, केमोथेरापी, रेडियसनलगायत अब शल्यक्रिया पनि भक्तपुरमै उपलब्ध भएको छ।’

सफल शल्यक्रिया गर्ने डा. देवभण्डारीले क्यान्सर लागेको फोक्सो शल्यक्रिया गरेर झिक्नु नै उपयुक्त उपचार भएको बताए।

सुरुकै अवस्थामा फोक्सोको क्यान्सरको पहिचान भएर उपचार गर्न सकिएको फोक्सो फाल्नुपर्ने अवस्था भने नआउने उनले स्पष्ट पारे।डा. देवभण्डारीले ४० वर्ष नाघेका, धूमपान तथा सूर्तीजन्य पदार्थ सेवन गर्नेलाई फोक्सोको क्यान्सरको सम्भावना अघिक हुने बताए।

फोक्सोको क्यान्सर हुँदा लामो समय खोकी लागिरहने, खकारमा रगत देखिने, खान मन नलाग्ने, स्वाँ–स्वाँ हुने, छातीमा दाग देखिने लक्षण देखिने उनले बताए।

यस्तो भएमा तुरुन्त सम्बन्धित विशेषज्ञलाई सम्पर्क राख्न उनले सुझाव दिए।अन्नपुर्णपोष्टबाट

 

प्रतिक्रिया दिनुहोस्