कुष्ठरोगीको एकान्तबास

शंकर आचार्य, पर्सा || प्रकाशित मिति :2019-02-14 04:50:45

गाउँको बाहिर एकान्तमा बाँसको झ्याङ छ । त्यसमा मुस्किलले एकजना अट्ने एउटा मक्किएको फुसको छाप्रो छ । त्यही छाप्रोमा झन्डै २० वर्षदेखि एक्लै बस्दै आएका छन् ७५ वर्षीय सुरुज राउत अहिर । उनको एकान्तबास वीरगन्ज महानगरको वडा नं. २९ मा पर्छ ।

उनी रहरले वा जोगी बनेर यहाँ बसेका होइनन् । कुष्ठरोग लागेपछि उनी परिवार र समाजबाट एक्लिए । जाडो, गर्मी, वर्षा सबै याम र ऋतुमा उनको सहारा र साथी त्यही छाप्रो हो । कुष्ठरोग लागेकाले हत्तपत्त गाउँले उनको नजिक पर्दैनन् । उनी नजिक परे गाउँलेले हप्कीदप्की गरेर धपाउँछन् ।

बारा उत्तरझिटकैया (हाल कलैया उपमहानगरपालिका) उनको जन्मथलो अनि पुख्र्यौली गाउँ हो । त्यहाँ अझै पनि उनका छोरा सपरिवार बस्छन् । एउटीछोरी उनी बसेको छाप्रोको उत्तरतर्फको गाउँ बसडिल्वामा बस्छिन् । जुन मुस्किलले २ किमिको दूरीमा छ । अर्की छोरी वीरगन्जको भिष्वामा घरजम गरेर बसेकी छन् । तर वर्षाैं भयो उनले

छोराछोरीको मुख नदेखेको ।

नातिनातिना भेट्ने रहर गर्छन् तर कोही फर्केर आउँदैनन् । जीवनसंगिनी जोखनी पतिलाई साथ दिन घर छोडेर उनीसँगै एकान्तबासमा आएकी थिइन् । तर उनको ८ वर्षअघि निधन भएपछि सुरुज एक्ला भएका छन् ।

उनको हातखुट्टाका औंला केही झरेका छन् । भएका औंला पनि बांगिएका छन् । पेट भर्न उनी गाउँमा मागेर हिंड्छन् । गाउँलेले दया गरेर दिए भोक मेटिन्छ नत्र पानी पिएर गुजारा चलाउँछन् । आङमा एकसरो लुगा छ । त्यो पनि च्यातिएको र मैलिएको छ । स्थानीय स्वास्थ्य चौकी भवनबाट करिब ५० मिटर दूरीमा उनको छाप्रो छ ।

विडम्बना के छ भने सुरुज आफैं पनि कुष्ठरोगलाई भगवान्को मर्जी र पूर्वजन्मको पाप मान्छन् । उनलाई छोराछोरी र समाजले बहिष्कार गरेको कुराको पनि कुनै गम छैन । ‘मलाई रोग लागेपछि मैले स्वेच्छाले घर छोडेको हुँ, म कसैलाई दोष दिन्नँ,’ उनले भने, ‘मेरो भाग्यमै यही रहेछ, भगवान्को मर्जी हो कि पूर्वजन्मको पाप हो, जहिलेसम्म भगवान्ले लग्दैनन्, कसैगरी बाँच्नु त पर्‍यो ।’

सुरुमा कुष्ठरोग देखिएपछि आफू २०४४ सालतिर भारत रक्सौलको कुष्ठरोग उपचार हुने सुन्दरपुर अस्पतालमा भर्ना पनि भएको उनले बताए । तर अस्पताल प्रशासनले ४ महिनामै निकालिदिएको उनले आरोप लगाए । ‘खै किन हो मलाई ४ महिनामै निकाले, तपाईंलाई निको भयो भनेर पठाए,’ उनले भने, ‘तर बिस्तारै मेरा हातखुट्टाका औंला झर्न र बांगिन थाले ।’

आफ्नो दाहिने आँखाले देख्न छोडेको उनले बताए । आफन्तजन पनि फर्केर नआउँदा चित्त दुखे पनि उनीहरूको विरुद्ध मुख भने खोली हाल्दैनन् । सुरुजले भने, ‘मसँग केही पैसा हुँदासम्म उनीहरू आउँथे, अब छैन, आउँदैनन् ।’

स्थानीय स्वास्थ्य चौकीका इन्चार्ज सिनियर अहेब बच्चन चौधरीले आफूले स्वास्थ्य चौकीको जिम्मेवारी सम्हालेको १५ वर्ष भएको र सुरुजलाई आफूले त्यतिबेलैदेखि यहाँ छाप्रो बनाएर बसेको देख्दै आएको बताए ।

‘हामीले सुरुदेखि उहाँलाई औषधि मूलो गर्ने प्रयास नगरेका होइनौं, कुष्ठरोगकै औषधि पनि खानुस् भनेकै हौं,’ चौधरीले भने, ‘तर अज्ञानता र हठका कारण उहाँले औषधि खानुभएन, विस्तारै हातखुट्टाका औंला गुमाउँदै जानुभयो ।’कान्तिपुरदैनिकबाट

    Comment Here!