Logo
|
Friday 26th April 2024
Logo

epaper

दीर्घरोगी बन्दै सहरबासी



 

न हावा शुद्ध छ न त पिउने पानी। ध्वनि प्रदूषण त्यत्तिकै। राजधानी काठमाडौंको वातावरण हो यो। हावामा मिसिएका धुवाँधुलोका कणले सहरबासीको श्वासनलीलाई साँघुरो बनाइरहेको छ। अशुद्ध पानी पिउँदा बर्सेनि हैजा निम्त्याएको छ।

चिकित्सकका अनुसार धुलोधुवाँका ससाना कणमा हुने सल्फर, नाइट्रोजनअक्साइड, कार्बनमोनोअक्साइडले फोक्सो र रक्तनली पुगेर स्वास्थ्यमा असर गर्छ। प्राणवायु भनिने अक्सिजन नै दूषित लिइरहेका राजधानीबासी थाहै नपाई दीर्घरोगी बनिरहेका छन्।

वरिष्ठ छाती तथा क्यान्सर रोग विशेषज्ञ डा. मदनकुमार पिया बाहिरी प्रदूषणका कारण सहरबासी दीर्घरोगी बन्न पुगेको बताउँछन्। ‘प्रदूषणका कारण विगतको तुलनामा ब्रोङकाइटिस, सिओपीडी, दम र फोक्सोको क्यान्सरका बिरामी बढेका छन्’, पियाले भने।

वायुमा पिएम १० को मात्रा २५ माइक्रोग्रामभन्दा कम भएको वातावरण प्रदूषणरहित मानिन्छ। काठमाडौं उपत्यकाको वायु प्रदूषण विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा २० गुणा बढी रहेको वातावरणविद्हरू बताउँछन्।

वीर अस्पतालका नाक, कान र घाँटीरोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलले प्रदूषणका कारण नाक, कान, घाँटीमा संक्रमण भएका बिरामी बढ्दै गएको बताए। राजधानीका रैथाने र बाहिरी जिल्लाबाट आएर सहरबासी बन्न पुगेका व्यक्तिका सन्तान दीर्घरोगी बन्ने डर रहेको चिकित्सक बताउँछन्।प्रदूषणका कारण एक दशकपछि श्वासप्रश्वासजन्य समस्याका बिरामी बढ्ने अनुमान चिकित्सकको छ।

वरिष्ठ फिजिसियन डा. अर्जुन कार्कीका अनुसार स्वस्थ व्यक्तिलाई दमखोकी गराउने र पहिलेदेखि दमखोकीका पीडित व्यक्तिलाई रोग चर्काइदिने काम प्रदूषणले गर्छ।

वरिष्ठ बालरोग विशेषज्ञ डा. हेमांग दीक्षित बाहिरी प्रदूषणका कारण बालबालिकालाई एलर्जीलगायत छालाजन्य समस्या देखिएको बताउँछन्। ‘सहरमै जन्मेर हुकेबढेका बालबालिकामा पछि गएर दीर्घरोग लाग्ने जोखिम छ’, उनले भने। ट्राफिक प्रहरी, सवारीचालक, त्यसका सहयोगीलगायत बाहिरी वातावरणसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गर्नुपर्ने व्यक्तिहरुको स्वास्थ्य जोखिममा रहेको चिकित्सकको भनाइ छ। ‘काम गर्ने तौरतरिका तथा शरीरको बनावट र रोग प्रतिरोधात्मक क्षमतालगायतका कारणले यति वर्ष यति दिन बाँच्छन् भन्ने त हुँदैन। तर उनीहरुको स्वास्थ्य जोखिममा छ।’ डा. कार्कीले भने।

बाहिरी प्रदूषणले सीओपीडी र दम निम्त्याउँछ। त्यस्तै फोक्सोको क्यान्सर हुने सम्भावना बढी रहेको चिकित्सक बताउँछन्। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को मापदण्डभन्दा राजधानको वातावरण धेरै गुणा प्रदूषित छ। धूमपानका साथै वायु प्रदूषणका कारण फोक्सोको क्यान्सर बढेको चिकित्सक बताउँछन्।

काठमाडौं उपत्यकाभित्र बिक्रीवितरण गर्ने पेट्रोल तथा डिजेलमा प्रतिलिटर ५० पैसाका दरले प्रदूषण शुल्क असुल गरी छुट्टै कोषमा जम्मा गरी वातावरण संरक्षणका क्षेत्रमा खर्च गर्नुपर्ने आर्थिक ऐन, २०६४ को दफा १३ (१) मा उल्लेख छ। सोहीबमोजिम आर्थिक वर्ष २०६५।६६ देखि हालसम्म ५ अर्ब २० करोड १५ लाख राजस्व असुल गरी सञ्चित कोष दाखिला गरेको देखिन्छ। उक्त रकम छुट्टै कोषमा राखी प्रदूषण नियन्त्रण एवं रोकथाम गर्ने कार्यमा खर्च गर्नुमा सो नगरेको महालेखा परीक्षकको पछिल्लो प्रतिवेदनमा उल्लेख छ। ‘स्थानीय निकायका पदाधिकारीदेखि सरकारसम्मलाई वातावरण प्रदूषण नियन्त्रणमा जनदबाब दिएनौं भने दीर्घरोगले धेरैलाई मृत्युको मुखमा पुर्‍याइदिनेछ’, डा. कार्कीले भने।

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव प्रदूषणका कारण बिरामी बढ्दा स्वास्थ्य संस्थामा चाप परेको बताउँछन्। ‘प्रदूषण नियन्त्रण गर्ने हो भने बिरामीको संख्या ह्वात्तै घट्छ। तर प्रदूषण नियन्त्रणमा सरोकारवाला मन्त्रालय र निकायबीच सहकार्य र समन्वय हुन सकेको छैन’, डा. कार्कीले भने।  अन्नपुर्ण पोष्टबाट

प्रतिक्रिया दिनुहोस्