Logo
|
Friday 26th April 2024
Logo

epaper

घरमूलीलाई मेरुदण्डको पक्षघात परिवारको बिचल्ली



परिवारको पालनपोषण र शिक्षादीक्षाको सम्पूर्ण भार बोक्ने मुख्य अभिभावक नै थला परेपछि त्यो परिवारको अवस्था कस्तो होला ? अझ, मजदुरी गरेर परिवार पाल्नुपर्ने परिवारको पीडा भने अकल्पनीय हुने कुस्मा–२ खुर्कोटको एक परिवारमा देखिएको छ ।

चैत ०७२ मा घरनजिकैको बारीमा मकै लगाउन जोत्न लाग्दा गोरुले हानेर लडेका ३२ वर्षीय माधव गिरीको परिवार अहिले सहाराविहीन भएको छ । ज्यालामजदुरी गरेर ५ जनाको परिवार पाल्दै आएका गिरीको त्यो दुर्घटनाबाट मेरुदण्ड भाँचिएको छ । दुर्घटनापछि कास्कीको हरियोखर्कमा तीन र मणिपाल अस्पतालमा तीन महिना उपचार गर्दा चार लाखभन्दा बढी खर्च भएको परिवारको भनाइ छ । ‘दुःखजिलो गरेर जोडेको ६० हजारबाहेक अरू थिएन । अहिले ५ लाख ऋण छ । दुई वर्ष भयो । ब्याज पनि तिर्न सकिएको छैन,’ माधवकी श्रीमती पार्वतीले भनिन् । दुर्घटनाको लामो समयसम्म निको हुने आसले आफन्त र नातागोतासँग हारगुहार गर्दै ऋण मागेर अस्पताल बसेको माधवको भनाइ छ । ‘तर, न पैसा बच्यो, न उपचार सफल नै भयो । पैसाको खोलो बगेपछि बल्ल थाहा भयो, यो उपचार विश्वमै हुँदोरहेनछ,’ ओछ्यानबाट माधवले गहभरि आँसु पार्दै भने, ‘अहिले आफ्नोभन्दा परिवारको पीडाले छटपटी हुन्छ । यस्तो पीडा कसैलाई नपरोस् ।’

छोराछोरीको पढाइ र खानपानको पिरलो
दुर्घटनापछि श्रीमती पार्वती चौबिसै घन्टा श्रीमान्को स्याहारमा जुट्नुपर्छ । मेरुदण्डमा फलामको रड राखिएको छ । उनलाई सुताएरै भित्रबाहिर गराउनुपर्छ । खाना खुवाउनेदेखि शौच गराउने, नुहाउने, सबै काम गर्दा पार्वतीलाई फुर्सद हुँदैन । जेठी छोरी सुष्मा १२ वर्षकी छिन् । उनैले खाना बनाउँछिन् । ९ वर्षीया बहिनी र चारवर्षे भाइको स्याहारसुसार गर्ने जिम्मा सुष्माकै काँधमा छ । भाइबहिनीको स्याहार गर्दा उनको पढाइ पनि निरन्तर हुन सकेको छैन । ‘बिहान सबै काम सकेर स्कुल पुग्दा ११ बज्छ,’ सुष्माले भनिन्, ‘धेरैजसो स्कुल जानै पाइन्न ।’

करिब चार वर्ष विदेशमा बिताएका माधव माघ ०७२ मा घर फर्किएका थिए । कतार, साउदी र ओमन, जुन देशमा गए पनि अपेक्षित पारिश्रमिक नपाएपछि परिवारसँगै बसेर गाउँमै उद्यम गर्न घर फर्किएको माधव बताउँछन् । ‘विदेशमा गर्ने दुःख घरमै बसेर गर्छु भनेर फर्किएँ,’ उनले भने, ‘फर्किएको दुई महिनामै यस्तो भयो । दसाले डोर्‍याएछ ।’ वैदेशिक रोजगारमा जुटाएको केही रकमले परिवारमा लागेको ऋण तिरेको उनी बताउँछन् । ‘उमेर छ, पछिका लागि केही गरौँला भनेर सगोल (संयुक्त परिवार) मा लागेको ऋण तिरेँ, समस्या परेपछि सबै पराइ भए ।’

उपचारको ५ लाख ऋणले थिचेकोथिचै
माधवकी पत्नी पार्वतीलाई अब छोराछोरीको पढाइ, उपचारमा लागेको ऋण तिर्ने र बिहान–बेलुकाको छाक जुटाउने चिन्ता छ । ‘यिनीहरूलाई राम्रो पढाउन पाए केही वर्षपछि अलि राहत हुन्थ्यो,’ उनले भनिन्, ‘अहिले सबै चोट एकैपटक लाग्यो । पार लाउने कसरी ?’ ०७२ को भूकम्पले घर भत्किएपछि अस्थायी छाप्रोमा बसेको यो परिवारलाई छिमेकीले एकतले घर बनाइदिएका छन् । अहिले बासको चिन्ता छैन । ओछ्यानमा एकोहोरो सुतिरहँदा टाउको दुख्ने, झमझम गर्ने, खान मन नलाग्नेलगायत समस्या हुने माधव बताउँछन् । घाँटीमुनि कसरी चल्छ उनलाई कुनै जानकारी छैन । ‘यसरी कहिलेसम्म बाँचिन्छ ?’ गिरीले दुखेसो गरे । उनको सहयोगका लागि पर्वत र छिमेकी जिल्लाबाट अमेरिका पुगेका प्रवासीले दुई लाख १० हजार संकलन गरी नेपाल पठाएका छन् । यो रकम जिल्ला समन्वय समिति पर्वतका प्रमुख मनोहर वि. पौडेलले पीडित माधवको घरमै पुगेर हस्तान्तरण गरे । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्