Logo
|
Friday 26th April 2024
Logo

epaper

मिर्गौलाको पत्थरीमा डिस्पोजेबल आरआईआरएस



डा. महेश बहादुर अधिकारी/ वरिष्ठ युरोलोजिष्ट

पानी कम पिउने, बाह्य विभिन्न क्रियाकलाप, जन्मजात, पटक पटक पिसाबको संक्रमण, अस्वस्थ्यकर खाना, साँघुरो पिसाब नलीलगायत विभिन्न कारणले मिर्गौलामा पत्थरी बन्नसक्छ ।
पिसाव निस्कने बाटोमा पत्थरी अड्केमा यसले मिर्गौलालाई छिटो असर गर्ने भएकाले सकेसम्म तत्काल निकाल्नुपर्छ ।
अब मिर्गौलाको पत्थरी निकाल्न ओपन शल्यक्रियामा मात्र भर पर्नुपर्दैन । अहिले मुलुकमा नयाँ प्रविधिहरु भित्रिसकेका छन् । परक्युटानियस नेफ्रो लिथोटोमी (पिसिएनएल), माइक्रो परक्युटानियस नेफ्रो लिथोटोमी (मिनीपिसिएनएल) जस्ता प्रविधिबाट मिर्गौलामा मिर्गौलामा जमेको पत्थरी निकाल्न सकिन्छ । मिर्गौलामा जमेको पत्थरीलाई बाहिरबाट नै फुटाउन मिल्ने ‘सक ओइभ थेरापी’ भएपनि कतिपय अवस्थामा पत्थरी फुट्ने सम्भावना कम भएकाले यसको लोकप्रीयतामा बिस्तारै कमी आएको छ ।

रेक्ट्रोग्रेड इन्ट्रारेनल सर्जरी (आरआइआरएस)
पिसाबको नलीबाट मेसिन छिराएर मिर्गौलाको पत्थरी फुटाएर निकाल्ने प्रविधिलाई रेक्ट्रोग्रट इन्ट्रारेनल सर्जरी (आरआइआरएस) भनिन्छ । यस प्रविधिमा प्वाल पार्नुपर्दैन । धेरै विश्वसनीय र सुरक्षित छ । उपकरण साधन महँगो पर्ने भएकाले अलि खर्चिलो देखिनसक्छ । तर एकै दिनमा बिरामीलाई घर पठाउन सकिने भएकाले अस्पतालमा बस्दा लाग्ने खर्च कम हुन्छ ।
आर.आई.आर.एस. प्रविधि डिस्पोजेवल र रि—युजेवल गरी २ प्रकारका हुन्छन् । डिस्पोजेबल आर.आई.आर.एस. मेसिनको मुल्य डेढ लाख जति पर्छ । यसबाट चार जनासम्मको शल्यक्रिया गर्न सकिन्छ । त्यसपछि प्रयोग गर्न मिल्दैन ।
डिस्पोजेबल आर.आई.आर.एस. मेसिन बिग्रने सम्भावना निकै कम हुन्छ । त्यसकारण कुनाकुनाको पत्थरी खोज्न सकिन्छ ।
यो सेवा हाम्रो अस्पतालमा पहिलोपटक शुरु गरिएको छ । यो मेसिन अमेरिकन कम्पनि अमेरिकाको बोस्टन साइन्टिफिक कम्पनिको उत्पादन हो । यो मेसिन हिमालयन मेडिटेकले उपलब्ध गराएको हो । यो प्रविधिबाट हुने शल्यक्रियाको सफलदर निकै राम्रो छ । ६ महिनाको अवधिमा हामीले अहिले सम्म ५० ओटा केस गरिसकेका छौँ ।
डिस्पोजेवल आर.आई.आर.एस. पद्धतिबाट कुनै बिरामीको पत्थरी १५ मिनेटमा निकाल्न सकिन्छ भने कसैको २ घण्टा पनि लाग्नसक्छ । तर बढि समय लागेमा बिरामीसँग बढि पैसा लिन मिल्दैन ।
तर २५ देखि ३० लाख रुपियाँ पर्ने रि—युजेबल आर.आई.आर.एस. एकदुइ ओटा केस गर्ने वित्तिकै बिग्रन पनि सक्छ । यसको सफल दर राम्रो भएपनि शल्यक्रियाका क्रममा मेसिन बिग्रनसक्ने डर भइरहन्छ । बिग्रिएपछि यसको मर्मत पनि खर्चिलो छ । मेसिन मर्मत गर्ने बायोमेडिकल इन्जिनियर पनि तत्काल उपलब्ध हुन सक्दैनन् । बिरामीले सास्ती खेप्नुपर्ने सम्भावना रहन्छ ।
यसरी मिर्गौलामा जमेको पत्थरी एकचोटी फुटेपछि फर्केर आउने सम्भावना रहन्छ । ५० प्रतिशत मानिसको ५ वर्षभित्रमा पत्थरी फेरि फर्किनसक्छ ।
यसरी पत्थरी फर्किन नदिन पत्थरी फर्किनुको कारण विश्लेषण गर्नुपर्छ । बिरामीको रगत र २४ घण्टाभित्रको पिसाब संकलन गरेर पत्थरी बन्ने तत्वहरु हेर्नुपर्छ । सो अनुसार बिरामीलाई सचेत रहन सल्लाह दिइन्छ । रगतमा क्यालसियम, पत्थरी बनाउने युरिक एसिड, अक्जालेट र फस्फोरको मात्र कति छ भनेर हेर्न पनि सकिन्छ ।
कतिपय व्यक्ति हरेक ६ महिना मै पत्थरीको समस्या लिएर आउँछन् । शरीरमा क्याल्सियमको मात्रा बढ्दै गएमा यस प्रकारको समस्या देखिन्छ ।
घाँटीमा प्याराथाइरोइड ग्रन्थीले क्याल्सियम सन्तुलनमा राख्ने काम गर्छ । तर यहाँ ट्युमर भएमा यसले हड्डीबाट धेरै क्याल्सियम निकाल्छ । यसबाट हड्डी पनि खोक्रो हुन्छ र रगतमा क्याल्सियम धेरै हुने भएकाले पत्थर पनि बनिरहन्छ । यस्तो अवस्थामा ट्युमरलाई निकाल्नुपर्छ ।
(डा. अधिकारी नेपाल मेडिसिटीमा युरोलोजी विभागका प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्