Logo
|
Tuesday 30th April 2024
Logo

epaper

धूलोले बढ्यो श्वासप्रश्वासका बिरामी



दैनिक जिल्ला अस्पताल पुग्ने १५० बिरामीमध्ये आधा नाक, घाँटी र फोक्सोमा देखिएको समस्याले पीडित

जिल्ला अस्पताल धादिङमा उपचार र स्वास्थ्य परीक्षण गराउन आउने अधिकांश बिरामी दम, सुक्खाखोकी र एलर्जीका छन् ।

 बहिरंग विभागमा दैनिक आउने १ सय ५० जनामा ५० प्रतिशत नाक, घाँटी र फोक्सोमा देखिएको समस्याले पीडित छन् । तीमध्ये अधिकांश बालबालिका तथा वृद्धवृद्धा छन् ।

जिल्ला अस्पताल धादिङका सूचना अधिकृत कृष्ण उप्रेतीले अस्पतालमा उपचारका लागि आउने बिरामीमा अधिकांश धूलाका कारण हुने एलर्जीका बिरामी भएको बताए ।
नीलकण्ठ ९ सांगकोशकी ६० वर्षीया संगीता दवाडीको स्वास्थ्य दिनहुँ बिग्रँदो छ । दम र प्रेसरको समस्याले २ वर्षदेखि थलिएकी उनले धूलोका कारण सास फेर्न गाह्रो हुने गरेको बताइन् । सदरमुकामदेखि सांगकोश हुँदै जिल्लाको उत्तरी भेग जाने सडकमा उड्ने धूलोले स्थानीय पीडित छन् ।
‘धूलोकै कारण दिनकै बिरामी परिरहन्छु, आँखा, नाकदेखि शरीर नै धूलोले ढाकिन्छ,’ दावाडीले दु:खेसो पोखिन्, ‘सडक आसपासमा बस्नु दुर्भाग्यजस्तै बनेको छ ।’
सांगकोशमा मात्रै हैन जिल्लाका विभिन्न स्थानका धुलाम्मे सडकमा बस, ट्रयाक्टर, ट्रिपर, मोटरसाइकलजस्ता सवारी हुँइकिरहन्छन् । जिल्लामा आन्तरिक ग्रामीण सडक ६ हजार किलोमिटरभन्दा बढी छ । जिल्लाका अधिकांश विद्यालय कच्ची सडककै छेउमा छन् ।
जसले गर्दा विद्यालयका कक्षाकोठा धुलाम्मे हुने गरेका छन् ।
सडकले विकास र पुनर्निर्माणमा सहयोग गरिरहेको भए पनि धुलाम्मे सडकका कारण परिवारै बिरामी हुन थालेको ज्वालामुखी खरीका नरेन्द्र भट्टको गुनासो छ । ‘सडकलाई व्यवस्थित नगरिएकाले सबैले सास्ती भोगिरहनुपरेको छ,’ उनले भने, ‘धूलो नियन्त्रण गरी सडक मर्मत नगरेसम्म स्वास्थ्यमा असर परिरहन्छ ।’ भट्टले परिवारका सदस्यको धूलोका कारण रुघाखोकीदेखि श्वासप्रश्वासमा समस्या भइरहेको बताए ।
धूलोले समस्या भएपछि प्रहरी र प्रशासनको ध्यानाकर्षण गरे पनि सुनुवाइ नभएपछि सडक बन्द गर्न उत्रिएको स्थानीयको भनाइ छ । ‘धूलो नियन्त्रण गर्न प्रशासनले चासो नै देखाएको छैन ।’ स्थानीय भट्ट भन्छन्, ‘समस्या झनै बल्झिरहेको छ ।’ स्थानीय श्रीराम गिरीले पनि धूलोको असरले मान्छेसँगै पशुचौपायासमेत बिरामी पर्न थालेको दाबी गरे । नीलकण्ठ नगरपालिकाका सल्लाहकार दीपक कोइरालाले एकैसाथ न्यूनीकरण सम्भव नभए पनि सडकको मर्मत सम्भार र स्तरोन्नति गरेपछि समस्या समाधान हुने दाबी गरे । धादिङका अधिकांश ग्रामणि सडकको स्तरोन्नतिको काम अझै सुरु भएको छैन । स्तरोन्नतिको काम सुरु गरिएका सडक पनि अलपत्र छोडिएकाले धूलोको समस्या झनै विकराल बनेको हो ।  कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्