सुरक्षाकर्मीकै भरमा रक्तसञ्चार केन्द्र
जिल्ला अस्पतालमा ४ वर्षअघि स्थापना गरिएको रक्तसञ्चार केन्द्र सुरक्षाकर्मीहरूको भरमा चलेको छ । यहाँका स्थानीय बासिन्दा रक्तदान गरे कमजोर भइने धारणाका कारण आफ्नै बिरामीलाई पनि रक्तदान गर्दैनन् ।
नेपाल रेडक्रस सोसाइटीको पहलमा अस्पतालभित्र रक्तसञ्चार स्थापना गरिएको थियो । ‘नेपाली सेना, प्रहरी र जनपद प्रहरीले रगत नदिए जुनसुकै समयमा केन्द्र बन्द हुनसक्छ,’ केन्द्रका इन्चार्ज रामप्रसाद ओझाले भने, ‘बिरामीका आफन्तहरूले त कहिल्यै रगत दिन मान्दैनन् । बिरामीलाई चाहिएको रगतको समूह जानकारी गराएर सुरक्षाकर्मीलाई गुहार्छौं ।’
असारदेखि रगत बढी चाहिन्छ । विभिन्न किसिमका दुर्घटना, भीरबाट लडेर घाइते भएका घटना बढी आउने हुँदा रक्त भण्डारण आवश्यक हुने उनी बताउँछन् । जिल्ला अस्पतालमा सुत्केरी, रक्तअल्पता, सख्त घाइतेको उपचारका लागि रगतको माग बढी हुने गरेको छ । रेडक्रस सोसाइटी र जिल्ला अस्पतालको संयुक्त लगानीमा स्थापना गरिएको केन्द्रमा रगत सञ्चित गर्ने र स्टोर गर्ने उपकरण पनि छैन । दाताबाट झिकेर सीधै बिरामीलाई दिने प्रविधि मात्रै हो ।
जिल्लाका ग्रामीण क्षेत्रमा पनि निःशुल्क तथा सुरक्षित प्रसूति केन्द्रहरू छन् । तर अधिकांश स्थानीय बासिन्दा गर्भवतीलाई जिल्ला अस्पतालमै प्रसूति गराउन ल्याउँछन् । यही कारणले पनि रगतको बढी खाँचो पर्ने गरेको ओझाको भनाइ छ । रक्तसञ्चार केन्द्रमा सुरक्षाकर्मीहरूको नाम, नम्बर, रक्त समूहसहितको नाम राखिएको छ । ‘सुरक्षाकर्मीहरूको रक्त समूह पहिचान गरी केन्द्रमा विवरण राखेका छौं,’ ओझाले भने, ‘आवश्यक परेका बेला फोनबाट बोलाएर तत्कालको समस्या टार्दै आएका छौं ।’
अशक्त, एकल महिलालाई निःशुल्क रगत दिइने गरेको छ । अन्य बिरामीलाई शुल्क तोकिएको छ । जनचेतना अभावले यहाँका बासिन्दाले रक्तदान गर्न नमान्ने समस्या रहेको रेडक्रसका जिल्ला सभापति गोपालसिंह महरा बताउँछन् ।