Logo
|
Thursday 2nd May 2024
Logo

epaper

रक्तसञ्चार केन्द्र : फ्रोजन प्लाज्मा खेर जाँदै



 

रक्तसञ्चार केन्द्र वीरगन्जका प्रमुख सौरभराज पाण्डेले सोमबार ५० युनिट फ्रेस फ्रोजन प्लाज्मा फालेर नष्ट गरे । माग नै नभएपछि अन्ततः उनले मन मारेर यो निर्णय लिएका थिए ।

‘माग नै नआएपछि नष्ट गर्नुको विकल्प भएन,’ उनले भने, ‘२ वर्षयता यसरी रक्त तत्त्व नष्ट गर्न हामी बाध्य भएका छौं ।’ स्थानीय चिकित्सकले ब्लड कम्पोनेन्ट (रक्त तत्त्व) को सिफारिस नगरिदिंदा २ वर्षअघि रक्तसञ्चार केन्द्र वीरगन्जमा स्थापित कम्पोनेन्ट सेपरेसन मेसिन उपयोगविहीन भएको छ ।

कम्पोनेन्ट मेसिनको मद्दतले केन्द्रमा एक पोका रगतबाट फ्रेस फ्रोजन प्लाज्मा, प्लेटलेट रिच प्लाज्मा र प्याक सेल गरी ३ वटा तत्त्व छुट्याइन्छ । केन्द्रमा यो उपकरण जडान गर्नुको उद्देश्य पनि एक पोका रगतबाट ३ थरी बिरामी लाभान्वित होऊन् भन्ने थियो । तर यहाँका चिकित्सकले नै बिरामीको आवश्यकता हेरेर रगत वा रक्ततत्त्वको माग नगरी प्याक सेल (रातो रगत) मात्र माग गरिदिनाले यो समस्या भएको पाण्डे बताउँछन् ।

‘यसो गर्दा बिरामीका आफन्तलाई आर्थिक भार पर्दैन वा आफूलाई काम गर्न सहज हुन्छ भन्ने मनोवृत्तिले काम गरेको हुनुपर्छ,’ उनले भने, ‘तर डाक्टर साबको असहयोगले बिरामीले रगतमा आफूलाई चाहिनेभन्दा बढी तत्त्व लिनुपरिरहेको छ ।’ प्रोटिनको कमी भएका बिरामीलाई फ्रेस फ्रोजन प्लाज्मा दिइन्छ ।

शरीरमा प्लेटलेटको कमी भएका बिरामीलाई प्लेटलेट रिच प्लाज्मा दिइन्छ । तर चिकित्सकले बिरामीका आफन्तलाई पूर्ण रगतको प्याकेट नै ल्याउन लगाउँछन् । यसले गर्दा बिरामीको शरीरमा अनावश्यक तत्त्व पनि पुग्छन् । त्यसले बिरामीलाई हानि पुग्न सक्छ । केन्द्रमा फ्रेस फ्रोजन प्लाज्मा ३ महिनासम्म र प्लेटलेट ३ दिनसम्म मात्र भण्डारण गर्न सकिन्छ ।

म्याद बितेपछि दुवै उपयोगविहीन हुन जान्छन् । वीरगन्जमा रगतको अभाव पूर्ति गर्न लामो समयदेखि सक्रिय रहँदै आएका सामाजिक अभियन्ता प्रकाश थारू ब्लड कम्पोनेन्ट मेसिन भएर पनि त्यसको उपयोग हुन नसक्नु दुःखद रहेको बताउँछन् । यहाँका चिकित्सकले सहयोग गरिदिए मात्र यो मेसिनले छुट्याउने रक्ततत्त्वको उपयोग हुने उनले बताए ।

स्त्री तथा प्रसूतिरोग विशेषज्ञ डा जगतदीपप्रसाद आफूले खोजेको बेला फ्रेस फ्रोजन प्लाज्मा र प्लेटलेट रिच प्लाज्मा नपाएर हैरान भएको बताए । उनले वीरगन्जमै यी तत्त्व उपलब्ध छन् भन्ने कुरो आफूलगायत अधिकांश चिकित्सकलाई पनि थाहा नभएकाले पनि यो समस्या भएको हुन सक्ने बताए ।

‘कतिपय अवस्थामा बिरामीका आफन्तले पनि चाहिएको रगत वा त्यसको तत्त्व माग्न नसकेको हुन सक्छन्,’ उनले भने, ‘रक्तसञ्चार केन्द्रले पनि हामीसँग यी–यी सुविधा छन् भनि सरोकारवालालाई जानकारी दिन नसकको हो कि ?’ कान्तिपुरबाट

प्रतिक्रिया दिनुहोस्