Logo
|
Thursday 2nd May 2024
Logo

epaper

बाढीपीडित क्षेत्रका गर्भवती र सुत्केरीले पाए राहत



जिल्ला स्वास्थ्य कार्यालय सिरहाले बाढी प्रभावित क्षेत्रका गर्भवती र सुत्करीलाई राहत वितरण सुरु गरेकोे छ । युएनएफपिएको सहयोगमा आइतबार सिरहा नगरपालिका–१२ सारस्वर गाउँमा ७५ जना गर्भवती, सुत्केरी तथा किशोरीलाई राहत सामग्री बाँडिएको स्वास्थ्य कार्यालय सिरहाका जनस्वास्थ्य अधिकृत सरोज कर्णले बताए ।

स्वास्थ्य कार्यालय सिरहाका प्रमुख डा. नागेन्द्र यादवको नेतृत्वमा गर्भवतीका लागि १४ वटा सामग्री रहने डिग्निटी किट, बेबी किट, लामखुट्टेबाट जोगिन झुल तथा किशोरी किट बाँडिएको हो । कमला नदीमा आएको बाढी गाउँ पस्दा डुबानमा परेका कमलातटीय क्षेत्रमा पर्ने कल्याणपुर, कर्जन्हा, सिरहा नगरका तटीय क्षेत्रमा पर्ने गाउँसहित डुबान प्रभावित अन्य स्थानीय तहमा पनि गर्भवती तथा सुत्केरी र किशोरीलाई राहत सामग्री बाँड्ने योजना रहेको कर्णले बताए ।

‘सिरहा नगरको बसबिट्टामा सोमबार ६० जनालाई वितरण गरिएको छ,’ उनले भने, ‘त्यसअघि माडर–पटेर्वा क्षेत्रका ३५ जना गर्भवती, सुत्केरी र किशोरी गरी ३५ जनालाई उक्त सामग्री बाँडिएको छ,’ उनले भने, ‘त्यसपछि कल्याणपुर र औहरीमा पनि डुबान प्रभावित गर्भवती, सुत्केरीलाई राहत बाँड्दै छौँ । चौथो महिना लागेका गर्भवती, ४५ दिनसम्मका सुत्केरी र १५ देखि १९ वर्षसम्मका किशोरीलाई राहत सामग्री दिइने उनले बताए ।

अन्यलाई पनि राहत बाँडिँदै
जिल्ला विपत् व्यवस्थापन समितिको निर्णयका आधारमा रेडक्रस, स्थानीय तह र प्रदेश सरकारमार्फत प्राप्त राहत सामग्री वितरण गर्न थालिएको छ । कमलाको बाढीले डुबानमा परेको सिरहा नगरपालिका–१२ सारस्वर गाउँका एक सय १७ र औरही गाउँपालिका–२ तुलसीपुरका ८७ परिवारलाई दुई–दुई थान कम्बल, त्रिपाल, साडी, कपडा, बाल्टिन, भाँडाबर्तनको एक सेटसहित प्रतिपरिवार १० हजार रुपैयाँबराबरको राहत सामग्री बाँडिएको सिरहा रेडक्रसले जनाएको छ ।

प्रदेश २ सरकारले बाढीका कारण खाद्यान्न अभाव झेलिरहेका एक हजार दुई सय प्रभावित परिवारलाई खाद्यान्नसहितको राहत बाँडेको छ । प्रदेश २ सरकारका तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री विजय यादवले औरही–२ तुलसीपुर क्षेत्रमा बाढी प्रभावितलाई प्रतिपरिवार २५ किलो चामल, चार किलो दाल, म्याट, झुल, साबुनलगायत राहत सामग्री बाँडेका हुन् ।

तीन मोडेलमा राहत
जिल्ला विपत् व्यवस्थापन समिति सिरहाका संयोजक तथा प्रमुख जिल्ला गोपालकुमार अधिकारीले जिल्लाका बाढी र डुबान प्रभावितलाई तीन मोडेलमा राहत वितरण थालिएको बताए । स्थानीय तहले यकिन गरेका पूर्ण र आंशिक प्रभावितलाई प्रारम्भिक राहत दिइने उनले बताए ।

त्यसपछि प्रदेश सरकार र राष्ट्रिय–अन्तर्राष्ट्रिय संघसंस्थाले ल्याउने राहत वितरण गरिनेछ । तेस्रो मोडेलअन्तर्गत स्थानीय तहमार्फत वास्तविक प्रभावितको तथ्यांक संकलन भइरहेको र त्यसका आधारमा संघीय तथा प्रदेश सरकारलाई राहत र पुनस्र्थापना प्याकेजका लागि समितिले सिफारिस गर्ने प्रजिअ अधिकारीले बताए ।

सिरहाका पाँच हजारभन्दा बढी घरमा पूर्ण क्षति
कमला नदी नियन्त्रण योजनाअन्तर्गत निर्माणाधीण संचरना कटान गरी कमलाको बाढी गाउँ पस्दा तल्लोतटीय क्षेत्र सिरहा सबैभन्दा बढी प्रभावित छ । अविरल वर्षासँगै आएको ठूलो बाढी निर्माणाधीन संरचना र ठाउँठाउँमा तटबन्ध भत्काएर गाउँ पस्दा कर्जन्हाको मरेवा, कल्याणपुरको इटारी प्रसाही, विष्णपुर डडौल, चतरी, भोक्राहा, निर्दना, भेडिया र सिरहा नगरका सारस्वर, बसबिट्टा, खरसल्वा, बडेर्वा, कठकोल्वा, गम्हरिया, पटेर्वालगायत गाउँ डुबानमा परेका थिए । जिल्लास्तरीय तथ्यांक तथा सूचना व्यवस्थापन उपसमितिका अनुसार जिल्लामा बाढी तथा डुबानले पाँच हजार तीन सय २६ घर पूर्ण र १० हजार एक सय ८९ घरमा आंशिक क्षति पुगेको छ । नयाँ पत्रीकाबाट

प्रतिक्रिया दिनुहोस्