Logo
|
Thursday 2nd May 2024
Logo

epaper

भरतपुरमा थालेसेमियाका ७८ बिरामी



भरतपुर अस्पतालमा थालेसेमियाका ७८ बिरामी नियमित उपचार गराइरहेका छन् । चिकित्कसका अनुसार विशेषगरी बालबालिकामा हुने यो रोग रगतको कमीले हुने गर्छ । यो रोग लागेका बिरामीलाई समयसमयमा रगत चढाइराख्नुपर्छ ।

थालेसेमिया लागेका बालबालिका औसतमा १४/१५ वर्ष मात्र बाँच्ने गरेको चिकित्सक बताउँछन् । भरतपुर अस्पतालका वालरोग विशेषज्ञ डा युवानिधि बसौलाका अनुसार यो रोग ६० प्रतिशत थारू, १८ प्रतिशत ब्राहृमण र बाँकी अन्य समुदायमा देखिएको छ । आठ बर्षअघि ३१ जनामा यो रोग देखिएकोमा हाल ७८ पुगेको उनले बताए । डा बसौलाले भने, ‘तीमध्ये १३ जनाको मृत्यु भइसकेको र चार जना नियमित उपचारमा नआएको देखिन्छ ।’

भरतपुर ८, गौरीगन्ज चितवनकी सुनिता घिमिरेकी छोरी २२ महिनाकी भइन् । उनकी छोरी ६ महिनाकी छँदा थालेसेमिया रोग देखापरेको हो । चितवनमा थालेसेमियाको पुष्टि गरिए पनि थप उपचारका लागि काठमाडौं गएपछि छोरीलाई यो रोग नै लागेको भन्ने यकिन भएको थियो । शरीरमा राम्रोसँग रक्तकोषको विकास हुन नसक्दा यो रोग देखापर्छ । यो रोगलाई अनुवांशिक असन्तुलनका रूपमा हेर्ने गरिन्छ ।

रोग लागेपछिको १६ महिनामा सुनिताकी छोरीलाई १४ पटक रगत चढाइसकिएको छ । ‘अस्पतालमा केहीले बच्चालाई रगत चढाएर आयु लम्ब्याइरहेका रहेछन्,’ उनले भनिन्, ‘आयु लम्ब्याउन भन्दा पनि उपचारको खोजी गर्न पाए हुनेजस्तो लाग्छ ।’ थालेसिमिया बिटा थालेसिमिया मेजर, इन्टरमिडियट र ट्रेट/क्यारियर हुन्छ ।

नेपालमा विशेषगरी बिटा थालेसिमिया मेजर बढी पाइएको छ । विशेष गरी ४ देखि ६ महिनामा यसका लक्षण देखिन्छ । यसमा हेमोग्लोबिन ७ भन्दा तल रहेको हुन्छ । रगत कम हुने हुँदा बिरामीलाई २ देखि ४ साताको फरकमा समय–समयमा रगत दिनुपर्ने हुन्छ । तराई क्षेत्रको ‘मलेरियन जोन’ मा बढी देखिएको यो रोग चितवनका आदिवासी थारू समुदायमा धेरै पाइएको छ ।

भरतपुर अस्पतालमा थालेसेमियाका बिरामीका लागि निःशुल्क रगतको व्यवस्था गरिएको छ । तर यसबाहेक अन्य सुविधा केही पनि छैन । बेल्जियममा रहेका नेपालीको संस्था चितवन सहायता कोष (क्याट) ले थालेसेमियाका बिरामीको उपचारका लागि सहयोग उपलब्ध गराउँदै आएको छ । संस्थाले उपलब्ध गराउने ९० हजार रकमले निःशुल्क रगतलाई सहज बनाएको छ ।

अहिलेसमम रगत चढाएरै आयु लम्ब्याउने काम भए पनि नियमित रगत चढाउनुलाई यसको उपचारको विकल्प सोच्न नहुने डा बसौला बताउँछन् । ‘हामीले अहिलेसम्म रगत चढाउनुलाई प्राथमिकता दिएका छौं,’ उनले भने , ‘तर दिगो उपचारका लागि आइरन चिलेटर औषधिको व्यवस्थातर्फ ध्यान दिन जरुरी छ ।’ भरतपुर अस्पतालमा यो औषधि उपलब्ध छैन ।कान्तिपुर दैनिक

प्रतिक्रिया दिनुहोस्