Logo
|
Thursday 2nd May 2024
Logo

epaper

डाबरका औषधिमा उच्च आर्सेनिक



झापाका ३६ वर्षे वेदप्रसाद शर्मा पेसाले कविराज हुन् । आयुर्वेदिक औषधिबारे आफैं जानकार छन् । करिब ४ वर्षअघि ढाड दुख्न थालेपछि उनले अर्का आयुर्वेदिक डा. सिद्धार्थ ठाकुरको सल्लाह लिए । अनि उनैको सल्लाहअनुसार शर्माले डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिहरू महायोगराज गुग्गुल, प्रवाल भष्म, महावाधिध्वंसन रस, वातगजांकुशरस, प्रवाल भष्म, बृहतवातचिन्तामणि रसलगायत औषधि सेवन गर्न थाले ।

कतिपय चिकित्सकले उनलाई शल्यक्रिया गर्नुपर्ने सल्लाह पनि दिएका थिए । तर डा. ठाकुरकै सल्लाहमा शर्माले डाबर इन्डिया लिमिटेडबाट उत्पादित ती औषधि सेवन गरे । औषधि सेवन गरेको केही दिनमा उनलाई हल्का सञ्चो भयो । निको भए जस्तो लागेपछि काममा फर्किए । दुई सातापछि ढाड दुख्ने समस्या फेरि बल्झियो ।

करिब ६/७ महिनासम्म निको हुँदा औषधि छाड्ने र बल्झिँदा खाने गर्न थालें,’ उनले भने, ‘त्यति गर्दा पनि समस्या समाधान नभएपछि काठमाडौंस्थित अन्नपूर्ण न्युरो अस्पतालमा शल्यक्रिया गराएँ । केही दिनपछि छाला कालो हुने, उप्किनेलगायत समस्या देखिए । न्युरो अस्पतालमा फलोअपमा जाँदा ढाडको समस्या निको भइसकेको थियो । तर छालाको समस्याले पिरोल्न थाल्यो ।’

विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत कारण पत्ता लागेन । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा देखाउँदा आर्सेनिकका कारण यस्तो समस्या भएको आशंका गरियो । योसँगै अन्य विभिन्न स्वास्थ्य समस्या पनि देखिन थाले । स्वास्थ्य स्थिति थप जटिल बन्दै गएपछि उनी भारतको भेलौरस्थित क्रिस्चियन मेडिकल कलेज (सीएमसी) गए । त्यहाँ जँचाउँदा शरीरमा अधिकतम ०.५ मिलिग्राम आर्सेनिक मात्रा हुनुपर्नेमा १ सय ९९ मिलिग्राम देखियो । पिसाबमा यसको मात्रा १ हजार १ सय ४२ मिलिग्राम थियो ।

विभिन्न किसिमका प्राविधिक परीक्षणपछि अस्पतालले उनको रोग ‘बोनम्यारो डिप्रेसन’ भएको पत्ता लगायो । यसका पछाडि आर्सेनिक विषाक्तता मुख्य कारण रहेको चिकित्सहरूको ठहर थियो । सीएमसीले बिरामीको चिकित्सा इतिहास केलाउने क्रममा डाबरको औषधि सेवन गरेको पत्ता लागेपछि ती औषधिको परीक्षण पनि गराएको थियो । परीक्षणबाट ती औषधिमा आर्सेनिक र हेभी मेटलको मात्रा अत्यधिक देखियो ।

‘मसँगै बंगलादेशका एक जना पनि आयुर्वेदिक औषधि खाएर आर्सेनिक विषाक्तताको मारमा परेका थिए । उनको त मृत्यु नै भयो,’ शर्माले भने, ‘अहिले आर्सेनिकको मात्रा कम गर्न महँगो औषधि खानुपर्ने बाध्यता छ ।’ केही दिनअघि शर्माले सीएमसीमा परीक्षण गराउँदा प्लेटेलेटसको मात्रा २५ हजार मात्र देखिएको उनले बताए ।

‘चिकित्सकहरूले यो मात्रा ८० हजार नपुगेसम्म शल्यक्रिया नगर्ने बताएका छन्,’ उनले भने । डाबर इन्डियाबाट उत्पादित आयुर्वेदिक औषधिका कारण आर्सेनिक विषाक्तता भएर ‘बोनम्यारोडिप्रेसन’ भएको दाबीसहित शर्माले सम्बद्घ निकायसँग क्षतिपूर्ति मागेका छन् ।

सीएमसीमा उपचाररत शर्माको केही दिनमा शल्यक्रिया हुँदै छ । ‘डाबर कम्पनीका केही औषधिका कारण दीर्घकालीन आर्सेनिक विषाक्तता भएर बोनम्यारो डिप्रेसन भएको हो,’ उनले कान्तिपुरसँग भने ।

शर्माले सेवन गरेको आयुर्वेदिक औषधिकै कारण बोनम्यारो डिप्रेसन भएको सीएमसीको चिकित्सा टोलीको पनि निष्कर्ष छ । शर्माले डाबरलाई कारबाही र आफूलाई क्षतिपूर्ति माग्दै केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र उपभोक्ता हित संरक्षण मञ्चमा पनि निवेदन दिएका थिए ।

सीआईबीले यसबारे उजुरी आएको जनाउँदै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागमा पत्र पठाएको छ । विभागबाटै कानुनअनुसार अनुसन्धान र कारबाही हुने भएकाले सबै जानकारी पठाइएको पत्रमा उल्लेख छ ।

‘सीआईबीमा उजुरी गरेपछि मैले प्रयोगशाला परीक्षणको प्रतिवेदन उपलब्ध गराएँ,’ शर्माले भने, ‘प्रहरीले समेत नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नास्ट) मा परीक्षण गरायो । सबैमा आर्सेनिक प्वाइजनिङ देखियो ।’

डाबर प्रतिनिधि अभय गोर्खाली भन्छन्–

डाबर इन्डियाको उत्पादनलाई नेपालमा लुना ट्रेडिङले बेच्ने गरेको छ । ती उत्पादनसँग डाबर नेपालको कानुनी रुपमा कुनै सरोकार छैन । डाबर इन्डियाका उल्लिखित औषधिलाई कसले, कहाँ, के परीक्षण गरायो, कुन रिपोर्ट ‘जेनरेट’ गर्‍यो, त्यसको जिम्मा डाबर नेपालले लिन सक्दैन । डाबर इन्डियाका ती औषधि खुवाउन नहुने खालको भए सरकार र औषधि व्यवस्था विभाग (डीडीए) ले किन बेच्ने अनुमति दिन्थे ?

ती सबै औषधि गुणस्तरयुक्तछन् । डीडीएको मापदण्डअनुरुपका सबै प्रक्रिया पूरागरेर ती औषधि बिक्रीवितरण भइरहेका छन् । औषधिमा आर्सेनिक र मर्करी अत्यधिक मात्रामा पाइएको आरोपसँग म सहमत छैन ।

आफू विशेषज्ञ भए पनि त्यही आयुर्वेदिक औषधिले जीवनमरणको दोसाँधमा पुर्‍याएको शर्माको दाबी छ । अन्यलाई समेत यस्तो नहोस् भनेर उजुरी दिएको उनी बताउँछन् । ‘यो अनुसन्धान गर्नैपर्ने विषय हो, हामीले पनि केही औषधि परीक्षण गर्न पठाएका छौं,’ विभागका महानिर्देशक पानबहादुर क्षेत्रीले भने ।

उनका अनुसार आयुर्वेदिक औषधिमा हेभी मेटल (आर्सेनिक, लिड, मर्करी, क्याडमियम आदि) बारे आयुर्वेदिक फर्माकोपिया भारत र विश्व स्वास्थ्य संगठनले मात्रा तोकेका छन् ।’ विभागका सम्बन्धित अधिकारीलाई शर्माले सेवन गरेका उत्पादन बजारबाट नमुना लिएर परीक्षण गर्नसमेत आग्रह गरिसकेको क्षेत्रीले जानकारी दिए ।

‘शर्माले उपयोग गर्ने औषधिहरूमा अधिकतम आर्सेनिकको मात्रा ३ पीपीएम हुनुपर्नेमा १ हजार ५ सय पीपीएमसम्म देखिएको छ,’ नेपाल फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष एवं उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले भने ।

भारतको सीएमसीसँगै नास्टमा गरिएको परीक्षणबाट समेत डाबरको औषधिमा आर्सेनिकको मात्रा निर्धारित लेभलभन्दा धेरै देखिएको छ,’ हुमागाईंले भने, ‘यो अति हो, यस्तो उच्च मात्रामा हेभी मेटल्स रहेको आयुर्वेदिक औषधि खाएर कति मरेका छन्, कतिका मिर्गौला फेल भए, कतिलाई क्यान्सर भयो, कति बोनम्यारो डिप्रेसनको सिकार भए, कुनै तथ्यांक छैन ।’

विभिन्न कम्पनीद्वारा निर्मित आयुर्वेद औषधिहरूमा स्वास्थ्यलाई जोखिम पार्ने मात्रामा आर्सेनिक, लिड, मर्करीलगायत हेभी मेटल पाइएपछि युरोप, अमेरिकालगायत मुलुकमा त्यस्ता केही औषधिमा प्रतिबन्ध लगाइएको उनले बताए । भारतमै पनि आयुर्वेदका केही औषधिमा पाइने हेभी मेटलका कारण ज्यान गइरहेको र स्वास्थ्यसम्बन्धी थप जोखिम उत्पन्न भएको विषयमा विभिन्न फोरममा चर्चा हुने गरेको उनको भनाइ छ ।

‘हर्बल भन्नेबित्तिकै सुरक्षित हुन्छ भन्ने छैन,’ उनले भने, ‘औषधि व्यवस्था विभागले उक्त औषधि नेपालमा बिक्रीवितरण गर्न अनुमति दिएकाले यसको जिम्मेवारीसमेत उसैले लिनुपर्छ । तर पीडितलाई न्याय माग्न जाँदा मुद्दा हाल्न सुझाएर फर्काइयो ।’ विभागले समस्या थाहा पाएकै दिन संवेदनशील भएर उक्त औषधि सुरक्षित छ वा छैन भन्ने जान्न परीक्षण गर्नुपर्ने हुमागाईंले बताए ।

विभागबाट अनुमति लिई डाबर नेपाल प्रालिले डाबर इन्डिया लिमिटेडबाट उत्पादित औषधि नेपाली बजारमा बिक्रीवितरण गरिरहेको छ । डाबर नेपालले लामो समयदेखि पैठारी, बिक्रीवितरण गरिरहेका औषधिमा महायोगराज गुग्गुल, बातगजांकुश रस, प्रवाल भष्म, एकांगविर रस, महावातविध्वंसन रस र बृहतवातचिन्तामणि रस छन् । भारत तथा नेपालमा गरिएको परीक्षणबाट यिनमा आर्सेनिक र मर्करीको मात्रा अधिक पाइएको छ ।

यस्ता आर्सेनिक, मर्करी, लिड र हेभी मेटल रहेका वस्तु औषधिका रूपमा नियमित सेवन गरे बिरामीमा विषाक्तता हुने र बोनम्यारो डिप्रेसन भएर प्लेटलेटसको उत्पादन हुन नसक्ने अवस्था आउने, रगतमा प्लेटेलेटसको अभाव भई ज्यान जान सक्ने, रगतको क्यान्सरलगायत विभिन्न समस्या हुन सक्ने उपभोक्ता मञ्चको दाबी छ ।

आयुर्वेदिक चिकित्सक डा. ठाकुरले आफूले नै शर्मालाई औषधि सिफारिस गरेको र तीन सातामा उनको समस्यामा राम्रो सुधार भएको बताए । भेलौरमा परीक्षण गराउँदा शर्माले सेवन गरेको आयुर्वेदिक औषधिमा गह्रौं धातु देखिएको उनको भनाइ छ ।

बजारबाट औषधि हटाउन माग

फार्मेसी काउन्सिलका पूर्वअध्यक्ष एवं उपभोक्ता हित संरक्षण मञ्चका महासचिव बाबुराम हुमागाईंले डाबरका औषधि परीक्षण गरेर आर्सेनिक र हेभी मेटलको मात्रा बढी देखिए औषधि व्यवस्था विभागले तुरुन्त बजारबाट हटाउनुपर्ने माग गरेका छन् ।

परीक्षणका क्रममा समेत यी औषधिको प्रयोग रोक्नुपर्ने उनको भनाइ छ । नास्ट र भारतस्थित विभिन्न प्रयोगशालाबाट यी औषधिमा निर्धारित मात्राभन्दा धेरै बढी आर्सेनिक र हेभी मेटल देखिएकाले तत्काल यस्ता औषधिको उपयोग नगर्न एडभाइजरी जारी गर्न सकिने उनी बताउँछन् । ‘विभागले अनुमति दिएर नेपालमा उपयोगमा रहेका औषधिको प्रभावकारिताबारे हाम्रो चासो छ,’ उनले भने
।कान्तिपुरदैनिकबाट

प्रतिक्रिया दिनुहोस्