Logo
|
Sunday 22nd December 2024
Logo

epaper

के हो अर्थोडोन्टिक उपचार पद्धति ?



दाँतमा तार बाँध्नु वा ब्रेसेज लगाउनुलाई अर्थोडोन्टिक उपचार यो दाँतसम्बन्धी उपचार पद्धति हो । यसको माध्यमले बांगोटिंगो र नमिलेको दाँतको उपचार गरिन्छ । साथै, अनुहारको हड्डीको समस्याको रोकथाम र उपचारसमेत गरिन्छ । बांगोटिंगो वा नमिलेको दाँत बाहिरबाटैै देखिने गर्छ । दाँतको बीचमा खाली ठाउँ हुनु, माथिको दाँत भित्र जाने (सामान्य अवस्थामा तलको दाँत भित्र र माथिको बाहिर हुने गर्छ), हड्डीभित्रै रहने, अनुहारको हड्डी बढ्ने तथा अनुपात नमिलेर सुन्दर नदेखिनेजस्ता समस्या हुन्छन् ।

अर्थोडोन्टिक समस्याका कारण

  •  अधिकांशमा वंशाणुगत गुणका कारण दाँत बांगोटिंगो हुने गर्छ । त्यस्तै, गर्भावस्थामा कुपोषण, सरुवा रोग, हार्मोनल असन्तुलन, दुर्घटना आदि हुँदा पनि बच्चामा जन्मजात अर्थोडोन्टिकको समस्या हुन सक्छ ।
  •  बच्चाहरूमा औंला  चुसिरहने बानी, जिब्रो बाहिर भित्र ल्याउने र अन्य चोटपटकबाट पनि अर्थोडोन्टिकको समस्या हुन सक्छ ।
  •  दाँत झर्ने तथा उम्रने समयमा बढी अन्तर भएमा, दाँत र गिजासम्बन्धी रोग लागेमा, कुपोषण, दाँतको संख्यामा तलमाथि हुँदासमेत दाँत बांगोटिंगो हुने गर्छ ।

यसकारण आवश्यक छ उपचार

  •  पछिल्लो समय नमिलेको तथा बांगोटिंगो दाँतको उपचार गराउनेको संख्या बढेको छ । जुन आवश्यक पनि हुन्छ, बांगो दात भएमा सफा गर्न गाह्रो हुने, दाँतमा किरा लाग्ने, गिजामा समस्या हुने तथा उछिट्टिएको दाँतमा चोटपटक लाग्ने डर रहन्छ ।
  •  त्यस्तै, खाना चपाउन र बोल्न गाह्रो हुने र अनुहार असुहाउँदो देखिनेजस्ता समस्या हुन्छन् । यसको समाधानका लागि अर्थोडोन्टिक उपचारको आवश्यकता पर्छ ।
  • दाँत बांगोटिंगो भएमा सफा गर्न गाह्रो हुने, किरा लाग्ने, गिजामा समस्या हुने तथा उछिट्टिएको दाँतमा चोटपटक लाग्ने डर हुन्छ ।

उपचार विधि

  •  दाँतको प्रकृति हेरेर त्यहाँ रिमुभेबल र फिक्स्ड ब्रेसेज राखेर उपचार गरिन्छ । विशेषगरी, फिक्स्ड भित्र मेटलको ब्रेसेज, दाँतको रङ कम देखिने सेरामिक ब्रेसेज, दाँतको पछाडिबाट राखिने लिंगुअल ब्रेसेजको प्रयोग गरेर उपचार गर्न सकिन्छ । यदि, दाँत धेरै नै बांगोटिंगो भएमा अर्थोग्न्याथिक सर्जरी गर्नुपर्ने हुन्छ ।
  •  पछिल्लो समय नेपालमा एलाइनर पद्धतिबाट पनि उपचार गरिन्छ । ब्रेसेजको प्रयोग नगरिने भएकाले अरू उपचार विधिभन्दा यो निकै सजिलो हुन्छ । खानेकुरा अड्किने डर हुँदैन, बाहिर देखिँदैन, सुरुकोे अवस्थाको दाँत हेरेर उपचार पछि कस्तो हुन्छ भनेर थाहा पाउन सकिन्छ । अन्य उपचारजस्तो समय–समयमा चिकित्सकलाई भेटिरहनुपर्ने पनि हुँदैन । दाँतलाई स्क्यान गरेर उपचार गरिने भएकाले एलाइनर उपचार पद्धति प्रभावकारी हुन्छ । तर, यो विधि अन्यको तुलनामा महँगो पर्छ ।
  • सम्बन्धित विशेषज्ञसँग मात्रै अर्थोडोन्टिक उपचार गराउनुपर्छ । दाँतको अवस्थाको परीक्षण गरेर एक्सरे, दाँतको नाप, मुखबाहिर र भित्रका तस्बिर लिएर दाँतको जटिलताको आधारमा उपचार सुरु गरिन्छ ।
  •  यदि, बच्चैदेखि अनुहारको हड्डीमा र दाँतमा समस्या भएमा ९ देखि १३ वर्षसम्मको उमेरमा उपचार गराउनुपर्छ । दाँतको प्रकृति हेरेर उपचारको अवधि १ देखि २ वर्षसम्म लाग्छ ।

 

प्रतिक्रिया दिनुहोस्