Logo
|
Tuesday 7th May 2024
Logo

epaper

त्रिवि शिक्षण अस्पतालमा सेवाग्राहीलाई सास्ती !



जनस्वास्थ्य सरोकार,काठमाडौं :  महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको क्लिनिकल प्रशासनमा सोमबार सेवाग्राहीको घुइँचो लाग्यो। चिकित्सक र कर्मचारीको व्यवहारबाट उपचार गराउन आएका बिरामी र उनीहरूका आफन्त पीडित थिए। अधिकांश गुनासो गर्थे। कोही आक्रोश पोख्थे।

बिरामीका आफन्तलाई सम्झाइबुझाइ गर्न क्लिनिकल प्रशासनका उपनियन्त्रक रामविक्रम अधिकारीलाई भ्याइनभ्याइ थियो। उनी सेवाग्राहीको गुनासो समाधान गर्न प्रयासरत देखिन्थे। ‘मलाई मात्र सुनाएर के गर्नुहुन्छ ? म सुन्ने मात्र हो। बोकाले दाइँ गर्न सक्दैन। समाधानका लागि डाइरेक्टर साबलाई पनि सुनाउनु होला।’ उनले अस्पतालको बेथिति सुनाउने सेवाग्राहीसँग बताए। कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गा बिदामा बसेकाले गुनासो सुनाउन नपाएकोमा उनले दुःखेसो पोखे।

देशका ठूलो अस्पतालमध्ये प्रमुख मानिने शिक्षण अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीको व्यवहारले पीडित भएको बिरामीका आफन्तको गुनासो छ। पत्नीलाई उपचार गर्न आएका बनस्थलीका सूर्य घिमिरे हड्डी तथा नशा रोग (अर्थोपेडिक) विभागका चिकित्सकले जथाभावी परीक्षण गर्न लगाएको गुनासो गर्दै थिए। पत्नीको ढाडसम्बन्धी समस्याको उपचार गर्न आएका घिमिरेले दुई महिना नपुग्दै दुईपटक एमआरआई गर्न लगाएको गुनासो पोखे। ‘एक महिनाअघि एमआरआई गरेकै हो, हेर्नुस् भनेपछि भइहाल्यो नि। एक्सरे मात्रै गर्नुस् भन्ने सल्लाह दिए। डाक्टरमा संवेदनशीलता पाइन्। दर्तामा बसेका कर्मचारीलाई सोध्दा झर्कोफर्को गर्छन्। गाउँबाट आएका बिरामीलाई झन् कति सास्ती हुँदो हो,’ उनले गुनासो पोखे।

घिमिरेले गुनासो गरिरहेका बेला कोठामा छिरे, झापा तोपगाछीका तीर्थ भण्डारी। उनले भने, ‘डाक्टरले दुई घण्टामा रगतको रिपोर्ट ल्याउनु भनेको छ। रगतको जाँच किन हुँदैन ? बेवास्ता गर्छन्। यताबाट उता पन्छाउँछन्।’ सोमबार भएका यी घटना प्रतिनिधिमूलक हुन्। यस्ता गुनासा गर्ने बिरामीको संख्या दिनहुँजसो हुने गरेको छ। चिकित्सक एवं कर्मचारीको व्यवहारले बिरामीको बेथा आधा निको हुने बताइन्छ। तर ठीक उल्टो व्यवहार हुन थालेपछि उपचार छाडेर उजुरी गर्ने क्रम बढेको छ। अस्पतालको बहिरंग विभागमा (ओपीडी )मा दैनिक करिब २ हजार बिरामी आउँछन्।

अस्पतालले बिरामीका उजुरी सुनुवाइका लागि राखेको सुझाव पेटिकाको अहिले अत्तोपत्तो छैन। बिरामीका आफन्तको मौखिक उजुरी सुन्ने र समाधानको प्रयास भइरहेको उपनियन्त्रक अधिकारीको भनाइ छ। यस्तै अवस्था वीर अस्पतालको पनि छ। उपचार नपाएको, इमरजेन्सीमा भर्ना गर्न नमानेको र पकेट मारिएको जस्ता उजुरी लिएर गुनासो गर्ने धेरै छन्। अस्पतालको एउटा सिटीस्क्यान मेसिन बिग्रेको छ। निर्देशक डा. केदार सेन्चुरी भन्छन्, ‘आज जँचाएका बिरामीलाई उसै दिन रिपोर्ट दिन पाइएको छैन। गुनासो त दिनहुँ आइहाल्छ। अस्पतालमा सुधार गर्नुपर्ने धेरै काम छन्।’

नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. भगवान कोइराला बिरामीप्रति चिकित्सकमा सेवाभाव हुनुपर्ने बताउँछन्। ‘चिकित्सक र अस्पतालबाट उचित व्यवहार होस् भन्ने अपेक्षा बिरामीले गर्नु स्वाभाविक हो। सेवा दिने ठाउँमा बस्ने व्यक्तिमा सेवाभाव झल्कनु पर्छ,’ उनले भने।अन्नपुर्णपोष्टबाट

प्रतिक्रिया दिनुहोस्