Logo
|
Friday 29th March 2024
Logo

epaper

किन हुन्छ ब्लड प्रेसर लो ?



जनस्वास्थ्य सरोकार, काठमाडौँ । हामी सबैलाई थाहा भएकै कुरा हो, हाम्रो शरीरभरी रगत सञ्चार हुने गर्दछ । रगत सञ्चार गर्न मुटुको महत्वपुर्ण भुमिका रहन्छ । मुटुले नै शरीरका हरेक भागमा रगत पुर्याउने काम गर्छ । रक्तसञ्चार हुँदा मुटु खुम्चने र फुक्ने हुन्छ । सामान्य भाषामा रक्तचाप भनेको रगतले नशाहरुलाई दिने दवाव भन्ने बुझिन्छ । मुटु खुँम्चिदा दिएको दवावलाई सिस्टोलिक रक्तचाप र मुटु फैलिदा हुने दवावलाई डायस्टोलिक रक्तचाप भनिन्छ । माथिको सस्टोलिक रक्तचाप सय देखि १ सय ४० र तलको डायस्टोलिक रक्तचाप ६० देखि ९० को बिचमा छ भने त्यसलाई सामान्य रक्तचाप मानिन्छ । यदि सिस्टोलिक रक्तचाप ९० भन्दा कम र डायस्टोलिक रक्तचाप ६० भन्दा कम भयो भने त्यसलाई न्युनरक्तचाप भनिन्छ ।
कारण
विशेषगरी महिलाहरुमा गर्भवती भएको बेला, महिनावरीको समयमा, हार्मोनल समस्या जस्तै, थायराइड, मधुमेह, मुटु तथा फोक्सोको समस्या, शरीरबाट धेरै रगत बगेमा, ज्वरो आएमा, वान्ता भएमा, शरीरमा किटाणुको संक्रमण तथा झाडापखाला लागेमा, सोडियम र भिटामिनको कमी भएमा, शरीरमा पानीको मात्रा कम हँुदा, अत्याधिक मध्यपान आदि विविध कारण न्युन रक्तचाप हुने गरेको पाइन्छ ।
लक्षण
आँखा धमिलो देख्नु वा कमजोर हुनु, शरीर छिटै थाक्नु, टाउको निकै भारी हुनु, शरीर चिसो हुनु, गरेको काम विर्सिनु, तिर्खा धेरै लाग्नु, बढी निन्द्रा लाग्ने, झर्को लाग्ने, मानसिक चिन्ता बढ्ने आदी न्युन रक्तचापका मुख्य लक्षणहरु हुन् ।
ब्लडप्रेसर कम भए के गर्ने ?
न्युनरक्तचाप भएको थाहा पाउने बित्तिकै नुन कागती र पानी पिउनुपर्छ । दैनिक गाँजरको जुस सेवन गर्नुपर्छ । पानी धेरै पिउनुपर्छ । दुधमा बदाम मिसाएर खान सकिन्छ । थोरै थोरै खानेकुरा समयसमयमा खाइरहनुपर्छ । भिटामिनयुक्त खानेकुरा सेवन गर्नुपर्छ । चिल्लोपिरो कम खाने, धुम्रपान नगर्ने, नुनबिनाको सादा खाना नखाने आदि कुराहरुमा ध्यान पुर्याउन सकेमा न्युनरक्तचापबाट बच्न सकिन्छ ।
जीवनशैलीमा परिवर्तन गर्नुपर्ने कुराहरु
दैनिक व्यायाम गर्ने बानी बसाल्नुपर्छ । धुम्रपान र मध्यपान त्याग्नुपर्छ । बसेको बेला खुट्टा बाँधेर बस्ने र मधुमेह रोगीले बसेको ठाउँबाट अचानक जुरुक्क उठ्नुहुँदैन् ।
(डा. रोशन भण्डारी जनरल फिजिसियन हुन् । )

प्रतिक्रिया दिनुहोस्