Logo
|
Friday 29th March 2024
Logo

epaper

सन्तान चाहानुहुन्छ ? यस्ता छन् गर्भधारणका अत्याधुनिक प्रविधि




विवाह पश्चात हरेक दम्पत्तिको चाहाना हुन्छ कि उनीहरुको परिवारमा बच्चाको हाँसो गुञ्जियोस् । विवाह भएको केहि समय सम्म सन्तान भएन भने परिवार, इष्टमित्र र आफन्तबाट सन्तान किन भएन ? कसरी भएन ? कि नहुने पो हो कि ? आदि प्रश्नहरु आउने गर्दछन् । श्रीमान श्रीमतीको चाहानाले नै ढिला गरेको भए त यस्ता प्रश्न सामान्य लाग्ला तर चाहाँदा चाहाँदै पनि सन्तान नभएको हो भने यस्ता प्रश्नले ती दम्पत्तीलाई झन् तनाव सृजना गर्ने गर्दछ ।
नि–सन्तान भनेको के हो ?
नि–सन्तान भनेको परिवार नियोजनको कुनै पनि साधन या तरिका नअपनाई नियमित शारीरिक सम्पर्क पश्चात पनि एक वर्ष भित्रमा गर्भधारण हुन नसकेको अवस्थालाई जनाउँछ । गर्भधारण नहुनुमा श्रीमान र श्रीमती दुवैको समान भूमिका रहन्छ ।

श्रीमानमा हुन सक्ने कमजोरीहरु
-विर्यमा शुक्राणु संख्या वा गतिमा कमी
-विर्यमा शुक्राणु नबन्ने
-विर्यमा संक्रमण हुने
-शुक्राणुको बनावटमा खराबी
-हर्मोनमा गडबढी
-पुरुषको कुनै कारणवस सहवास प्रकृयामा असमर्थता ।
श्रीमतीमा हुन सक्ने कमजोरीहरु
-अण्डाशयमा अण्डा नबन्ने अथवा थुप्रै स–साना डिम्व बन्ने तर कुनै पनि डिम्व नबढ्ने
-पाठेघरको नली बन्द भएमा । नलीमा पिप जम्नु या पानी जम्नु या नलीले अण्डा पक्डिने काम नगर्नु
-पाठेघरको झिल्ली क्षयरोग अथवा अन्य कुनै कारणले पातलो हुनु
-हर्मोनमा गडवडी

के के परीक्षण गर्नु पर्दछ ?
-महिनावारी भएको दोश्रो या तेश्रो दिनमा हार्मोनको परीक्षण
-रगतको सामान्य जाँच
-भित्री अल्ट्रसाउण्डद्धारा अण्डा जाँच ।
-दूरवीन प्रविधिद्धारा पाठेघरको भित्री भाग तथा नलीको जाँच ।
-एच.एस.जी वा एस.एस.जीबाट नलीको जाँच ।

उपचार विधि
सामान्यतयाः ८५ प्रतिशत निःसन्तान दम्पत्ति सामान्य उपचारबाट नै सन्तान प्राप्त गर्न सफल हुन्छन् । दश देखि पन्ध्र प्रतिशत दम्पत्तिलाई मात्र एडभान्स उपचार जस्तै टेष्ट ट्युव वेवीको आवश्यकता पर्दछ ।

मिसन एण्ड एम्व्रियो बैंक
साधारण तरिका यस प्रविधिमा महिनावारी भएको तेश्रो दिनबाट अण्डा बन्ने औषधी दिएर महिनावारी भएको नौ दिनबाट टि.एस.भी विधिबाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई भने हर्मोनको इन्जेक्सन पनि दिनु पर्ने हुन सक्छ । अण्डा फुटेपछि प्राकृतिक सहवासको सल्लाह दिइन्छ र यसबाट गर्भाधारण गर्ने अवसर बढ्न जान्छ ।
आइ.यु.आई. प्रविधि
यस प्रविधिमा महिनावारी भएको दोश्रो दिनबाट अण्डा बन्ने औषधी दिएर महिनावारी भएको नौ दिनबाट टि.भि.एस.बाट अण्डा बनेको गतिविधि हेरिन्छ । कसैकसैलाई हार्मोनको इन्जेक्सन पनि दिनु पर्ने हुन्छ । महिनावारी भएको चौध पन्ध्र दिनमा जब अण्डा फुट्छ तव श्रीमानको विर्य संकलन गरी विर्यलाई मिडियामा वास गरेर मसिनो नलीको माध्यमबाट श्रीमतीको पाठेघरमा राखिन्छ । यो प्रकृया पिडादायक हुँदैन । यो विधि अपनाउँदा अस्पतालमा भर्ना हुनुपर्दैन ।
प्रकार
आई.यु.आई दुई प्रकारका हुन्छन् । श्रीमानको विर्यद्धारा र दाताको विर्यद्धारा । यो प्रविधि श्रीमानको विर्य संख्यामा भारी कमी या शुक्राणुको अभाव भएको अवस्थामा अपनाइन्छ । श्रीमान र श्रीमती दुवैको सहमतीमा दाताको शुक्राणु लिएर गरिन्छ । आइ. यु.आई प्रविधिको लागि महिलाको कमसेकम एउटा नली भए पनि खुल्ला हुनुपर्छ । साथै पाठेघरको झिल्ली पनि स्वस्थ हुनुपर्छ ।

टेष्ट ट्युव वेवी
यो कृत्रिम गर्भाधानको एक जटिल विधि हो । महिनावारी भएको दोश्रो दिनबाट दैनिक अण्डा बन्ने सुई लगाइन्छ । अण्डा तयार भएपछि एस.सि.जी इन्जेक्सन लगाइन्छ । त्यसको ३६ घण्टा पछि महिलालाई बेहोस गराएर टि.भि.एस पद्दतिबाट अण्डा निकालिन्छ । अण्डा निकाल्न चिरफार गनुपर्दैन् । अण्डा निकालिसकेपछि तीन चार घण्टा आराम गरेर घर फर्कन सकिन्छ । श्रीमतीको अण्डा र श्रीमानको शुक्रकिटलाई प्रयोगशालामा फर्टिलाइज गरेको ४८ घण्टा पछि भ्रुण तयार हुन्छ । भ्रुण तयार भइसकेपछि नलीको माध्यमबाट पुनः गर्भाशयमा प्रत्यारोपण गरिन्छ । गर्भाशयमा प्रत्यारोपण गरिएको भ्रुण गर्भमा सामान्य तरिकाले बृद्धि हुँदै जान्छ र बच्चाले जन्म लिन्छ ।

इन्ट्रसाइटोप्लाज्मिक स्पर्म इन्जेक्सन
यो प्रविधिमा अत्याधुनिक यन्त्रको सहायताले पुरुषको शुक्राणु इन्जेक्सनद्धारा सिधै डिम्वमा छिराइन्छ । त्यसपछि भ्रण तयार हुन्छ । तयार भएको भ्रुणलाई श्रीमतीको गर्भाशयमा प्रत्यारोपण गरिन्छ । विर्यमा शुक्राणु नभएको तर विजकोषमा शुक्राणु बनिरहेको छ भने विजकोषबाट शुक्राणु संकलन गरि प्रयोगमा ल्याउने प्रविधिलाई टेसा भनिन्छ । शुक्राणुको संख्या र क्रियाशिलतामा कमी साथै पहिले गर्भाधारण असफल भएको अवस्थामा यो प्रविधि अपनाइन्छ ।
(प्रसुति तथा स्त्री रोग एवं आईभिएफ विशेषज्ञ डा. श्रेष्ठ चावहिलस्थित ॐ हस्पिटलमा कार्यरत हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्