Logo
|
Monday 6th May 2024
Logo

epaper

भैरहवास्थित भिम अस्पतालको मुहार फेरिँदैः हेलिप्याडसहित सुविधासम्पन्न नयाँ भवन बन्ने

अस्पतालको नयाँ गुरुयोजना तयार



जनस्वास्थ्य सरोकार, भैरहवा । सन् १९९० सालमा तीन शैयाबाट संचालनमा आएको रुपन्देहीकै जेठो भीम अस्पतालको मुहार फेरिने भएको छ । हेलिप्याडको सुविधासहित विभिन्न विशेषज्ञ सेवा प्रदान गर्ने उद्देश्यले अस्पतालको नयाँ भवन निर्माण हुने भएको छ।

भीम अस्पताल भैरहवाले  गरेको छ । नयाँ गुरुयोजनाको डिपिआर प्रदेश ५ सरकारले स्वीकृत गरेको छ । प्रदेशका सामाजिक विकासमन्त्री सुदर्शन बराललाई गुरुयोजना हस्तान्तरण गर्दै अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. नविन दर्नालले अब अस्पतालको मुहार फेरिने बताए ।

गुरुयोजना अनुसार हेलिप्याडसहित अस्पतालको मुख्य भवनमा एक सय बेड रहनेछन् । मुख्य भवन तीन तलाको हुनेछ । त्यस्तै २५ शैयाको छुट्टै प्रसूति गृह पनि निर्माण गरिनेछ । गुरुयोजनाअनुसार संरचना बनाउन ३६ करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ ।

यस्तै, आकस्मिक कक्ष, बच्चाको लागि एनआईसीयू, पेड्रियाट्रीक वार्ड, सर्जरी वार्ड, मेडिकल वार्डलगायतका संरचना रहनेछन् । अस्पतालको बाहिरपट्टी ल्याण्डस्केपमा पार्किङका साथै छुट्टै ग्रिनरी पार्क निर्माण समेत निर्माण हुने अस्पतालका सूचना अधिकारी गोपाल उपाध्यायले बताए ।

उनक अनुसार अस्पतालमा सबै प्रकारका विशेषज्ञ सेवा उपलब्ध गराउनका लागि अस्पताल विकास समितिले अत्याधुनिक भवनको डिजाइनसहितको गुरुयोजना बनाएको हो ।

गुरुयोजनाअनुसार अब एक महिनाभित्रै डिपिआर तयार गरिने अस्पतालका मेडिकल सुपरीटेण्डेण्ट डा. दर्नालले बताए । ‘गुरुयोजनाअनुसार संरचना बनेपछि यो अत्याधुनिक र नमूना अस्पताल बन्नेछ,’ उनले भने, ‘बिरामीले यहीबाट विशेषज्ञ सेवा सहितको उपचार पाउनेछन ।’

उनले भवन निर्माणको लागि सम्भवत अगामी महिनामा टेण्डर आह्वान गरिने बताए । डिपिआर तयार भएपछि प्रदेश सरकारले यसै आर्थिक वर्षमा टेण्डर आह्वान गर्नेछ । निर्माणका लागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले बजेटको प्रबन्ध गर्नेछ ।

प्रदेश सरकारले केही दिनअघि लुम्बिनी प्रादेशिक अस्पतालको प्रारम्भिक गुरुयोजना सार्वजनिक गरेको थियो । प्रदेश सरकारले विभिन्न जिल्लाका सरकारी अस्पतालको गुरुयोजना बनाएर स्तरवृद्धि गर्ने काम अगाडि बढाएको छ ।

१९९० सालमा तीन शैयाबाट संचालनमा आएको भीम अस्पताल २०३५ सालमा १५, २०४१ मा २५ शैयाको स्वीकृती पाएको थियो । एक सय शैयाको अस्पतालको रुपमा सरकारले घोषणा गरे पनि हाल २५ शैयाको स्वीकृत प्राप्तको बाबजुद सोही दरबन्दी अनुसार ६० बेडमा सञ्चालित छ ।

भीम अस्पतालले हाल ओपिडी सेवा, आकस्मिक, अन्तरंगमा प्रसुती र सामान्य चिकित्सा सेवा, मातृ शिशु सेवा, प्रयोगशाला, एक्सरे, ईसिजी, डट्स उपचार, कृष्ठरोग उपचार सेवा, यूएसजी सेवा र एआरटी सेवा दिंदै आएको सूचना अधिकारी उपाध्यायले जानकारी दिए ।अन्नपूर्णपोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्