Logo
|
Saturday 18th May 2024
Logo

epaper

पोषण अध्ययन गरेका डायटिसियनहरुबीच संभावना र चुनौतिबारे धरानमा छलफल

न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिल स्थापना गर्न नेपाल सरकार उदासिन



नेपाल हेल्थ न्युज, धरान । पोषण अध्ययन गरेका डायटिसियनहरुबीच संभावना र चुनौतिबारे छलफल भएको छ । योर डायटिसियन नामक संस्थाद्धारा धरानको ड्रिमल्याण्ड होटलमा हालै आयोजना गरिएको एक दिवसीय सेमिनार कार्यक्रममा करिब ४ दर्जनभन्दा बढी डायटिसियन र सम्बन्धित क्षेत्रका विज्ञहरुबीच छलफल भएको थियो ।

सो छलफल कार्यक्रममा डायटिसियन अध्ययन सकेकाहरुलाई विभिन्न सेक्टरका डायटिसियन, डाक्टर, आइएनजिओ, पब्लिक हेल्थ र सरकारी निकायका पदाधिकारीहरुलाई एकैथलोमा ल्याएर संभावना र चुनौतिबारे छलफल भएको छ । समाज किन अघि बढ्न सकेको छैन ? कसरी अघि बढ्न सकिन्छ ? भन्नेबारे वृहत छलफल गरिएको छ । डायटिसियन व्यवसायिक र सेवामुलक कार्य भएपनि यसको मुल उद्देश्य पनि योर डायटिसियन कनेक्ट वीथ क्वालिफाइड डायटिसियन भन्ने मुल मन्त्र रहेको योर डायटिसियनका सञ्चालक मोथनाथ पौडेलले बताउनुभयो ।

हाल नेपालमा देश तथा विदेशबाट अध्ययन गरी आएका ३०० भन्दा बढी संख्यामा डायटिसियनहरु रहेका छन् । उनीहरुले न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिल स्थापनाको माग राखेका छन् । यस मामिलामा नेपाल सरकार उदासिन छ । बजारमा डाइट सप्लिमेन्ट (न्युट्रास्युटिकल) हरु डायटिसियनको बिना सिफारिस जनसमुदायले सेवन गर्दा यसले पर्ने नकारात्मक असर प्रति सम्पूर्ण डायटिसियनहरुको गम्भीर ध्यानाकर्षण भएको छ ।

देशमा चाँडै छुट्टै न्युट्रेसन एण्ड डाइटेटिक्स काउन्सिल हुनुपर्छ भन्दै यसै साता कोशी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक ज्ञानबहादुर बस्नेतलाई ४२ जनाले हस्ताक्षर गरी ज्ञापन पत्र बुझाउनुभएको छ ।

उक्त अभियानलाई अन्य क्षेत्रका वक्ताहरुले समेत एकयवद्धता जनाउनुभएको छ । एक्यवद्धता जनाउनेहरुमा इन्दु नेपाल योञ्जन (उपाध्यक्ष) नेपाल स्वास्थ्य सेवा व्यवस्थापन संघ, डा. विनम श्रेष्ठ (युवा चिकित्सक), अनिल देव (वरिष्ठ जनस्वास्थ्य अधिकृत मोरड जिल्ला) प्रा.डा. धनबहादुर कार्की (वरिष्ठ खाद्य विज्ञ)समेत हुनुुहुन्छ । उक्त कार्यक्रममा पुर्वका डायटिसियनहरु सिल्पी बिक्रम, मोदनाथ पौडेल, मन्दिरा खड्का, सेजल खड्का, सजना श्रेष्ठलगायतले डायटिसियनले निभाउनुपर्ने भूमिकाबारे बोल्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्