Logo
|
Sunday 22nd December 2024
Logo

epaper

क्रोनिक मिर्गौला रोग: १० जनामध्ये एकजनाको मिर्गौला विफल



मिर्गौला रोग विश्वव्यापी समस्याको रुपमा बढ्दै गएको छ । यो रोगले हाम्रो देशका प्रधानमन्त्रीदेखि सर्वसधारणसम्म कसैलाई पनि छोडेको छैन । यद्यपी विश्व मिर्गौला दिवस २०२० मा मिर्गौलाको रोकथाम र उपचारको पहुँचलाई बढी जोड दिइएको छ । 

क्रोनिक मिर्गौला रोगका कारण १० जनामध्ये एकजनाको मिर्गौला विफल हुने गरेको इन्टरनेशनल फेडरेसन अफ किड्नी फाउन्डेसनको तथ्यांक रहेको छ । द इन्टरनेशनल सोसाइटी अफ नेफ्रोलोजी र द इन्तरनशेनल फेडरेसन अफ किड्नी फाउन्डेसनको अगुवाइमा विश्वभर विश्वम मिर्गौला दिवस मनाइँदै आएको छ ।
मिर्गौला फेल हुन शुरु भएको धेरै वर्षपछि मात्र लक्षण देखिन थाल्छ । मिर्गौलाको समस्याका कारण बिरामीलाई गाह्रो महसुस गर्न बर्षौ लाग्छ ।

एक्युट मिर्गौला फेलमा बिरामीलाई तत्काल समस्या हुनसक्ने निदान अस्पतालका वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. अनिल बराल बताउनुहुन्छ । तर क्रोनिक मिर्गौला रोगमा वर्षौपछि मात्र ज्यानलाई खतरा हुन्छ । शुरुमा लक्षण नदेखिने कारण मिर्गौलाका बिरामीहरु समयमा अस्पताल आउँदैनन् ।

यो बेलासम्म ९०—९५ प्रतिशत मिर्गौला फेल भइसकेको हुन्छ । वर्षेनी मिर्गौला जाँच गरेर, आफूलाई संयमित जीवनशैलीमा राख्न सकेमा एउटा मिर्गौला भएमा पनि कुनै समस्या नहुने डा. बरालको भनाइ छ । यो रोग के हो ? कसरी हुन्छ ? र यसबाट बच्न के गर्नुपर्छ ?
जन्मजात रोग
आमाको पेटमा भ्रूणको विकास हुने क्रममा मिर्गौलामा खराबी आउनसक्छ । जस्तो—दुईवटा मिर्गौला बन्नुपर्नेमा एउटा बन्ने, दुवै मिर्गौला जोडिएर एब्नर्मल हुने, दुई तीन वटा नली हुने अथवा कसैको नली नै नहुने, मिर्गौला खुम्चिएर रगतको नशा साँघुरो भएर काम नगर्ने, पिसाबको थैलीमा जम्मा भएको पिसाब फर्किएर फेरि मिर्गौलामा पुग्ने, पुरुषको लिंगको माथिल्लो भागको छाला पछाडि नफर्किने, पोस्टेरियर युरेथ्रल भल्ब (पिसाबको नलीको पछाडि भल्व ) ले पनि अब्स्ट्रक्टिव युरोप्याथी गराउँछ । सिस्टिक डिजिज ( मिर्गौलामा पानीको फोका) ले पनि मिर्गौलालाई फेल गराउनसक्छ । यसले बच्चा अवस्थामा मिर्गौलालाई असर नगरे पनि ४०—४५ वर्षको उमेरमा मिर्गौला फेल हुनसक्छ ।

जन्मपछिका रोग (एक्वायर्ड डिजिज)
मधुमेह (डायबिटिज) र उच्चरक्तचाप
यसले मिर्गौलालाई चाँडै फेल गराउनसक्छ । तर यसलाई नियन्त्रणमा राख्न सकेमा मिर्गौलालाई जोगाउन सकिन्छ । अविकसित र अल्पविकसित देशहरुमा मिर्गौलालाई समस्या पार्ने समस्याहरुमध्ये मधुमेह र उच्चरक्तचाप पनि हुन् ।
ग्लोमेरुलस नेफ्राइटिस
ग्लोमेरुलस नेफ्राइटिस भनेको मिर्गौलाको पिसाब फिल्टर गर्ने अंगको आन्तरिक रोग हो । यो विभिन्न बाथ रोग, हेपाटाईटिस बी जस्ता भाइरसहरुको संक्रमणबाट हुनसक्छ । तर इडियोप्याथी (बिना कारण मिर्गौला भित्र) बाट पनि हुनसक्छ । यस्ता रोग सही समयमा पत्ता लगाएर उपचार गरेमा मिर्गौलालाई फेल हुनबाट बचाउन सकिन्छ । त्यसैले पिसाब र रगतमा क्रिएटिनिनको मात्राको जाँच, मिर्गौलाको अल्ट्रासाउण्ड गरेर ग्लोमेरुलस नेफ्राइटिसको समस्या पहिचान गर्न सकिन्छ ।

इन्ट्रेइस्टिसियल नेफ्राइटिस
इन्ट्रेइस्टिसियल नेफ्राइटिस भनेको मिर्गौलालाई सपोर्ट गर्ने तन्तुको रोग हो । यसले मिर्गौला फेल गराउनसक्छ । मिर्गौलाभित्र फाइब्रोसिस (कडा खत) बनाइदिने रोगहरुले पनि समस्या गराउँछन् । लामो समयसम्म नदुख्ने औषधिहरु जस्तै—पेन किलरहरुको प्रयोग, विना परीक्षणका आयुर्वेदिक जडिबुटीहरुको सेवन आदि गर्नाले मिर्गौला फेल हुनसक्छ ।

अब्स्ट्रक्टिभ युरोप्याथी
मिर्गौला अथवा पिसाबको सिस्टममा पत्थरीहरु भएमा मिर्गौला फेल हुनसक्छ । पाठेघरको मुखको क्यान्सर, अण्डादानीको क्यान्सर, पिसाबको थैलीको क्यान्सर, महिलाहरुमा आङ खस्ने समस्याले पिसाबको बाटो अबरोध गरिदिने कारण मिर्गौला फेल हुनसक्छ । यसलाई अब्स्ट्रक्टिभ युरोप्याथी भनिन्छ ।

एक्युट कर्टिकल नेक्रोसिस
एक्युट कर्टिकल नेक्रोसिस भनेको धेरै रक्तस्राब भएमा मिर्गौला फेल हुने समस्या हो । गर्भावस्थामा धेरै रक्तश्राब भएमा यस किकिसिमको समस्या हुनसक्छ ।

एकेआई (एक्युट किड्नी इन्जुरी)
पोटेन्सियल रिभर्सियल अर्थात उपचार गरेपछि निको हुने मिर्गौला फेल भएको अवस्थालाई एकेआई भनिन्छ । यसले ले पनि मिर्गौला फेल गराउनसक्छ । यो झाडापखाला लागेमा, सर्पले टोकेमा, अरिङ्गालले टोकेमा, अल्पकालीन एन्टिबायोटिकको प्रयोग, क्यान्सरका औषधिको प्रयोग, एक्सरे, सिटीस्क्यान गर्दा दिइने कन्ट्रास्ट औषधिको प्रयोग, संक्रमण आदि कारणले हुनसक्छ । यस्तो अवस्थामा उपचार गरेपछि मिर्गौलालाई सामान्य अवस्थामा ल्याउनसकिन्छ ।

सिकेडी (क्रोनिक किड्नी डिजिज)
यस किसिमको समस्यामा मिर्गौला बिस्तारै फेल हुँदै जान्छ । यसको औषधि हुँदैन । मिर्गौला फेल हुनलाई ढीला मात्र गर्न सकिन्छ । अन्तिममा डायलाईसिस र मिर्गौला प्रत्यारोपण गर्नको विकल्प हुँदैन ।

मिर्गौलाको दीर्घरोग
लामो समयसम्म मिर्गौलामा क्षति पुगेमा वा राम्रोसँग मिर्गौलाले काम गर्न नसेको अवस्थालाई मिर्गौलाको दीर्घरोग भनिन्छ । यो एउटा डरलाग्दो रोग हो । यस रोगको पूर्णतया निको हुने उपचार छैन । मिर्गौलाको दीर्घरोग विश्वभरि नै डरलाग्दो रूपले बढिरहेको छ । प्रत्येक दशजना मध्ये एकजनामा कुनै न कुनै प्रकारको मिर्गौलाको दीर्घरोग हुनसक्छ । मधुमेह, उच्च रक्तचाप, ग्लोमेरुलोनेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग), मोटोपना, धूम्रपान तथा उच्च कोलेस्टेरोलको बढ्दो समस्या मिर्गौलाको दीर्घरोगका मुख्य कारण मानिन्छ ।

मिर्गौलाको दीर्घ रोगलाई उपचारबाट यसको कार्यक्षमता स्थिर बनाउन सकिन्छ । अन्यथा क्रमशः मिर्गौला झन् खराब हुदै जान्छ । रगतमा क्रिएटिनिनको मात्रा क्रमशः बढ्दै जान्छ । मिर्गौलाको दीर्घरोगलाई विभिन्न चरणमा छुट्याउन सकिन्छ । पिसाबमा एल्बुमिन वा प्रोटिन देखिएमा मिर्गौलामा खराबी भएको संकेत गर्छ । मिर्गौलाको दीर्घरोगको प्रारम्भमा मिर्गौलाले राम्रै काम गरेको हुन्छ र पछिल्लो चरणमा मात्र मिर्गौलाले काम गर्न छाड्छ ।

मिर्गौला विफल (फेल)
मिर्गौलाको दीर्घरोग अत्यन्त गम्भीर अवस्थामा पुगेको चरण हो । यो अवस्थामा मिर्गौलाका कार्यक्षमता १० प्रतिशत भन्दा कम भइसकेको हुन्छ । यस्तो अवस्थामा मिर्गौलाले पूर्णतया काम गर्न छाड्ने पनि हुनसक्छ । यस अवस्थामा औषधि, खानपिन, जीवनशैलीमा परिवर्तन गरेर मात्र बाँच्न सकिँदैन । त्यसैले डायलाइसिस वा मिर्गौला प्रत्यारोपण जस्ता उपचार विधिको आवश्यकता पर्छ ।
मिर्गौलाको दीर्घरोगका कारण
मधुमेह– मिर्गौलाको दीर्घरोग लाग्नेमध्ये ३५ देखि ४० प्रतिशत सम्म मधुमेहका बिरामी पाइन्छन् । यद्यपी मधुमेह भएका प्रत्येक तीनमध्ये एकजनालाई मिर्गौलाको दीर्घरोग लाग्ने जोखिम हुनसक्छ ।
उच्च रक्तचाप– राम्रोसँग उपचार नगरेमा उच्च रक्तचाप मिर्गौलाको दीर्घरोगको महत्वपूर्ण कारण मानिन्छ । किड्नी एजुकेसन फाउन्डेसनका अनुसार, उच्च रक्तचापका कारण करिब ३० प्रतिशतलाई मिर्गौलाको दीर्घरोग हुने गरेको छ । जुनसुकै कारणले मिर्गौलाको दीर्घरोग भएपनि उच्च रक्तचापले मिर्गौलालाई थप खराब बनाउँछ ।

ग्लोमेरुलोनेफ्राइटिस (पिसाबबाट प्रोटिन जाने रोग)– मिर्गौला बिगार्ने यो समस्या मिर्गौलाको दीर्घरोगको तेस्रो महत्वपूर्ण कारणका रूपमा रहेको छ । पोलिसिस्टिक मिर्गौला रोग – यसमा दुवै मिर्गौलामा फोकाहरू हुन्छन् । यो मिर्गौलाको वंशानुगत दीर्घरोग हो ।

अन्य कारण– बाथ रोग (जस्तै एस.एल.ई.), पत्थरी वा अन्य कुनै कारणले पिसाबको प्रवाह बन्द हुने, बालबालिकामा मिर्गौला संक्रमण जस्ता अन्य समस्याले पनि मिर्गौलाको दीर्घ रोग हुनसक्छ ।

उपचार

मेडिकल
यो औषधिबाट गर्ने उपचार हो । मिर्गौलाले काम नगर्ने र मुत्रप्रणालीको संक्रमणसम्बन्धि रोगलाई मिर्गौला चिकित्सकले उपचार गर्छन् । मिर्गौलाले काम गर्न छाड्ने समस्या भएका गम्भीर बिरामीहरूलाई डायलाइसिस र मिर्गाैला प्रत्यारोपण जस्ता उपचार आवश्यक पर्छ ।

सर्जिकल
मिर्गौलामा पत्थरी र मुत्रप्रणालीमा क्यान्सर जस्ता बिरामीहरूको उपचारका लागि शल्यक्रिया आवश्यक हुन्छ ।

मिर्गौलाका मुख्य रोग
– मिर्गाैलाले अचानक काम गर्न छोड्ने
-मिर्गौलाको दीर्घरोग
– मुत्रप्रणालीको संक्रमण
– नेफ्रोटिक सिन्ड्रोम
– मुत्रनलीमा पत्थरी
– मुत्रथैली र प्रोस्टेटका समस्या
– मुत्रनलीमा जन्मैदेखिको समस्या
– क्यान्सर

मिर्गौलाले अचानक काम गर्न छोड्ने (एक्युट किड्नी इन्जुरी)
मिर्गौलाको काम गर्ने क्षमतामा अचानक कमी आउने वा ह«ास हुनुलाई एक्युट किड्नी इन्जुरी भनिन्छ । यस्तो समस्याका अधिकांश रोगीहरूको पिसाबको मात्रा कम हुन्छ । झाडापखाला, धेरै बान्ता, औलो, रक्तचाप घट्नु, सेप्सिस र केही खास औषधीहरू यसका महत्वपूर्ण कारण हुन् । सही उपचार पाएमा प्रायः मिर्गौलाले पुनः काम गर्न थाल्ने हुन्छ ।

मिर्गाैलाको दीर्घरोग (क्रोनिक किड्नी डिजिज)
वर्षौदेखि स्वस्थ अवस्थामा नफर्कने गरी मिर्गौलाले काम नगर्ने समस्या मिर्गौलाको दीर्घरोग हो । यसमा मिर्गौलाको काम गराई मन्द गतिमा तर निरन्तर रुपमा कम हुँदै जान्छ र अन्तिममा मिर्गौलाले पूर्णरुपमा काम गर्न छाड्छ ।
मिर्गौलाको दीर्घरोग एउटा सुसुप्त रहने रोग हो र प्रायः यो रोग भएको थाहा नै पाइँदैन । यो रोगको प्रारम्भिक चरणमा संकेत र लक्षणहरू अत्यन्त कम देखिन्छन् या त हुदैनन् । कतिपयमा बान्ता हुने, सुन्निने, उच्च रक्तचाप आदि देखिन्छ । मिर्गौलाका दीर्घरोग हुने महत्वपूर्ण कारणमा मधुमेह र उच्च रक्तचाप हो । हाम्रो देशमा भने पिसाबबाट प्रोटिन जाने रोग (ग्लोमेरुलोनेफ्राईटिस) पनि यसको प्रमुख कारणमध्ये एक हो । रगत परीक्षण गर्दा क्रिएटिनिन र युरियाको मात्राबाट मिर्गौलाको कार्यक्षमता बारे थाहा हुन्छ । मिर्गौला धेरै खराब भएमा रगतमा क्रिएटिनिन र युरियाको मात्रा बढ्न थाल्छ ।

मिर्गौलाको दीर्घरोगका लक्षण
मिर्गौलाको दीर्घ रोगका लक्षणहरू मिर्गौला खराब भएको गम्भीरताको मात्राअनुसार फरक हुन्छन् । मिर्गौलाको दीर्घ रोगलाई मिर्गाैलाको कार्यक्षमता वा ग्लोमेरुलर फिल्ट्रेसन दर (मिर्गौला शुद्घिकरण दर) का आधारमा पाँच चरणमा विभाजन गर्न सकिन्छ ।

पहिलो चरण (मिर्गौलाको कार्यक्षमता ९०–१०० प्रतिशत)
यस चरणमा मिर्गाैलाको कार्यक्षमता ९० प्रतिशतभन्दा बढी हुन्छ । प्रयोगशालामा पिसाबमा प्रोटिन देखिने, एक्सरे, अल्ट्रा साउण्ड, एम.आर.आई. वा सिटी स्क्यानबाट मिर्गौलाको संरचनामा गडबडी देखिने वा परिवारको कोही सदस्यमा पोलिसिस्टिक मिर्गौला रोग भएको हुनुेआदिबाट यो चरणको समस्या थाहा हुन्छ ।
दोस्रो चरण (मिर्गौलाको कार्यक्षमता ६०–८९ प्रतिशत)
दीर्घरोगको यो चरणमा मिर्गौलाको कार्यक्षमता ६० देखि ८९ प्रतिशत सम्म हुन्छ । प्रायः बिरामीहरूलाई कुनै लक्षण देखिदैन । तर कोही कोहीले राति बढी पिसाब हुने सिकायत गर्न सक्छन् । उच्च रक्तचाप, पिसाबका परीक्षणमा केही असामान्यपन वा केही बढी क्रिएटिनिन यसका संकत हुन सक्छन् ।
तेस्रो चरण (मिर्गौलाको कार्यक्षमता ३०–५९ प्रतिशत)
मिर्गौलाको दीर्घरोगको तेस्रो चरण दीर्घरोगमा बिरामीहरूलाई अझै पनि कुनै लक्षण नदेखिन सक्छ वा सामान्य लक्षणहरू देखिन सक्छ । पिसाबमा असामान्यता आउने वा रगतको क्रिएटिनिन बढ्न सक्छ ।
चौथो चरण (मृगौलाको कार्यक्षमता १५–२९ प्रतिशत)
यस चरणमा केही लक्षणहरू देखिन सक्छन् । मिर्गाैला बिग्रिने कारक तत्वले पनि यो चरणमा देखिने रोगलाई प्रभाव पार्छ ।
पाँचौँ चरण (मृगौलाको

कार्यक्षमता १५ प्रतिशत भन्दा कम)
पाँचौँ चरण अत्यन्त गम्भीर दीर्घरोगको अवस्था हो । यसलाई अन्तिम चरणको मिर्गौला रोग पनि भनिन्छ । यस चरणमा अधिकांश बिरामीलाइ डायलाइसिस वा मिर्गौला प्रत्यारोपण आवश्यक हुन्छ । लक्षणहरू सामान्यदेखि कठोर हुँदै ज्यान जान सक्ने जटिलता पनि आउन सक्छ ।

मुत्रप्रणाली संक्रमण
पिसाब पोल्ने वा निरन्तर पिसाब लागिरहने, पेटको तल्लो भाग दुख्ने र ज्वरो आउने समस्या मुत्रप्रणाली संक्रमणका लक्षण हुन् । पिसाबमा पिप देखिए त्यसले मुत्रप्रणाली संक्रमण भएको संकेत गर्नसक्छ । मुत्रप्रणालीको संक्रमणमा अधिकांश बिरामी उपयुक्त एन्टिबायोटिकको प्रयोगबाट राम्रो हुन्छन् । बालबालिकाहरूमा हुने संक्रमणमा भने विशेष ध्यान दिनुपर्छ । मुत्रप्रणालीमा हुने संक्रमणको उपचारमा ढिलाइ भएमा बालबालिकाको मिगौलालाई त्यसले नराम्रो क्षति पु¥याउँछ ।

नेफ्रोटिक सिन्ड्रोम
खुट्टा सुन्निने, अत्यधिक प्रोटिनुरिया (पिसाबमा प्रतिदिन ३ ग्राम भन्दा बढी प्रोटिन), हाइपोएल्बुमिनेमिया (रगतमा एल्बुमिन कमी) तथा रगतमा बढी कोलेस्टेरोल यसका लक्षण हुन् । नेफ्रोटिक सिन्ड्रोम मिर्गौलाको धेरै किसिमको रोगले गर्दा हुने भएको यसको कारण÷प्रकारको चाँडै पहिचान गर्न आवश्यक हुन्छ । उपचार पछि निको भएका केही विरामीको रोग बल्झिन पनि सक्छ भने कसैलाई लामो समयसम्म उपचार गर्नुपर्ने हुनसक्छ । नेफ्रोटिक सिन्ड्रोम भएका बालबालिकाको उपचार गरेको अवस्थामा दीर्घकालीन परिणाम राम्रो हुन्छ । उनीहरू सामान्य मिर्गौलाका साथ स्वस्थ जीवनयापन गर्न सक्छन ।

मिर्गौलाको पत्थरी
यस किसिमको समस्या मिर्गौला, मुत्रवाहिनी नली र मुत्रथैलीमा पत्थरी देखिनसक्छ । मिर्गौलामा हुने पत्थरीको सामान्य लक्षण भनेको असह्य दुखाइ, वाकवाकी लाग्ने, बान्ता हुने र पिसाबमा रगत देखिने आदि हुन् । तर मिर्गाैलाको पत्थरी भएको केही मानिसहरूमा लामो समयसम्म पनि कुनै लक्षण नदेखिन सक्छ, यसलाई साइलेन्ट स्टोन पनि भनिन्छ । पत्थरीको निदानका लागि पेटको एक्सरे र अल्ट्रासाउन्ड गरिन्छ । अधिकांशतः साना आकारका पत्थरीहरू प्रशस्त तरल पदार्थ पिउँदा पिसाबसँगै निस्कनसक्छन् । पत्थरीका कारण अत्यधिक दुखाई, संक्रमण वा मिर्गौला क्षति हुन थालेमा यसलाई निकाल्नुपर्छ ।

पत्थरी उपचार गर्ने विधि भनेका लिथोट्रिप्सी, इन्डोस्कोपी (पी.सी.एन.एल), साइटोस्कोपी र युरेटोस्कोपी) तथा शल्यक्रिया हुन् । यसपछि पनि पत्थरी पुनः हुने सम्भावना ५० देखि ८० प्रतिशत हुने भएकाले बढी झोल पदार्थ खाने र समय समयमा परीक्षण गर्न आवश्यक हुन्छ ।

बिनाइन प्रोस्टेटिक हाइपरप्लेजिया (बी.पी.एच.)
बढेको प्रोस्टेट ग्लान्डले मुत्रनलीलाई च्याप्छ र खासगरी वृद्ध पुरुषहरूलाई यसले पिसाब फेर्नमा समस्या सिर्जना गराउँछ । बी.पी.एच.) डाक्टरले जाँचेर र भीडियो एक्सरे गरेर निदान गरिन्छ । बिनाइन प्रोस्टेटिक हाइपरप्लेजिया हुँदा बढी पिसाब लाग्ने (विशेष गरी राति) र पिसाब गरिसकेपछि पिसाब चुहिने समस्या हो । बिनाइन प्रोस्टेटिक हाइपरप्लेसियाको हल्कादेखि सामान्य लक्षण देखिएका धेरै बिरामीहरूलाई औषधोपचारबाट लामो समयसम्म प्रभावकारी रुपमा उपचार गर्न सकिन्छ । कडा लक्षण देखिएका र ठूलो प्रोस्टेट भएका धेरै बिरामीहरूलाई इन्डोस्कोपीबाट प्रोस्टेट ग्लान्ड हटाउनुपर्ने हुन्छ ।
मिर्गौला रोगका सामान्य लक्षण
– भोक कम लाग्ने, वाकवाकी लाग्ने र बान्ता हुने
– कमजोरी, थकाइ र तौल कम हुने
– खुट्टाको तल्लो भाग सुन्निने
– अनुहार वा आँखाको वरिपरि खासगरी बिहान सुन्निने
– अनियन्त्रित उच्च रक्तचाप
– सुताइमा समस्या, चक्कर लाग्ने, कुनै कुरामा मन केन्द्रित हुन नसक्ने
– चिलाउने, मांसपेशी बाउँडिने
-धेरैपटक पिसाब हुने (खासगरी राति)
– हड्डी दुख्ने र वयस्कहरूमा हड्डी भाँच्चिने र बालबालिकाको उचाइ वृद्धिमा समस्या हुने
-यौन चाहना कम हुने, लिंग उत्तेजनामा समस्या र महिलामा महिनावारीमा गडबढी

प्रतिक्रिया दिनुहोस्