Logo
|
Monday 6th May 2024
Logo

epaper

हरियो ज्याकेट र कटराइजको पाइन्टमा सजिएका प्रधानमन्त्रीले भने—‘धन्यवाद’

औषधि सेवन र नियमित परीक्षणमा ध्यान दिनुपर्छ



जनस्वास्थ्य सरोकार, काठमाडौं । त्रिवि शिक्षण अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा प्रधानमन्त्री केपी ओलीले हरियो ज्याकेट पहिरे। कटराइजको पाइन्ट लगाए। कालो टोपी मिलाए। डिस्चार्ज भई निस्कँदा उज्यालो मुहारमा शुभेच्छुकप्रति हात उठाए। र भने, ‘धन्यवाद !’

६९ वर्षको उमेरमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओली शुक्रबार साँझ अस्पतालबाट सरकारी निवास बालुवाटार फर्केका छन्। उनी फागुन १९ गते अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते मिर्गौला प्रत्यारोपण गरिएको थियो। पूर्ण स्वास्थ्य लाभपछि प्रधानमन्त्रीलाई डिस्चार्ज गरिएको अस्पतालका कार्यकारी निर्देशक डा. प्रेमकृष्ण खड्गाले जानकारी दिए। प्रधानमन्त्री ओलीलाई मिर्गौला दान गरेकी समीक्षा संग्रौला बुधबार नै डिस्चार्ज भएकी छन्।

प्रधानमन्त्री ओलीलाई बालुवाटारमा बुवा मोहनप्रसादले स्वागत गरेका थिए। बालुवाटारमा दैनिक काम गर्न सकिने र संक्रमणबाट जोगिन सक्ने गरी कक्ष निर्माण गरिएको छ।

कस्तो रहला दिनचर्या ?

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओलीले स्वास्थ्यमा सुधार भएपछि बिहीबार हिँडडुल र नियमित व्यायाम गरेका थिए। ‘दाह्री आफैंले काट्नुभएको थियो’, थापाले भने।

प्रधानमन्त्री ओलीकी निजी चिकित्सक प्रा.डा. दिव्या सिंह शाहका अनुसार डिस्चार्जपछि पनि समयसमयमा फलोअपमा रहनुपर्ने हुन्छ। बालुवाटारमा चिकित्सकको नियमित निगरानी रहनेछ। ‘उहाँले सतर्कतासाथ नियमित काम गर्न सक्नुहुनेछ’, डा. शाहद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रधानमन्त्री ओलीले शिक्षण अस्पतालका चिकित्सकमाथि भरोसा गरी उपचार गर्ने अवसर दिएकोमा अस्पताल परिवार गौरवान्वित भएको विज्ञप्तिमा जनाइएको छ। ‘हामी उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गर्दछौं। उहाँ अझ ऊर्जावान् भएर देश र जनताको हितका लागि कार्य गर्नुहुनेछ भन्ने विश्वास गर्छाैं’, विज्ञप्तिमा उल्लेख छ।

डा. शाहले प्रधानमन्त्री ओलीको स्वदेशमै प्रत्यारोपण गरी एउटा चुनौतीपूर्ण कार्य सफल भएको बताइन्। उनले भनिन्, ‘आगामी दिन पनि चुनौतीपूर्ण छन्। तर, हामीले गर्न नसक्ने भन्ने छैन। हामीले सावधानी अपनायौं भने धेरै जटिलता आउँदैन होला।’

डा. शाहका अनुसार प्रधानमन्त्री ओलीको मिर्गौलाले राम्रोसँग काम गर्न थालिसकेकाले समस्या हुने सम्भावना न्यून छ। संक्रमणबाट जोगिने चुनौती छ। एक महिनासँग क्लोजली फलोअप गर्नुपर्ने हुन्छ। स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने हुन्छ। संक्रमण भएका व्यक्तिसँग धेरै नजिक बस्नु हुँदैन।

अनुशासित दिनचर्या

प्रधानमन्त्री ओलीको आत्मबल बलियो छ। दिनचर्या भने अनुशासित हुँदैन। उनी मध्यरातसम्म काम गर्छन्। संक्रमणको डर नमानी सार्वजनिक कार्यक्रममा पुग्छन्। एक चिकित्सक भन्छन्, ‘त्यही बानीले गर्दा परिवारबाट पनि केही दिन अस्पतालमै राखेर स्वास्थ्य लाभ गर्न आग्रह भएको थियो।’

निजी चिकित्सक डा. शाहले खाने र सुत्ने समयमै गर्नुपर्ने सुझाव दिइन्। उनले भनिन्, ‘दिनचर्या अनुशासित बनाउनुपर्छ। औषधि सेवन र नियमित परीक्षणमा ध्यान दिनुपर्छ।’

प्रत्यारोपण गरिएको नयाँ मिर्गौलाले शरीरमा साथ दिइरहनका लागि प्रधानमन्त्रीले जीवनभर इम्युनोसप्रेसिभ औषधि खानुपर्ने अर्का एक मिर्गौला रोग विशेषज्ञले बताए। उनले भने, ‘प्रत्यारोपित नयाँ मिर्गौलाले अस्वीकार नगरोस् र खराब एन्टिबडी निष्कासन नगरोस् भन्नका लागि औषधि नियमित खानुपर्छ।’

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. कल्पना श्रेष्ठका अनुसार प्रधानमन्त्री ओली नियमित फलोअपमा रहनुपर्छ। संक्रमणबाट जोगिन आइसोलेसन अर्थात् छुट्टै कोठामा बस्नुपर्ने हुन्छ। रगतपिसाबलगायत नियमित जाँच गरिरहनुपर्छ।

वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. ऋषिकुमार काफ्लेले स्वस्थ मिर्गौला भएमात्र शरीर स्वस्थ हुने बताए। उनले भने, ‘प्रधानमन्त्रीले सार्वजनिक कार्यक्रममा सहभागी हुने, नेताकार्यकर्ता भेटघाट गर्ने तथा जो पायो त्यहीसँग घुलमिल गर्नु हुँदैन।

सक्रिय दिनचर्चा महिनापछि

निजी चिकित्सक डा. शाहका अनुसार संक्रमणको जोखिम हुने भएकाले प्रधानमन्त्री ओलीले सावधानी अपनाउनुपर्छ। औषधिको डोज बढी भएकाले संक्रमणको सम्भावना रहन्छ। डा. शाहले सावधानी अपनाएर प्रधानमन्त्री कार्यालय वा सचिवालयबाट काम गर्न सक्ने बताइन्। उनले भनिन्, ‘एकदमै सक्रिय हुनचाहिँ ६ महिना लाग्छ। त्यसपछि साधारण मान्छेजसरी सक्रिय दिनचर्या बिताउन सक्नुहुन्छ।’

प्रधानमन्त्री ओलीले फागुन १८ गते नेकपा सचिवालय बैठकमा प्रत्यारोपणका लागि अस्पताल भर्ना हुने तयारीमा रहेको जानकारी गराएका थिए। ओलीको मिर्गौलाको कार्यक्षमतामा ह्रास आएर डायलासिस सुरु गरिएको थियो। पहिलो डायलासिस कात्तिक १३ गते भएको थियो। सोही समयदेखि नै प्रत्यारोपणको तयारी गरिएको निजी चिकित्सक डा. शाहको भनाइ छ।

प्रत्यारोपणका लागि योग्य भएको चिकित्सकीय ठहरपछि दाताको स्वास्थ्य परीक्षण सुरु गरिएको थियो। दातामध्येबाट सबैभन्दा बढी मिल्ने दाताको परीक्षण सुरु गरिएको थियो। उनले भनिन्, ‘चार महिनादेखि नै लगातार परीक्षण गर्दै आएका छौं। सबै चिज भइसकेपछि एक महिनाअघि नै शिक्षण अस्पतालमा गर्ने तय भइसकेको थियो। पूर्वतयारीसाथ भएको प्रत्यारोपण हो। अप्रत्याशित होइन।’

प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणमा भारतका वरिष्ठ प्रत्यारोपण सर्जन डा. अनन्त कुमार प्रत्यक्ष संलग्न थिए। ओलीको २०६४ सालमा भारतमा गरिएको पहिलोपटकको मिर्गौला प्रत्यारोपणमा संलग्न थिए।

प्रत्यारोपणमा शिक्षण अस्पतालका युरोलोजी विभागका विभागीय प्रमुख प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेमराज ज्ञवाली, डा. पवन चालिसे, डा. भोजराज लुइटेल, डा. सुमन चापागाईं, डा. सुजित पौडेल र मनीषमान प्रधान संलग्न थिए।

त्यस्तै चिकित्सातर्फ विभागीय प्रमुख डा. दिव्या सिंह शाह, डा. महेशराज सिग्देल, डा. मुकुन्द काफ्ले, डा. मिधन श्रेष्ठ, डा. रविन नेपाली र डा. सन्तोष क्षेत्री खटिएका थिए। यस्तै भारतबाट नेफ्रोलोजिस्ट डा. दिनेश खुल्लर र डा. जतिन अहुजा आएको समाचार अन्नपूर्णपोष्टमा दिनेश गौतमले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्