आरडिटी परीक्षणले फेरि झुक्यायो, मरणोपरान्त कोरोना पुष्टि, संक्रमित २९१२, मृत्यु ११, निको ३३३, जिल्ला ६८
जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा शुक्रबार थप २७८ जनामा कोभिड १९ कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या २९ सय १२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी गराएको छ ।
हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ । बिहीबार ३३४, बुधबार २०१ र मंगलबार २८८ जनाका कोरोना संक्रमण पुष्टि भएको थियो ।
शुक्रवार पुष्टि भएकामध्ये दैलेख जिल्लाका ९० जना छन् ।
अहिले आइसोलेसनमा दुई हजार पाँच सय ६८ जनाको उपचार भइरहेको छ । शुक्रबार मात्र ४३ जना डिस्चार्ज भएका छन् । यो सँगै मुलुकमा कोरोना जित्नेहरुको संख्या ३ सय ३३ पुगेको छ ।
मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार जेठ २२ गते बिहीवार सुर्खेतमा मृत्यु भएका व्यक्तिबाट मरणोपरान्त सङ्कलति नमुनाको परीक्षण गर्दा कोरोनाभाइरस देखिएको छ । जेठ ८ गते भारतबाट फर्किई स्थानीय क्वारन्टीनमा बसेका ती व्यक्तिको बिहीवार घर फर्किएपछि आकस्मिक रूपमा मृत्यु भएको बताइएको छ । यद्यपी फेरि आरडिटी परीक्षणले झुक्याएको छ । आरडीटी परीक्षणमा संक्रमण भएको कुनै लक्षण नदेखिएकाले उनी १४ दिनपछि क्वारन्टीनबाट घर गएको डा. देवकोटाले बताउनुभयो । यो सँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या ११ पुगेको छ ।
अहिले प्रदेश नं २ र ५ सर्वाधिक सङ्क्रमित छन् । हालसम्म पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ ।
गोरखा, कास्की र हुम्लामा पनि संक्रमित भेटिएपछि कोभिड—१९ बाट प्रभावित हुने जिल्लाको संख्या ६८ पुगेको छ ।