Logo
|
Tuesday 24th December 2024
Logo

epaper

अङ्ग प्रत्यारोपणलाई पारदर्शी बनाउन ल्याइएको अनलाइन सेवाले कसरी काम गर्छ ?



नेपालमा हाल रगतको नाता पर्नेहरूबाट मात्रै अङ्ग लिन पाउने व्यवस्थाका कारण प्रत्यारोपण आवश्यक परेकाहरूलाई अङ्गहरू उपलब्ध हुने अवस्था नरहेको भन्दै सरकारले ‘ब्रेन डेथ’ हुने घटनापछिको प्रत्यारोपणलाई व्यवस्थित गर्ने गरी अनलाइन प्रणाली सुरु गरेको जनाएको छ। परिवारले अनुमति दिँदाको अवस्थामा मानव अङ्ग प्रत्यारोपण केन्द्रले अङ्ग निकालेर आवश्यक अन्यमा प्रत्यारोपण वा सङ्ग्रह गर्न सक्ने कानुनी व्यवस्थासमेत छ।

जसका कारण यस कदमले एकातर्फ कसैको दु:खद् मृत्यु हुँदा अर्कोतर्फ जोखिममा रहेकालाई नयाँ जीवन मिल्ने क्रमले व्यापकता पाउने स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेल बताउँछन्।

“ब्रेन डेथ भएको अवस्थामा ती व्यक्तिका लागि उपयोगी नहुने अङ्ग अर्को कसैका लागि भने नयाँ जीवन दिने खालको हुन्छ,” मन्त्री प्रदिप पौडेलले बीबीसीसँग भने। “अनलाइनको यस प्रक्रियामा त्यस्तो अङ्ग कसलाई दिने भन्ने कुरा पारदर्शी बनाउँछ।”

‘ब्रेन डेथ’ अर्थात् मस्तिष्कले काम गर्न छोडेर श्वासप्रश्वास बन्द भएको र चेतना पनि लुप्त भएको मृत्यु नजिकको अवस्थामा मानव शरीरबाट कतिपय जीवन रक्षक अङ्गहरू शल्यक्रिया गरेर निकाल्न सकिन्छ। अधिकारीहरूले अनलाइन प्रणालीमा गए पछिको अवस्थामा जीवनको सम्भावना नरहेकाहरूबाट अङ्ग लिने परिस्थिति सहज हुने र सरल तरिकाले लिइने विवरणले आम नेपालीमा यसको महत्त्वबोध समेत गराउने बताउँछन्।

महत्त्व

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका प्रमुखले स्वचालित रूपमा सञ्चालन हुने यस विधिले अङ्ग प्रत्यारोपणको महत्त्वलाई व्यापक रूपमा बुझाउन सक्ने जनाएको छ। “जस अनुसार अब घरमै बसेर मोबाइलबाट समेत आफू मरेपछि अङ्गदान गर्ने मञ्जुरीनामा दर्ता गर्न सकिन्छ। पहिलेजस्तो प्रत्यारोपण केन्द्रमा पुगेर कागजमा हस्ताक्षर गर्न पर्ने छैन,” केन्द्रका कार्यकारी निर्देशक पुकारचन्द्र श्रेष्ठले बीबीसीसँग भने।

तर जस्तोसुकै अवस्थामा समेत ‘ब्रेन डेथ’ भएको चौबीस घण्टाभित्र कुनै व्यक्तिका निकाल्न मिल्ने आठवटा अङ्गका लागि परिवारको अनुमति भने अनिवार्य छ।

“पहिल्यै स्वयंले स्वीकृति दिइएको अवस्थामा परिवारबाट अवरोध आउने सम्भावना कम रहन्छ भन्ने हाम्रो मान्यता हो,” डा श्रेष्ठ भन्छन्।

नेपालमा बर्सेनि एक हजार हाराहारीको सङ्ख्यामा सडक दुर्घटनाबाट मानिसहरूको ‘ब्रेन डेथ’ हुनसक्ने अवस्था देखा पर्ने गरेको तथ्याङ्क केलाउँदै एकजनाबाट आठ जनासम्मको ज्यान बचाउन सकिने अवस्था रहने केन्द्रका प्रमुख श्रेष्ठ बताउँछन्।

तर हाल नेपालमा धेरैजसो जीवित दाताबाट मिर्गौला र कलेजोको प्रत्यारोपण हुने गरेको छ। राष्ट्रिय प्रत्यारोपण केन्द्रले मात्र पछिल्लो झन्डै एक दशकमा साढे १३ सय मिर्गौला र ३० जनाको कलेजो प्रत्यारोपण गरेको जनाएको छ।

पूर्वाधार राम्रो हुँदाको हकमा प्रत्यारोपण गर्ने गति पाँच गुणासम्मले बढाउन सकिने आफूहरूको विश्वास रहेको डा. श्रेष्ठ बताउँछन्। “अब हामी मुटु र फोक्सोको प्रत्यारोपणसमेत यहीँ गर्ने तयारीमा छौँ। बिस्तारै अन्य अङ्गको तर्फ क्षमता बढाउने योजना छ।”

के-कस्ता अङ्ग प्रत्यारोपण हुन सक्छ?

एक व्यक्तिबाट दुईवटा मिर्गौला, एउटा कलेजो, एउटा मुटु, दुईवटा फोक्सो, एउटा अग्न्याशय (प्यान्क्रियास), एउटा सानो आन्द्रा गरेर आठवटा जीवनरक्षक अङ्ग प्रत्यारोपणका लागि निकाल्न सकिन्छ। आँखाको नानी, छाला, हड्डी, पाठेघरजस्ता अन्य अङ्गहरू पनि प्रत्यारोपण गर्न सकिन्छ। तर निकै छोटो समयमै सो काम सक्नुपर्ने हुँदा अस्पतालहरूबीच प्रभावकारी समन्वय र सूचना आदानप्रदान आवश्यक हुन्छ।

मानव अङ्ग प्रत्यारोपण

मानव अङ्ग प्रत्यारोपण केन्द्रले विकास गरेको यस डिजिटल प्रणालीमा अङ्ग आवश्यक परेको कुनै व्यक्तिले आफ्नो सम्पूर्ण आवश्यक विवरण त्यहाँ दर्ता गर्नुपर्ने हुन्छ। “जसपछि अब प्राप्त हुने अङ्ग कसले प्राप्त गर्छ भन्ने कुरा पहिल्यै निश्चित भइसकेको हुन्छ। त्यस्तोमा कसैले पनि पालो मिच्न सक्दैन,” मन्त्री पौडेल भन्छन्।

अङ्गदानको संस्कार बनोस् भनेरै प्रोत्साहनस्वरूप रकम दिने व्यवस्था गरिएको मन्त्री पौडेल बताउँछन्। उनी थप्छन्: “अङ्ग प्राप्त हुने बित्तिकै पहिल्यै तय गरिएको सूचीमा क्रमशः म्याच गर्दै त्यसको टुङ्गो लगाउने काम गरिन्छ।” त्यसैगरी आवश्यकतामा रहेका अङ्ग सङ्ग्रह गर्न सक्ने स्थितिसमेत बन्ने अधिकारीहरू बताउँछन्।

मन्त्री पौडेलले थपे: “हामीहरूले अङ्ग प्रत्यारोपणका सम्पूर्ण पक्ष सार्वजनिक गर्नेगरी संयन्त्र विकास गरेर अनलाइन प्रणालीबाट त्यससम्बन्धी सूचना सम्प्रेषण गर्ने कोशिश गरेका हौँ।”

प्रत्यारोपण केन्द्र प्रमुख पुकारचन्द्र श्रेष्ठले विकसित पश्चिमा मुलुकमा ८० प्रतिशतजति अङ्ग प्रत्यारोपण ‘ब्रेन डेथ’का घटनाबाट हुने बताउँदै सडक दुर्घटना धेरै हुने नेपालमा यस्तो अभ्यासले धेरैको ज्यान जोगाउन सक्ने ठान्छन्। “हामीकहाँ अझै यसको महत्त्व नबुझ्दा वा अन्धविश्वासका कारण मृत्यु भइसक्दा पनि आफ्ना प्रियजनको अङ्गदान गर्न नचाहने प्रवृत्ति देखिन्छ,” डा श्रेष्ठ भन्छन्।

“हाम्रो संस्कारमा अझै पनि अन्तिम संस्कारको जिम्मेवारी परिवारसँग रहने हुँदा उसको इच्छालाई नाघेर प्रत्यारोपण गरिँदैन। पहिल्यै मञ्जुरीनामा स्वीकृति दिएको भए पनि पछि परिवारले नचाहेका हकमा त्यसो गर्ने गरिएको छैन।”

देशैभर विस्तारको योजना

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको भवन

अङ्गदानको अनुमति दिने परिवारलाई स्वास्थ्य मन्त्रालयले प्रोत्साहनस्वरूप दुई लाख रुपैयाँ र उक्त सूचना उपलब्ध गराउने अस्पताललाई समेत ७५ हजार रुपैयाँ दिने सरकारले जनाएको छ। कतिपय अवस्थामा अस्पतालहरूबाट ब्रेन डेथका घटनाको खबर समयमै नगरेर त कहिले परिवारबाट समेत अनिच्छा देखाएर यसले अपेक्षित रूपमा गति लिन नसकेको केन्द्रका अधिकारीहरू बताउँछन्।

त्यसैले नेपालमा अधिकांश घटनामा आफ्नो परिवारकै स्वस्थ व्यक्तिबाट मात्र अहिलेसम्म अङ्गप्रत्यारोपण भएको पाइन्छ। हाल नेपालमा काठमाण्डू, पोखरा र सुर्खेतमा प्रत्यारोपण सेवा छ।

सुरुमा राजधानीमा मानव अङ्ग प्रत्यारोपण केन्द्र, भक्तपुर र त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा मात्र उक्त सेवा उपलब्ध थियो। त्यसबाहेक वीर अस्पताल र केही निजी अस्पतालहरूमा समेत केही परीक्षण भएर यस्तो सुविधा विस्तार गर्न खोजिएको स्वास्थ्य मन्त्री पौडेल बताउँछन्।

त्यसबाहेक नेपालगञ्जको भेरी अस्पताल, मोरङको कोशी अस्पताल, वीरगञ्जको नारायणी अस्पतालमा तीव्र गतिमा विस्तार गर्ने तयारी रहेको उनको भनाइ छ। दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, सुदूरपश्चिमको ग्रेटा अस्पताललाई ३०० शय्याको अस्पतालमा विकास गरेर मानव अङ्ग प्रत्यारोपणको सेवा समेत दिनेगरी विस्तार गर्न खोजिए तापनि त्यसका लागि भने केही समय लाग्ने अधिकारीहरूको आकलन छ।

प्रतिक्रिया दिनुहोस्