Logo
|
Thursday 26th December 2024
Logo

epaper

सबभन्दा धेरै संक्रमित प्रदेश २ मा, कुल संक्रमित ३,४४८, निको ४६७ जना



जनस्वास्थ्य सरोकार, काठमाडौं । आइतबार थप २१३ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै नेपालमा संक्रमितहरुको संख्या ३,४४८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हालसम्म सबभन्दा धेरै संक्रमित प्रदेश २ मा भेटिएको छ । त्यहाँ ११६१ संक्रमित पाइएको छ । त्यसपछि प्रदेश ५ मा १०८१ जनामा सङ्क्रमण पाइएको छ । कर्णाली प्रदेशमा ६३३ जना संक्रमित पाइएका छन् भने प्रदेश १ मा २५९, वाग्मति प्रदेशमा ९२, गण्डकी प्रदेशमा १११, सुदुरपश्चिम प्रदेशमा १११ जनामा संक्रमण पाइएको विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको छ ।

हालसम्म मुलुकमा आइसोलेसनमा २ हजार ९ सय ६८ जनाको उपचार भइरहेको छ ।
क्वारेन्टाइनमा १ लाख ७० हजार ७ सय ३२ जना रहेका छन् । उनीहरुमध्ये अधिकांश छिमेकी देश भारतबाट आएका रहेका छन् ।
आइतबार १०२ जना डिस्चार्ज भएका छन् । उनीहरु विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट १२ जना, बाराबाट ३४, कोरानो भाइरस युनिभाइड हस्पिटल बलम्बुबाट १, बुटवलबाट २७, दाङबाट १०, गौरबाट १८ जना डिस्चार्ज भएका हुन् । यसरी मुलुकमा कोरोना जित्नेहरुको संख्या ४ सय ६७ जना पुगेको छ । उनीहरुमध्ये ३९९ जना पुरुष र ६८ जना महिला रहेका छन् ।
यसैगरी नेपालमा कोरोनाका कारण मृत्यु हुनेहरुको संख्या १३ रहेको छ ।
हालसम्म पीसीआर विधिबाट ९६ हजार २ सय ५ र आरडीटी विधिबाट एक लाख ४५ हजार ४९ जनाको नमुना परीक्षण गरिएको छ ।
रोल्पामा पनि संक्रमित भेटिएपछि कोभिड—१९ बाट प्रभावित जिल्लाको संख्या ७२ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्