Logo
|
Saturday 20th April 2024
Logo

epaper

नेपालमा कोरोना संक्रमित ४ हजारको हाराहारी, १४ को मृत्यु, ४८८ ले जिते



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा सोमबार थप ३१४ जना कोभिड १९ संक्रमित पुष्टि भएको छ । यो सँगै मुलुकमा कोभिड १९ संक्रमितहरुको संख्या ३ हजार ७६२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोमबार थप १ जनाको कोरोनाबाट मृत्यु भएको छ । स्याङ्जाका ५८ वर्षीय एक पुरुषको पोखरास्थित गण्डकी प्रदेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा सोमबार बिहान निधन भएको हो । उनमा आइतबार साँझ कोरोना पुष्टि भएको थियो । मृगौला, उच्च रक्तचाप, सुगरको समस्या भएका मृतक जेठ २१ गते राति भारतबाट वालिङ आएको र स्वास्थ्यमा समस्या देखिएपछि २२ गते बिहान उपचारका लागि पोखरा पठाइएको जनाइएको छ ।

यो सँगै नेपालमा कोरोनाबाट मर्नेहरुको संख्या १४ पुगेको छ ।

सोमबार थप २१ जना डिस्चार्ज भएका छन् । बाँकेबाट २० जना पुरुष र काठमाडौंको बलम्बु अस्पतालबाट एकजना महिलाले कोरोना जितेर घर फर्किएका हुन् ।
यो सँगै मुलुकमा कोरोना निको हुनेहरुको संख्यासंख्या ४८८ पुगेको छ । जसमा पुरुष ४१९ र महिला ६९ रहेका छन् ।

मुलुकभर १ लाख ६६ हजार ६६८ जना क्वारेन्टाइनमा र ३ हजार २६० जना आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म ७१ जिल्लामा संक्रमण फैलिएको र देशभरका २१ वटा प्रयोगशालाबाट कोभिड १९ को पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।

हालसम्म पीसीआर विधिबाट १ लाख ९ सय ७१ र आरडीटी विधिबाट एक लाख ५६ हजार ९ सय ९१ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ४ हजार ७ सय ६६ र आरडीटी विधिबाट ११ हजार ९४२ जनाको नमुना गरी १६ हजार ७०८ नमूना परीक्षण भएको छ ।

प्रतिक्रिया दिनुहोस्