Logo
|
Wednesday 8th May 2024
Logo

epaper

मरेपछि कोरोना पुष्टि, मृतकको संख्या १६ पुग्यो, संक्रमित ५ हजार नाघे, ८७७ जना निको



जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा शुक्रबार थप ४४८ जनामा कोभिड—१९ पोजेटिभ पुष्टि भएको छ ।
यो सँगै ७२ जिल्लामा पुष्टि भएका संक्रमितहरुको संख्या ५,०६२ पुगेको छ । यसअघि बिहीबार २५० र बुधबार २७९ जनामा संक्रमण पुष्टि भएको थियो ।

संक्रमितहरुमध्ये ८७७ जना निको भएका र थप एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताउनुभयो । यो सहित मृतकको कुल संख्या १६ पुगेको छ ।

शुक्रबार मरणोपरान्त संक्रमण पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्लाका हुन् । उनी १२ दिनअघि भारतको महाराष्ट्रबाट फर्किएर स्थानीय क्वारन्टीनमा बसेका थिए । साथै श्वासप्रश्वासमा समस्या आएपछि बुटवलस्थति लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार गराई फर्किने क्रममा मृत्यु भएको प्रवक्ता डा. गौतमले जानकारी गराउनुभयो ।
मन्त्रालयका अनुसार, विगत २४ घण्टामा ५ हजार ९२५ वटा नमुनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

यससँगै कोरोना भाइरस संक्रमण पुष्टि गर्न प्रयोग हुने पिसिआर विधिबाट गरिएको परीक्षण संख्या १ लाख २१ हजार ८६२ पुगेको छ ।
क्वारन्टीनमा भएका मानिसको परीक्षणमा तीव्रता दिइएकाले संक्रमितको संख्या बढेको सरकारी अधिकारीहरूको भनाइ रहेको छ ।
अहिले देशभरि १ लाख ५८ हजार भन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका व्यक्ति रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्