Logo
|
Thursday 28th March 2024
Logo

epaper

अनिवार्य मास्क प्रयोग गर्न आग्रह, विनामास्क घर बाहिर निस्किए कारवाही



 

जनस्वास्थ्य सरोकार, भीमदत्तनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालयको टोलीले कञ्चनपुरको भीमदत्तनगर बजार क्षेत्रमा शुक्रबारदेखि सर्वसाधारणलाई अनिवार्यरुपमा मास्क लगाएर मात्रै बाहिर हिँडडुल गर्न आग्रह गरेको छ । यसका लागि कार्यालयले निगरानी समेत बढाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रकाश केसीको नेतृत्वमा ट्राफिक प्रहरी प्लेकार्डसहित बजार क्षेत्रमा सचेतना फैलाउँदै हिँडेको छन् । कोरोना भाइरसको जोखिम बढ्दै गएपछि सरकारको निर्देशनअनुसार आफूहरु सर्वसाधारणलाई मास्क लगाउन आग्रह गर्दैै हिँडेको उहाँको भनाइ छ ।

पाँच दिनअघि गृह मन्त्रालयले विनामास्क घर बाहिर निस्कनेलाई पक्राउ गर्नसमेत प्रहरीलाई निर्देशन दिइसकेको छ । “पहिलो चरणमा हामीले मास्क लगाउन आग्रह गर्दै सम्झाइरहेका छौँ”, उहाँले भन्नुभयो, “विस्तारै निगरानी र कारवाही अघि बढ्छ ।” विनामास्क घर बाहिर हिँडे सङ्क्रमण रोग ऐन, २०२० अन्तर्गत कारवाही गरिने प्रहरीले जनाएको छ ।

प्रहरीले विनामास्क बजार क्षेत्रमा हिँडडुल गरेको पाइए कारवाही गर्ने तयारी गरिरहेको छ । “सवारीसाधन रोकेर मास्क लगाउनभन्दा धेरैले गोजीमा झोलामा राखेको भेटियो”, उहाँले भन्नुभयो, “मास्क आफँै स्वास्थ्य सुरक्षाका लागि हो भन्ने सोच्न सबैले आवश्यक छ ।” जिल्लामा पछिल्लो समय लकडाउन खुकुलो भएसँगै बजार क्षेत्रमा भीडभाड बढ्दै गइरहेको छ ।रासस

प्रतिक्रिया दिनुहोस्