नेपाली सेनाका जवानसहित इलाममा ६ जनामा कोरोना पुष्टि
जनस्वास्थ्य सरोकार, इलाम । इलाममा एकैदिन ६ जनामा कोरोनाको पुष्टि भएको छ । कोरोना पुष्टि हुने सबै इलाम नगरपालिकाका छन् । इलाम नगरपालिका–८ का एकजना, इलाम नगरपालिका– १० का तीनजना र इलाम नगरपालिका– ७ का दुईजनामा कोरोनाको पुष्टि भएको इलाम अस्पतालका कोरोना फोकल पर्सन विमल बरालले जानकारी दिएका छन् । कोरोना पुष्टि हुने सबै ४० वर्षमुनिका पुरुष रहेको उनले बताए । जिल्ला समन्वय समितिको क्वारेन्टाइनमा बसेकाहरूलाई कोरोना पुष्टि भएको हो । संक्रमित हुनेहरूमा कुवेत साउदी, कतारबाट आएका एक–एकजना, भारतबाट आएका एकजना र क्वारेन्टाइनको सुरक्षार्थ खटिएका नेपाली सेनाका जवान छन् । पाँचजना १७ गते क्वारेन्टाइनमा आइपुगेका हुन् । सेनाका जवान भने क्वारेन्टाइनको सुरक्षाका लागि खटिएका थिए । उनीहरूको गत २८ गते स्वाब परीक्षणका लागि पठाइएको थियो । कोरोना पुष्टि भएकाहरूलाई मोरङको गोठगाउँ कोरोना अस्पतालमा पठाउने तयारी भइरहेको इलाम नगरपालिकाले जानकारी दिएको छ । इलाममा यसअघि १६ जनामा कोरोना पुष्टि भएको थियो भने दशजना निको भएर फर्किसकेका छन् । इलाममा एकैदिन यति धेरैमा कोरोना पुष्टि भएको यो पहिलोपटक हो ।