के थुकको परीक्षणले कोभिड-१९ महामारी अन्त्य गर्न सघाउला?
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोनाभाइरसको महामारी अगाडिको जस्तै सामान्य अवस्थामा फर्किने यदि कुनै तरिका भए के हुन्थ्यो होला? सामाजिक दूरी राख्नु नपर्ने भए, मुख छोपेर हिँड्नु नपरे, कोरोनाभाइरसको डर नभए! यी सबै प्रतिबन्धहरू लगाउनुको कारण भनेको भाइरसलाई सहने र यसको सङ्क्रमणलाई बढ्न नदिने प्रयास नै हो।
हामीलाई अहिले चाहिएको भनेको हामी वरपर जो सङ्क्रमित छन् उनीहरूलाई छिटो र भरपर्दो तरिकाबाट पहिचान गर्नु हो। पहिचानका लागि अहिले देखिएको पहिलो समस्या भनेको कोरोनाभाइरस सङ्क्रमित व्यक्तिको परीक्षण गरेको दिन चारमध्ये एकजना भन्दा कमलाई मात्रै त्यसको लक्षण देखिन्छ। यसले जो सङ्क्रमित छन् उनीहरूलाई नै आफूले सङ्क्रमण फैलाइरहेको छु भन्ने थाहा हुँदैन। दोस्रो समस्या भनेको परीक्षण नै हो।
सायद म अनावश्यक रुपमा संवेदनशील छु तर मलाई कपास बेरिएको लामो सिन्का नाक वा घाँटीभित्र छिराएको असहज लाग्छ।स्वाब सङ्कलनको काम केही सेकेन्डभित्रै सकिन्छ तर मलाई थाहा छैन म त्यस्तो परीक्षण प्रत्येक साता गर्न चाहन्छु कि चाहन्न। एनएचएसमा अग्रमोर्चामा रहेर काम गर्ने कर्मचारीहरूलाई त्यही गर्न प्रस्ताव गरिएको छ।
तेस्रो समस्या भनेको समय हो। पीसीआर परीक्षणका लागि स्वाबलाई प्रयोगशालामा पठाइन्छ र त्यसको प्रक्रियाका लागि केही घन्टा लाग्छ। १० मध्ये ९ जना मानिसले आफ्नो परीक्षणको परीणाम २४ घन्टाभित्र पाउँछन्। तैपनि यो अझै सहज सेवा भइसकेको छैन। त्यसैले कोरोनाभाइरसको परीक्षण हामीलाई छिटो, सहज र भरपर्दो चाहिएको छ। स्वाब परीक्षणहरू छिटो भएर नतिजा चाँडो आउने ठानिएका किटहरू पनि अहिले जाँचकै क्रममा छन्। तर र्यालको परीक्षणले साँच्चै एउटा महत्त्वपूर्ण फड्को ल्याउन सक्छ।
कल्पना गर्नुस् त, तपाईलाई कोरोनाभाइरस छ कि छैन भनेर थाहा पाउनका लागि तपाईँले केवल एउटा सानो भाँडोमा थुके पुग्थ्यो। यो त्यति सहज छैन। र्यालको नमुना प्रयोगशालामा पठाउनुपर्छ र त्यसको नतिजा स्वाबको परीक्षण भन्दा धरै छिटो आउँछ। त्यस्तै चार हप्ते र्यालको परीक्षणमा जेनी लिज र उनको परिवारले भाग लिएका थिए।
मैले जेनी र उनका तीन किशोर उमेरका छोराछोरीहरू टेबलमा वरपर बसेर चम्मामा थुकेको र चम्चाको टुप्पोबाट ट्युबमा हालेको हेरेँ। स्वाब परीक्षण असहज महसुस गरेकी जेनीले र्यालको परीक्षण धेरै सजिलो भएको बताइन्। यसमा १० हजारभन्दा बढी डाक्टर, नर्स र अन्य अत्यावश्यकीय सेवाका कामदार र उनीहरूका परिवारहरू सहभागी थिए।
यो परीक्षणको संयोजनका लागि मद्दत गरिरहेका युनिभर्सिटी अफ साउथह्याम्पटनका किथ गडफ्रीले भने, “हामीलाई लाग्छ परीक्षणका लागि र्याल साँच्चै महत्त्वपूर्ण तरल पदार्थ हो।” “हाम्रो शरीरमा भाइरसको पहिलो सङ्क्रमण हुने भनेको नै र्याल निकाल्ने ग्रन्थीमा हो। स्वास फेर्ने अन्य नलीभन्दा पहिला सङ्क्रमण र्यालमा हुने देखिन्छ।
“हामीले सङ्क्रमणको शुरुवाती अवस्थामा रहेका मानिसलाई नै पहिचान गरिहाल्न चाहेका हौं भने यो हाम्रा लागि एक कदम अगाडिको बाटो हुनसक्छ।” यो परीक्षणको सफलता कोरोनाभाइरस र्यालमा कति यथार्थ रुपमा पत्ता लाग्छ भन्नेमा भरपर्छ।
र्यालको परीक्षणको नतिजा आउन करिब २० मिनेट लाग्छ जबकी पीसीआर परीक्षणका लागि केही घन्टा लाग्छ। “हामी धेरै उत्साही छौं,” भाइरोलोजीका प्रमुख प्राध्यापक इयान ब्राउनले भने। अर्का प्राध्यापक किथ गडफ्रिले भने, “हामीले समाज र अर्थतन्त्र पुन: खोल्न खोजिरहेका छौं भने भाइरस समुदायमा छ कि छैन भनेर अनुगमन गर्ने यो एउटा माध्यम हुनसक्छ र लकडाउनको आवश्यकता अगाडि नै महामारीको अवस्थामा सुधार आइसक्छ।” यो परीक्षण पक्कै पनि महङ्गो हो, प्रत्येक महिना सायद १ अर्ब पाउन्ड खर्च हुन्छ। तर कोरोनाभाइरसका कारण अर्थतन्त्रमा परेको असरको त्यो केवल केही भाग मात्रै हो।
ब्रिटेनको बजेटसम्बन्धी कार्यालय अफिस फर बजेट रेस्पन्सिबिलिटीका अनुसार कोरोनाभाइरसले निम्त्याएको सङ्कटका कारण यो आर्थिक वर्षमा ३ सय अर्ब पाउन्डभन्दा बढी रकम लाग्नेछ। यो परीक्षणका लागि मानिसहरूले भनेको मानेनन् भने समस्या हुनसक्छ। हामीमध्ये प्रत्येक साता एउटा ट्यूबमा थुक्न कति तयार हुन्छौं? तर यदि यसो गर्दा सामाजिक दूरी राख्नुपर्ने आवश्यकताको अन्त्य हुन्छ भने तपाइँ यो गर्नुहुन्न त?
यदि यो परीक्षणले काम गर्यो भने मानिसहरूले अनुहारमा मास्क लगाउनुपर्दैन। जोखिममा रहेका र ज्येष्ठ नागरिक एकान्तवासमा बस्नुपर्दैन। तपाईँले आफ्ना साथी वा हजुरबुवा हजुरआमालाई अङ्गालो मार्न सक्नुहुन्छ। विद्यालयहरूले पनि विद्यार्थी र आफ्ना कर्मचारीको प्रत्येक एक-एक सातामा परीक्षण गर्नसक्छन्।
विमानस्थलहरूमा पनि प्रयोगशाला बनाउन सकिन्छ ताकि आएका र जान लागेका यात्रुको परीक्षण गर्न सकिन्छ। जेनी लिज र उनको परिवारले अहिलेसम्म दुईपटक कोरोनाभाइरसको परीक्षण गरिसके र दुवैपटक उनीहरूलाई देखिएको छैन। यो अध्ययनले काम गर्नका लागि यसले कोरोनाभाइरसको सङ्क्रमण देखिने र नदेखिने दुवै नतिजा देखाउनुपर्छ।
तर जेनीका सन्तानहरूले समस्याहरू पार लाग्ने र आम रुपमा गरिने र्यालको परीक्षण नै समाधानको बाटो हुने आशा गरिरहेका छन्। “त्यो एकदमै गज्जब हुन्थ्यो। कोरोनाभाइरसको विश्वव्यापी महामारी सकिन्थ्यो र यसले मानिसको जीवन बदल्थ्यो,” जेनीका १९ वर्षीय छोरा स्यामले भने। बीबीसी