राजधानीमा कोभिड संक्रमण आक्रामक , किन आयो यो विपत्ति ?
नेपाल हेल्थ न्युज, काठमाडौं । जनघनत्व अत्यधिक भएको संघीय राजधानी काठमाडौं अहिले कोभिड संक्रमणको केन्द्रजस्तै बनेको छ ।
भदौ लागेपछि देशभरमा सबैभन्दा धेरै संक्रमण देखिएको जिल्ला पनि काठमाडौं भएको छ । समुदायमा नै संक्रमण फैलँदै गर्दा त्यहाँको स्थिति अझै बिग्रन सक्ने देखिएको छ ।
चिनको बुहानबाट आएका एक बिद्यार्थीमा पहिलो संक्रमण गत ९ माघ २०७६ मै देखिएपनि त्यसपछि अर्का संक्रमित ९ चैत्र २०७६ मात्रै भेटिएका थिए । काठमाडौंमा तेस्रो संक्रमित २ वैशाख २०७७ र अर्को ३० वैशाखमा फेला परे । जेठदेखि यो संख्या वढ्दै गयो । असार अन्तिममा पुग्दा उपत्यकामा दैनिकजसो दोहोरो अंकमा बिरामी थपिए । साउनको २३ गते १३ अंकमा बृद्धि देखियो र उपत्यकामा एकैदिन १०६ जना संक्रमित भेटिए । भदौ लागेयता लगातार काठमाडौं सर्वाधिक संक्रमण देखिने जिल्ला बनेको छ ।
भदौ १ गते काठमाडौंमा मात्र १३९ जनामा भाइरस पुष्टि भएको थियो भने सिंगो उपत्यकाभर १६८ जनामा यो रोग देखियो । त्यसयता काठमाडौं पहिलोबाट दोस्रोम ाझरेको छैन । काठमाडौं मात्र नभई उपत्यकाका ३ वटै जिल्लामा संक्रमण फैलावट आक्रामक भएको छ ।
भदौ १० गते त काडमाडौंमा मात्रै २३० थपिँदा उपत्यकाका अरु २ जिल्लामा समेत गरी ३०१ जनामा भाइरस देखिएको छ ।
उपत्यकामा कुल बिरामीको संख्या ४०२१ पुगेको छ । ७ साउनमा लकडाउन खुलेर आवतजावत खुकुलो भएपछि महामारी व्यापक भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निश्कर्ष छ ।
मन्त्रालयका सहप्रवक्ता डा. समिरमणि अधिकारी भन्नुहुन्छ—‘शुरुवातका चरणमा काठमाडौं उपत्यका भित्र बाहिरबाट आउनेहरुबाट सरेर संक्रमण देखिरहेको अवस्था थियो । तर पछिल्लो चरणमा घरभन्दा बाहिर निस्कने र उपत्यकाभन्दा बाहिर नजाने व्यक्तिहरुमा पनि संक्रमण भएको अवस्था देखिन्छ । पछिल्लो संक्रमणले जननघनत्व धेरै भएको राजधानीमा आवतजावतको प्रक्रिया, हाम्रो काम, व्यवसाय, आदिले घरबाहिर जानैपर्ने कारणले पनि संक्रमण लिएर घर आउने हो कि भन्ने अवस्था देखिएको छ । यसले अस्पतालमा भर्ना गर्नुपर्ने लक्षण भएका व्यक्तिहरुको अनुपात पनि बढाइरहेको छ र आईसियू भेन्टिलेटरमा राख्नुपर्ने अनुपात पनि बढिरहेको देखिन्छ ।’
उपत्यकाभरीमा ४० लाख बढीको बसोबास रहेकोमा २५ लाखको हाराहारी त काठमाडौं जिल्लामै छ । यहाँ हरेक एक वर्ग किलोमिटरमा २० हजार मानिस बस्छन् ।
यति धेरै बसोबास भएको समुदायमा संक्रमण रोक्नका लागि गर्नुपर्ने तयारी नै नगर्नु पहिलो कमजोरी बनेको छ । बाहिरबाट आएका व्यक्तिहरुलाई क्वारेन्टाइनमा नराखी सिधै समुदायमा पठाउँदा संक्रमण सजिलै समुदायमा पुग्यो ।
प्रहरी मुख्यालयदेखि अख्तियार, अदालत र व्यापारिक प्रतिष्ठानमा ठूल्ठूलो समुदायमा संक्रमण देखिनुले सावधानीमा ध्यान नपुगेको देखाउँछ ।
इपिडियोमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी भन्नुहुन्छ—‘नेपालको करिब ६० प्रतिशत स्रोत साधन, ६० प्रतिशत अस्पतालका शैया, ६० प्रतिशत चिकित्सक, ६० प्रतिशत नर्स, काठमाडौंमै छन् । यसलाई प्रयोग गरेर हामीले ज्वरो, खोकी, सास फेर्न गाह्रो भएका व्यक्तिहरुको व्यापक खोजी गर्नुपर्दथ्यो । बरु टेलिफोनबाट बिमरण माग्दै घरघरमा स्वास्थ्य टोली खटाएर उनीहरुको परीक्षण गर्ने नमुना संकलन गर्न सकेको भए नियन्त्रणमा ठूलो टेवा पुग्न सक्ने अवस्था थियो । यसबाट संक्रमण रोक्न सकिन्छ ।’
काठमाडौंमा देखिएको संक्रमणको यो दरले स्थिति अरु बिग्रन संकेत गरिरहेको छ ।
समुदायस्तरमा परीक्षण व्यापक बनाएर संक्रमितलाई अलग्गै राखी हेरचाह गर्न अझै ढिला गरिएमा परिणाम सोचेभन्दा निकै भयानक हुनसक्ने अवस्था आउन सक्ने देखिन्छ । यसप्रति सम्बन्धित निकायको ध्यान पुग्न जरुरी छ ।