चितवन मेडिकल कलेजमा थप एक कोरोना संक्रमितको मृत्यु
जनस्वास्थ्य सरोकार, चितवन । चितवन मेडिकल कलेजको भरतपुरमा रहेको शिक्षण अस्पतालमा बिहीबार दिउँसो थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।
अस्पतालका निर्देशक डा.दयाराम लम्सालले दिएको जानकारी अनुसार दिउँसो सवा दुई बजे नवलपुर गैंडाकोट–२ का ३७ वर्षीय पुरुषको निधन भएको हो । उनी मृगौला सम्बन्धि दीर्घ रोगले पीडित भएको अस्पतालले जनाएको छ । अस्पतालमा गएराति मात्रै भरतपुरकी ४० वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको थियो ।
चितवनमा योसहित कोरोना संक्रमण देखिएका १९ जनाको मृत्यु भएको छ । मृत्यु भएकामध्ये १० जना चितवनका छन् । मृतकमध्ये चितवन खैरहनी नगरपालिका–३ की १०९ वर्षकी एकजना महिलाको मात्रै घरमै ज्यान गएको थियो । अन्यको उपचारका क्रममा भरतपुरका विभिन्न अस्पतालमा ज्यान गएको हो ।
चितवन जिल्ला स्वास्थ्य कार्यालयका कोभिड फोकल पर्सन जनस्वास्थ्य अधिकृत गिताञ्जली ढकालका अनुसार चितवनमा बुधबार दिउँसोसम्म कूल संक्रमित संख्या ८०९ पुगेको छ । संक्रमितमध्ये १५६ जना निको भएको उनले बताइन् । चितवनमा साउन २१ यता संक्रमण तीव्र भएको हो । त्यो बेलासम्म जिल्लामा जम्मा ११६ जना संक्रमित थिए । साउन मसान्तसम्म मृत्यु जिल्लाका एक र बाहिरका एक गरेर दुईजना मात्रै थिए ।