महँगो भएता पनि प्राईभेट अस्पताल नै किन रोज्छन् सबैजना ?
नेपाल सरकारले उपयुक्त तथा पर्याप्त श्रोत साधनको व्यवस्था नगर्नु, व्यवस्थित नीति नियम नल्याउनु र फितलो कार्यान्वयनको कारणले कोभिड–१९ ले नेपालमा महामारीको रुप लिएको छ ।
सरकारी अस्पतालले गुणस्तरीय स्वास्थ्य सेवा दिन नसकेका कारण संक्रमित बिमारी र उसका आफन्तहरु मर्कामा परिरहेको बेला विभिन्न सावधानी अपनाएर निजी अस्पतालहरु कोभिड बिरामीहरुको सेवामा जुटिरहेका छन् ।
नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार आवश्यक गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गरेको निजी अस्पताहरुको भनाइ छ । तै पनि उनीहरु विभिन्न भ्रामक टिका टिप्पणी र आलोचनाहरु खेप्न बाद्य छन् ।
विश्व कोभिड–१९ महामारीको चपेटामा छ । करोडौं करोड व्यक्तिहरु कोभिडको त्रासमा बाँच्न वाद्य छन् । यस विषम परिस्थितीमा कत्ति पनि विचलित नभई आफ्नो जिउ ज्यानको परवाह नगरी दिनरात विशुद्ध हृदयले स्वास्थ्यकर्मीहरु सेवारत छन् ।
उनीहरुलाई प्रोत्साहन नगरी अपहेलता र सामाजिक बहिष्कार गर्नाले स्वास्थ्यकर्मीको मनोवल गिर्छ । उनीहरु दुखित भएका हुन्छन् । निजी क्षेत्रका अस्पतालहरु धेरै नै महँगा र उनीहरुले विना कारण महँगो शुल्क असुल्ने गरेका भनाइहरु समाजमा सुनिदै आएको छ ।
साँच्चै नै निजी अस्पतालहरुले बिरामी सँग अवैज्ञानिक तथा आधारहीन महँगो शुल्क असुल्ने गरेका छन् त ? के निजी अस्पतालहरु बिरामी लुट्न बसेका हुन् ? निजी क्षेत्रका स्वास्थ्य संस्थाहरुले सर्वसाधारण बिरामीलाई लुटिरहेका छन् भने उपचारका लागि किन निजी अस्पताल नै रोजिन्छ ? महँगो थाहा हुँदा हुँदै निजी अस्पतालको स्वास्थ्य सेवा लिन किन जाने ?
यद्यपी निजी अस्पतालले प्रदान गर्ने स्वास्थ्य सेवा, बिरामीको हेरचाह तथा उपचार पद्धति गुणस्तरीय र विश्वासयोग्य छन् । निजी अस्पतालहरुले रोग पहिचान र निदानका लागि अत्याधुनिक प्रविधिका मेडिकल उपकरणहरु खरीदमा लगानी गरेका छन् । तसर्थ सरकारी भन्दा निजी क्षेत्रका अस्पताल केही मात्रामा महँगो हुनु स्वभाविक पनि हो ।
सरकारी अस्पतालको शुल्क सरह नै ‘निजी अस्पतालहरुले भरपर्दो र गुणस्तरीय उपचार सेवा प्रदान गरुन्’ भन्ने हामी सबैको चाहना हुन्छ । यो चाहना राख्नु गलत होइन । तर सरकारी अस्पतालहरु ‘सरकारद्वारा प्रदान गरिने बजेटमा सञ्चालित हुन्छन्’ भन्ने कुराको पनि ख्याल राख्न जरुरी हुन्छ ।
निजी अस्पतालले प्रदान गर्दै आइरहेको अत्याधुनिक प्रविधि सहितको गुणस्तरीय सेवाको हिसाबकिताव गर्दा निजी अस्पतालहरुले लिएको शुल्क त्यति महँगो होइन ।
सो शुल्कबाट अस्पतालका चिकित्सक, नर्स, स्टाफ खर्च, बैकको किस्ता सबै खर्च व्यवहोर्नुपर्छ । सरकारी तहबाट निजी अस्पतालहरुलाई कुनै पनि अनुदान उपलब्ध गराइँदैन । यदि अनुदान र विभिन्न कर छुट भएमा अहिलेको भन्दा निकै कम शुल्कमा निजी अस्पतालहरुले पनि सेवा उपलब्ध गराउन सक्छन् ।
सरकारको बिना राहत र सहुलियत निजी अस्पतालहरुमा महँगो भन्नु त्यति जायज हुँदैन । चिकित्सकहरुले शत्प्रतिशत जीवन रक्षा गर्छन् भन्ने हुँदैन । उनीहरुले शत्प्रतिशत जीवन रक्षा गर्ने कोसिस मात्र गर्ने हो ।
अहिलेको कोभिडको प्रकोपमा सम्पूर्ण चिकित्सक, नर्स , स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रमा काम गर्ने सम्पूर्ण कर्मचारी जीवनको प्रवाह नगरी बिरामीको उपचारमा खटिरहेका छन् । हामी सवै मिलेर उनीहरूको हौसला बढाउन मद्धत गर्नुपर्छ । उनीहरूको साहसको सम्मान र मूल्यांकन गर्न जान्नुपर्छ । सम्पूर्ण स्वास्थ्यकर्मी को सम्मान गरौं । निजी अस्पताललाई अमानवीय व्यवहार नगरौँ । जीवन रक्षा गर्ने सम्पूर्ण व्यक्तिहरुलाई सधैँ आदार गरौं ।
(लेखकः हाल ह्याम्स हस्पिटलमा मार्केटिङ एण्ड सोसियल वेलफेरअन्तर्गत कार्यरत हुनुहुन्छ ।)