Logo
|
Thursday 9th January 2025
Logo

epaper

निन्द्रामा घुर्ने बानीले दम्पतीबिच ‘स्लिप डिभोर्स’: यस्ता छन् फाइदा र बेफाइदा



नेपाल हेल्थ न्युज, काठमाडौँ । कोभिड-१९ महामारीअघि त्यस्तो समस्या थिएन। तर महामारीपछि सेसिलिया आफ्ना श्रीमान्‌को घुर्ने बानीका कारण निदाउन सकिनन्। उनले आफ्ना पतिको घुराइ कम गराउने प्रयास स्वरूप उनलाई कोल्टे सुताउने प्रयास गरिन्। तर त्यसले पनि काम गरेन।

ती ३५ वर्षे महिलालाई अब असह्य भयो। अनि उनीहरू एउटा निर्णयमा पुगे। त्यो उनीहरू सँगै र एउटै कोठामा नसुत्ने निर्णय थियो।

“म आफ्नो काममा केन्द्रित हुन सकिरहेकी थिइनँ। दिनभरि थकित हुन्थेँ। एक दुई रातको लागि तपाईँ सहन सक्नुहुन्छ तर लामो समयसम्म त्यसरी बाँच्न सकिँदैन,” सेसिलिया भन्छिन्।

“त्यो कहाँ सजिलो विकल्प थियो र! त्यसले हाम्रो मन कुँडियो। तर जब मैले हामी त्यसरी पनि सुत्न सक्छौँ भन्ने महसुस गर्‍यौँ म त्यसपछि खुसी भएँ,” उनी सुनाउँछिन्।

सेसिलिया र उनका ४३ वर्षका श्रीमान्‌ले ‘स्लिप डिभोर्स’ अर्थात् छुट्टिएर सुत्ने अभ्यास अपनाएका छन्। “स्लिप डिभोर्स सुरुमा अस्थायी रूपमा गरिन्छ। तर त्यसपछि जोडीले छुट्टाछुट्टै सुत्दा अझै राम्रोसँग निदाएको महसुस गर्छन्,” अमेरिकास्थित म्याकलिन अस्पतालकी मनोचिकित्सक स्टेफन कोलिअर भन्छिन्।

“सामान्यतया त्यसको प्रमुख कारण स्वास्थ्य हो… कोही मानिसहरू घुर्छन्, खुट्टा चलाइरहन्छन्, कोही निद्रामै उठेर हिँड्छन् वा स्वास्थ्यका कारण कोही उठेर शौचालय गइरहन्छन्। यसको असर उनीहरूका जोडीलाई पर्छ,” उनले बीबीसीसँग भनिन्। “त्यसकारण यो नयाँ प्रवृत्ति निकै लोकप्रिय हुँदैछ।”

‘मिलेनिअल्स’हरूमाझ बढ्दो चलन

गत वर्षको अन्त्यतिर एकजना चिरपरिचित अमेरिकी नायिका क्यामरन डिआजले एक पोडकास्टमा आफू र आफ्ना श्रीमान् एउटै कोठामा नसुत्ने गरेको बताएकी थिइन्।

“फरक-फरक सुत्ने कोठालाई हामीले सामान्य मान्दै जानुपर्छ भन्ने मलाई लाग्छ,” उनले भनेकी थिइन्। उनको भनाइले सामाजिक सञ्जालमा हजारौँ प्रतिक्रिया निम्त्यायो। सञ्चारमाध्यममा कैयौँ लेख र टिप्पणीहरू प्रकाशित भए। यद्यपि यो घटना एउटा मात्रै थिएन।

अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनको सन् २०२३ को एक अध्ययन अनुसार अमेरिकामा सर्वेक्षणमा भाग लिएका एकतिहाइ जोडीहरूले सुताइको गुणस्तर सुधारका लागि कहिलेकाहीँ वा नियमितजसो अलग-अलग कोठामा सुत्ने गरेको बताएका थिए।

उक्त अध्ययनका अनुसार यस्तो प्रवृत्ति मिलेनिअल्स भनिने सन् १९८१ देखि १९९६ बीचमा जन्मिएका वा अहिले २८ देखि ४२ वर्षको बीचको उमेर समूहमा रहेका जोडीहरूमा धेरै देखिएको छ।

यो उमेर समूहका करिब आधा अर्थात् ४३ प्रतिशत सर्वेक्षणका सहभागीहरूले आफूहरू जोडीसँग छुट्टिएर सुत्ने गरेको बताएका थिए।

यसपछि यस्तो अभ्यास गरिरहेको समूह सन् १९६५ देखि १९८० बीचमा जन्मिएका ‘जेनेरेशन एक्स’ छ। यो समूहका ३३ प्रतिशत सहभागीले यस्तो अभ्यास गरेको बताएका छन्।

त्यसपछि ‘जेनेरेशन जेड’ भनिने १९९७ देखि २०१२ बीचमा जन्मिएको पुस्ता (२८ प्रतिशत) र बेबी बूमर्स भनिने सन् १९४६ देखि १९६४ बीचमा जन्मिएको पुस्ता (२२ प्रतिशत) छ।

“युवा पुस्ताले किन यसो गरिरहेका छन् भन्नेबारे ठ्याक्कै थाहा हुन नसके पनि यसबारे केही परिकल्पनाहरू छन्। त्यसमध्ये एउटा चाहिँ छुट्टाछुट्टै सुत्ने कुरामा अहिले सङ्कोच कम छ। यो सांस्कृतिक परिवर्तन हो। मलाई के लाग्छ भने ‘यदि म राम्रोसँग सुतेँ भने म राम्रो महसुस गर्न सक्छु। त्यसो भए किन नगर्ने’,” डाक्टर कोलिअर भन्छिन्।

इतिहासको विकास क्रमसँगै यसमा परिवर्तन हुँदै आएको देखिन्छ। केही इतिहासकारहरूका अनुसार ‘डबल बेड’ अर्थात् जोडी सँगै सुत्न मिल्ने बिछ्यौना आफैँमा आधुनिक अवधारणा हो।

यसको प्रयोग औद्योगिक क्रान्तिसँगै मानिसहरू धेरै जनघनत्व भएका ठाउँहरूमा जान सुरु गरेसँगै बढेको उनीहरू बताउँछन्। तर १९औँ शताब्दी अघिसम्म विवाहित जोडीहरू छुट्टाछुट्टै सुत्ने अभ्यास सामान्य थियो।

“आर्थिक सामाजिक अवस्था जति उच्च हुँदै गयो यो अभ्यास त्यति नै धेरै बढ्दै गयो। राज परिवारका मानिसहरू कसरी सुत्थे भनेर तपाईँले थाहा पाउन सक्नुहुन्छ,” क्याथोलिक युनिभर्सिटी अफ चिले अन्तर्गतको चिकित्सा विद्यालयमा सुताइ समस्या हेर्ने चिकित्सक पाब्लो ब्रोकमन भन्छन्।

यसका फाइदा के छन्

विज्ञहरूका अनुसार फरकफरक कोठामा सुत्ने निर्णय गरेका जोडीहरूलाई कैयौँ फाइदा छन्। “यसको मुख्य फाइदा भनेको उनीहरूमा नियमित गहिरो निद्राको विकास हुनसक्छ। राम्रो निद्रा पाउनु समग्र भलाइका लागि अत्यावश्यक छ,” डा कोलिअर भन्छिन्।

“यदि एकजना व्यक्ति सुत्न सक्दैनन् भने त्यसले उनको रोग प्रतिरोधी क्षमता देखि शारीरिक कामकाज लगायतका सबै कुरामा पनि असर पर्छ। यससँगै तपाइँ छिटो रिसाउनुहुन्छ र अधैर्य हुनुहुन्छ। यसले कुनै प्रकारको डिप्रेशन पनि निम्त्याउन सक्छ,” उनी भन्छिन्।

ती मनोचिकित्सक ‘स्लिप डिभोर्स’ले स्वस्थ सम्बन्ध कायम राख्न पनि सहयोग पुग्ने निश्वास गर्छिन्। “हामीलाई के थाहा छ भने जुन जोडीले राम्रोसँग आराम पाउँदैनन् उनीहरूबीच धेरै झै-झगडा हुने सम्भावना हुन्छ, धेरै झर्किन्छन् र समानुभूति गुमाउँदै जान्छन्,” उनी भन्छिन्।

अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनका श्वासप्रश्वास सम्बन्धी विशेषज्ञ सीमा खोसला पनि यस विषयमा सहमति जनाउँछिन्।

“कमजोर सुताइले तपाईँको मनोदशा खराब बनाउन सक्छ। निद्रा नपुगेका मानिसहरू आफ्ना जोडीसँग झै-झगडा गर्ने सम्भावना धेरै हुन्छ। उनीहरूको निन्द्रा बिथोल्ने व्यक्तिहरूप्रति धेरै रिस हुनसक्छ जसले सम्बन्धलाई नकारात्मक असर गर्छ,” अमेरिकन अकाडमी अफ स्लिप मेडिसिनले स्लिप डिभोर्सबारे आफ्नो प्रतिवेदन सार्वजनिक गर्ने क्रममा उनले भनेकी थिइन्।

“रातको समयमा राम्रो निद्रा पाउनु स्वास्थ्य र खुसीका दुवैका लागि महत्त्वपूर्ण छ। त्यसकारण केही जोडी आफ्नो समग्र भलाइका लागि छुट्टाछुट्टै सुत्नु कुनै अचम्मको कुरा होइन,” उनले थपिन्।

सेसिलियाका हकमा आफ्ना जोडीभन्दा फरक कोठामा सुत्न सुरु गरेयता उनको जीवन परिवर्तन भएको छ। “त्यसो गर्दा अझै धेरै सहज हुन्छ। राम्रोसँग सुत्न पाइन्छ वा ओछ्यानमा अझै धेरै ठाउँ प्रयोग गर्न पाइन्छ अनि अरूलाई असर नपारी कोल्टे फेर्न सकिन्छ…” उनी भन्छिन्।

“साथै तपाईँको जोडी उठ्दा आफू पनि सँगै उठ्न परेन। तपाईँ आफू जतिबेला उठ्न आवश्यक छ त्यतिखेर उठ्न सक्नुहुन्छ।”

के बेफाइदा पनि छन्?

सबैभन्दा प्रमुख बेफाइदा भनेको यस्तो अभ्यासका लागि एउटा थप बिछ्यौना चाहिन्छ र सम्भवतः थप एक कोठा पनि। त्यसकारण कैयौँ जोडीहरूका लागि यो विकल्प उपलब्ध नहुन सक्छ।

कोठा र बिछ्यौनाको प्रबन्ध भए पनि यस्तो निर्णयका केही नकारात्मक पाटोहरू पनि छन्। कैयौँ जोडीहरूमा यसो गर्दा सामीप्य गुम्दै जाने डर हुने विज्ञहरू बताउँछन्।

“मेरा श्रीमान्‌सँगको सम्बन्धको प्रगाढतामा केही परिवर्तन आएको मलाई पनि लाग्छ,” सेसिलिया स्विकार्छिन्। “सम्बन्ध र सामीप्यमा असर पर्छ। तर त्यो धेरै गम्भीर हदसम्म होइन। मेरो विचारमा फाइदा धेरै छन्,” उनी थप्छिन्।

डा कोलिअरका अनुसार दिनभरि काम गर्नेहरूका लागि आफ्नो जोडीसँग नजिक हुने समय भनेको बिछ्यौनामा पुगेपछि हो। “त्यसकारण यसको समाधान भनेको सँगै बिताउने समय सकेसम्म धेरै निकाल्नु हो,” उनी भन्छिन्। डा ब्रोकमन ‘स्लिप डिभोर्स’ले सबै जोडीका लागि काम नगर्ने बताउँछन्।

“जोडी सँगै सुत्दाका केही जैविक फाइदाहरू पनि छन्। कैयौँका हकमा सँगै सुत्दा उनीहरूको सपना मार्फत् सम्बन्ध स्थापित हुने गर्छ। मानव जातिमा यो आदिम कालबाटै स्थापित विशेषता हो। उदाहरणका लागि महिलाले स्तनपानका समयमा आफ्ना बच्चाहरूसँग यस्तो बन्धन स्थापित गर्नेगर्छिन्। उनीहरूको सुत्ने तालिका पनि एउटै हुनेगर्छ र दुवैले आराम पनि पाउँछन्।”

ती निद्रा विशेषज्ञ थप्छन्: “अध्ययनहरूले कैयौँ वर्ष देखि सँगै सुतिरहेका जोडीहरूमा एक अर्काबीच बन्धन स्थापित भए देखि गहिरो निद्रा पर्ने पनि देखाएका छन्। यसबाट हामीले आफ्नो सुताइको गुणस्तर सुधार गर्न सक्छौँ।”

विशेषज्ञहरूका अनुसार छुट्टाछुट्टै सुत्ने निर्णय लिएका जोडीहरूले केही सुझावहरु पालना गर्नुपर्ने हुन्छ। “यदि जोडीमध्ये एक जनालाई मात्रै यस्तो गर्न रुचि हुने र अर्कोलाई नहुने हो भने यसले काम गर्दैन। त्यसले रोष मात्रै जन्माउँछ,” कोलिएर भन्छिन्।

“केही मानिसहरू एक्लै सुत्न चाहँदैनन् र त्यसले उनीहरूलाई नराम्रो महसुस हुन्छ। त्यसपछि उनीहरू सँगै सुत्ने सम्झौता गर्छन्।” यसमा ब्रोकमन सहमति जनाउँछन्।

“घुर्ने, सपनामा हिँड्ने र खुट्टा चलाइरहने जस्ता साँच्चिकै समस्या भएका मानिसहरूका हकमा कठिन हुनसक्छ। किनभने केही मानिसहरू छुट्टाछुट्टै बिछ्यौनामा सुत्न चाहँदैनन्। खास गरी पुरुषहरू यस्तो चाहँदैनन्,” उनी भन्छन्।

अध्ययनहरूले भने केही देशहरूमा छुट्टाछुट्टै सुत्ने प्रवृत्ति बढिरहेको देखाएका छन्। यूकेमा पनि सन् २०२० मा न्याश्नल बेड फेडेरेसनले गरेको अध्ययनमा छजनामा एक जना ब्रिटिशहरू सँगै बसे पनि छुट्टाछुट्टै सुत्ने देखिएको थियो।

जसमध्ये पनि १० जोडीमध्ये नौजना फरक-फरक कोठामा सुत्ने गरेका थिए। सन् २००९ मा भएको यस्तै अध्ययनमा १० जोडीमध्ये एक फरकफरक बिछ्यौनामा सुत्ने गरेको देखाएको थियो।

“यसले के देखाउँछ भने पछिल्लो एक दशकमा छुट्टाछुट्टै सुत्ने दर दोब्बर भएको छ,” न्याश्नल बेड फेडेरेसनले भनेको छ। को कहाँ सुत्छ भन्दा पनि सम्बन्धमा रहेका धेरै भन्दा धेरै जोडीहरू रातको समयमा राम्रो निद्रा चाहन्छन् भन्ने देखिन्छ। बीबीसी

प्रतिक्रिया दिनुहोस्