साइकल उपहार पाएपछि महिला स्वास्थ्य स्वयंसेविका दंग
जनस्वास्थ्य सरोकार, टीकापुर । टीकापुर नगरपालिकाले महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार दिएको छ । अन्तर्राष्ट्रिय महिला स्वास्थ्य स्वयंसेविका दिवसको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत टीकापुर नगरपालिका–८ ले वडाभित्रका १३ महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल उपहार दिएको हो ।
वडा कार्यालयले वडामा उत्कृष्ट सेवा दिएवापत दुई महिला स्वास्थ्य स्वयंसेविकालाई भित्तेघडीसमेत प्रदान गरेको छ । स्वयंसेविकाको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्वयंसेविकाकै सहयोगका कारण नगरपालिका स्वास्थ्य सेवामा सुदूरपश्चिममै उत्कृष्ट हुन सफल भएको नगरप्रमुख तपेन्द्रबहादुर रावल बताउनुभयो ।
‘हामी यहाँहरुको लगनका कारण सुदूरपश्चिममा उत्कृष्ट भएका हौँ, नगरप्रमुख रावलले भन्नुभयो-‘यहाँहरुले स्वास्थ्य सेवामात्र नभई सामाजिक अभियान, विकासका कार्यमा समाजलाई जागरुक बनाउने काम पनि गर्नुभएको छ ।’
वडाकार्यलयले साइकल उपचार दिएपटि महिला स्वास्थ्य स्वंयमसेविकाहर खुशी भएका छन । टीकापुर नगरपालिका वडा नं. ८ कि रञ्जितादेवी टमट्टा भन्नुहुन्छ-‘हामी स्वयंसेविकाका समस्या र माग साना–साना छन्, दिनभरि सामाजिक काममा हिँड्नुपर्छ तर एउटा साइकलको समस्या थियो, सरकारले समयमै बुझेछ । साइकल उपहार दियो । ‘
उहाँलाई हिडेर वडा कार्यालय र स्वास्थ्य संस्था आइपुग्न आधा घण्टा लाग्थ्यो । साइकल पाएपछि आवतजावत गर्न सहज भएको उहाँको भनाई छ ।
आगामी दिनमा महिला स्वास्थ्य स्वयंसेविकाले उच्च मनोबलका साथ सेवा प्रदान गर्ने वातावरण तयार गर्ने वडाध्यक्ष दीर्घबहादुर ठकुल्ला बताउनुभयो । वडा कार्यालयले स्वयंसेविकालाई प्रोत्साहन गर्ने, उनीहरुका आवश्यकता पूरा गर्ने जिम्मा सरकारको भएकाले आउँदा दिनमा यस्ता कार्यक्रम निरन्तर गर्ने उहाँको भनाई छ ।