Logo
|
Wednesday 8th May 2024
Logo

epaper

नयाँ स्वरुपको भाइरसबाट के नेपाल अछुतो रहला ?



जनस्वास्थ्य सरोकार, काठमाडौं । बेलायतमा नयाँ प्रजातीको कोरोना भाइरस देखिएसंगै त्यसको जोखिम नेपाल लगायतका विश्वका अन्य देशहरुमा समेत परेको छ । नयाँ प्रजातीको भाइरस भारतमा पनि देखिएको छ ।
भारत र नेपाल सिमानाका खुला भएका देश हुन् । नेपालीहरु भारतमा र भारतीयहरु नेपालमा आवतजावत भइरहन्छ । पुसको पहिलो साता बेलायत हुँदै नेपाल फर्किएका मध्ये पाँच जनामा कोरोना संक्रमण देखिएको थियो । तर, अहिलेसम्म सो भाइरस नयाँ प्रजातीको हो या होइन अध्ययन अनुसन्धान भइसकेको छैन ।

बेलायतबाट नेपाल फर्केका पाँच जना कोरोना संक्रमितको भाइरस नयाँ हो/होइन भनेर यकिन गर्न स्वाब हङकङ पठाउने सरकारले तयारी थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विश्व स्वास्थ्य संगठनसँगको सहकार्यमा स्वाबलाई ‘जिन सिक्वेन्सिङ’ मार्फत् भाइरस नयाँ हो कि पुरानै हो भनेर पत्ता लगाउन हङकङ पठाउन लागेको हो ।


हङकङ पठाउन लागिएका ती स्वाबलाई टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा राखिएको छ । बेलायतमा नयाँ प्रकारको कोरोना भाइरस देखा परेपछि सरकारले पुसयता बेलायतबाट नेपाल फर्केका यात्रुहरूलाई परीक्षण गराउन अनुरोध गरेको थियो ।
२०७७ पुसयता हालसम्म बेलायत हुँदै दुइ सय ३५ जना यात्रु नेपाल प्रवेश गरेको सरकारको तथ्याकंले देखाउँछ । अहिले नयाँ प्रजातीको कोरोना भाइरस फ्रान्स, स्पेन, क्यानडा, अमेरिका, जापान, दक्षिण अफ्रिकासँगै भारतमा पनि देखिएको छ । नयाँ कोरोना भाइरस पहिलेको कोरोना भाइरस भन्दा तिव्र गतिमा सर्ने अध्ययनहरुले देखाएका छन् । चिकित्सकहरुका अनुसार नयाँ स्वरुपको भाइरस कडा प्रकृतिको होइन ।
सरुवा रोग विशेषज्ञ डा.शेरबहादुर पुनले नयाँ स्वरुपको कोरोना भाइरस तिव्र गतिमा फैलीने बताउनुभयो । उहाँले भन्नुभयो, ‘नयाँ स्वरुपको भाइरस कडा प्रकृतिको त होइन । तर, यो भाइरसले छिटो प्रभावित पार्छ । ’ उहाँले भारतसंग नेपाल खुलासिमानाका जोडिएका कारण नेपाल जोखिममा रहेको बताउनुभयो ।
जनस्वास्थ्य विज्ञ डा.रवीन्द्र पाण्डेले भाइरस पटकपटक म्युटेसन हुने र आफूलाई अपडेट गरिरहने बताउनुभयो । चिकित्सकहरुले नयाँ प्रजातीको भाइरसबाट बच्न अनिवार्य रूपमा सही तरिकाले मास्क लगाउने, दुरी कायम गर्ने, भीडभाडमा नजाने, भेन्टिलेसन भएको ठाउँमा मात्र भेटघाट गर्ने तथा हात नियमित रूपमा धुनुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्