औषधि थोक व्यवसायीहरुको उपत्यकाव्यापी सभा काठमाडौंमा सम्पन्न
लगानीको जोखिम न्युनिकरणमा व्यापक छलफल
जनस्वास्थ्य सरोकार, काठमाडौं । औषधि थोक व्यवसायीहरुको उपत्यकाव्यापी सभा काठमाडौंमा सम्पन्न भएको छ ।
नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाको आयोजनामा भएको सो सम्मेलनमा काठमाडौं, ललितपुर र भक्तपुरका करिब २ सय जनाभन्दा बढी औषधि थोक व्यवसायीहरुको सहभागिता रहेको थियो । ‘व्यवसायिक एकता, हकहित र सुरक्षा, जोखिमको न्युनिकरण हाम्रो आकांक्षा’ भन्ने उद्देश्यका साथ सो सभा गरिएको हो । कार्यक्रमलाई नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले सम्बोधन गर्नुभएको थियो ।
‘लगानीको जोखिम न्युनिकरण गर्नु हाम्रो मुलभूत मुद्धा हो । हामीले यस्तो भिजन लिएर आएका छौं कि जसबाट हाम्रा थोक, खुद्रा व्यवसायी, आयात निर्यात कम्पनि वा उत्पादक कम्पनि सम्पूर्णलाई समन्वय गरी जोखिम न्युनिकरण गर्नु नै आजको मुलभूत एजेन्डा हो ।’— नेपाल औषधि व्यवसायी काठमाडौं जिल्ला शाखाका महासचिव शुभमान श्रेष्ठले भन्नुभयो— ‘नैतिक रुपले थोक व्यवसायीहरुको उपसमितिभित्र टिम बनाइँदै छ । जुन टिमले एकप्रकारको सुपरभिजन गर्छ । जसले व्यवसायिक हकहितका लागि काम अघि बढाउँछ ।’
‘हामी व्यवसाय त गर्छौं तर हाम्रो लगानी सुरक्षित भएको अवस्था छैन । हामी विश्वासको आधारमा व्यापार गरिहेका छौं । हामीले लगानी गरेको लगानी बारम्बार डुबिरहेको छ । पैसा उठ्दैन ।’— नेपाल औषधि व्यवसायी संघ काठमाडौं जिल्ला शाखाका अध्यक्ष बद्रीप्रसाद श्रेष्ठले भन्नुभयो— ‘सेवा त हाम्रो धर्म नै हो तर व्यापार गरेपछि नाफा कमाउनु पनि व्यवसायिक धर्म हो । बजारबाट पैसा नउठेपछि कसरी नाफा गर्नु ? उल्टै घाटा व्यहोर्नुपरिरहेको छ ।’
हाल उत्यकामा ८ सय औषधि थोक व्यवसायी रहेका छन् । काठमाडौंमा ६४५ जना, ललितपुरमा १०१ र भक्तपुरमा ५४ जना थोक व्यवासायी रहेका छन् । खुद्रा व्यवासायीहरु करिब ३५ सयको हाराहारीमा रहेको संघले जनाएको छ ।
नेपाल औषधि व्यवसायी संघ, ललितपुर र भक्तपुर जिल्लाशाखाको सहसंयोजन रहेको सो सभालाई नबिल बैंकले सपोर्ट गरेको थियो ।