स्तन क्यान्सरका लागि बी.आर.सि.ए. जीन परीक्षण
जनस्वास्थ्य सरोकार, काठमाडौं । स्तनका कोषहरु असामान्य रुपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुने गरेको छ । साधारणतया कोषहरुको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुने गरेको विज्ञहरु बताउँछन् ।
तर, जब शीघ्र रुपमा र धेरै मात्रामा कोषहरु बृद्धि र विभाजन हुन्छन् पुराना कोषहरु टाँसिएर रहन्छन् । तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुन्छ । स्तनमा भएका कोष कोषिकामा असामान्य परिवर्तन आई तिनीहरुको अनियन्त्रित तथा अनावश्यक वृद्धिबाट बन्ने गिर्खा, गाँठागुँठी र निको नहुने घाउलाई स्तन क्यान्सर भनिन्छ ।
त्यो प्रक्रिया क्यान्सर नहुने वा हुने दुवै प्रकृतिको हुनसक्छ । क्यान्सर हुने प्रकृतिका ट्युमरले नजीकका तन्तु तथा अवयवहरु नष्ट गर्छन् । ती ट्युमर शरीरका अन्य भागमा फैलिन सक्छन । शल्यक्रिया गरेर हटाएपनि फेरी उत्पन्न हुन्छन् । र धेरै खतरनाक हुन्छन् ।
स्तन क्यान्सर प्रायः दुग्ध उत्पादन गर्ने नलीबाट सुरु हुन्छ तर कहिलेकाहीँ तन्तुहरुको झुप्पाबाट पनि सुरु हुन्छ । स्तन क्यान्सर शरीरको कुनै पनि भागमा फैलिन सक्छ । स्तन क्यान्सर फैलिएमा हड्डी, कलेजो, फोक्सो, तथा मस्तिष्कमा पनि ट्युमर हुन सक्छ । वंशाणुगत रोग विशेषज्ञ डा. निलम ठाकुरले स्तन क्यान्सरको लागि बीआरसीए जीन परीक्षण गर्न सकिने बताउनुभयो ।
वंशाणुगत वा जेनेटिक कारणलाई नियन्त्रण गर्न सकिँदैन तथापि सन्तुलित आहारबिहार र स्वस्थ जीवनशैलीले क्यान्सर हुने सम्भावनालाई न्युनिकरण गर्न सकिन्छ । सकभर विकिरणबाट बच्ने, नियमित व्यायाम गर्ने, चिल्लोयुक्त खाना कम खाने, धुम्रपान तथा मद्यपान नगर्ने आदिबाट रोग प्रतिरोधात्मक क्षमता वृद्धि गर्न सकिन्छ । स्तन क्यान्सर रोकथामको सबैभन्दा महत्वपुर्ण पक्ष भनेको स्तन क्यान्सरको विकासक्रमबारे सचेत हुने, समयमै यसको निदान तथा उपचार गर्ने हो ।
यो उमेरमा परीक्षण गरे स्तन क्यान्सरबाट बच्न सकिन्छ
– २० वर्षसम्मको उमेरमा: परवर्तनको लक्षण थाहा पाउन महिनाको एकपटक आफैँले आफ्नो स्तनको परीक्षण गर्ने ।
– २० देखि ३९ वर्षको उमेर: प्रत्यक तीन वर्षमा चिकित्सकद्धारा स्तन परीक्षण गराउने
–४० देखि ४९ वर्षको उमेरमा: प्रत्यक एक दुइ वर्षको अन्तरालमा म्यामोग्राफ गराउने
– ५० वर्ष र तत्पश्चात: प्रत्यक वर्ष म्यामोग्राफ गर्ने ।
लक्षणहरु
स्तन क्यान्सरको प्रारम्भिक अवस्थामा कुनै पनि लक्षहरु देखिँदैनन् । क्यान्सर बढ्दै गएपछि निम्न लक्षणहरु देखा पर्छन :
–स्तन वा पाखुरामुनि गिर्खा हुनु, गिर्खा कडा, अनियमित तथा नदुख्ने प्रकृतिको हुनु
–स्तन वा स्तनको मुन्टोको आकार प्रकारमा परिवर्तन हुनु । जस्तै रातोपना, चाउरिएजस्तो, सुन्तला रङको, मुन्टो स्तनतिर फर्किएको, मुन्टो वरिपरिको छालामा कत्ला निस्केको वा सुन्निएको ।
–स्तनबाट दूधबाहेकको तरल पदार्थ जस्तै रातो, सफा वा पहेँलो, हरियो अथवा पीपजस्तो आउनु ।
–स्तनको मुन्टो दुख्नु ।
–स्तनमा निको नहुने घाउ हुनु ।
– गम्भीर अवस्थामा हाड दुख्नु, स्तन दुख्नु, स्तनमा घाउ आउनु, पाखुरा सुन्निनु, वजन घट्नु ।
–सबै गिर्खाहरु क्यान्सर होइनन् । दशमा आठ गिर्खा क्यान्सर नहुने प्रकृतिका हुन्छन् ।
परीक्षण विधि
विधिः नेक्ट जेनेरेनि सिक्वेन्सिङ Next Generation Sequencing (NGS)
नमुना आवश्यक : रगत तन्तु
सङकलन कन्टेनर ट्युवः EDTA Vial
नमुना भोल्युम : २–३ एमएल
BRCA1 and BRCA2 (बी.आर. सि .ए.) जीनहरु परीक्षण एउटा रक्त परीक्षण हो । यी जीनहरुमा वंशाणुगत म्युटेसन भएका महिलाहरुलाई सामान्य जनसंख्याको तुलनामा स्तन क्यान्सरह हुने खतरा बढी हुन्छ ।
BRCA जीन परीक्षणव्यक्तिगत वा पारिवारिक इतिहासमा आधारित वा कुनै खास प्र्रकारको स्तन क्यान्सर भएका व्यक्तिहरुलाई मात्र दिइन्छ ।
BRCA1जीन परीक्षण गर्दा तपाईँले वंशाणुगत रुपमा BRCA1 म्युटेसन गर्नुहुन्छ कि बोक्नुहुन्छ भन्ने कुरा निर्धारण गर्छ । यसो गर्नुभयो भने तपाईँको नतिजा सकारत्मक हुन्छ । डाक्टरले तपाईँलाई क्यान्सरको खतरा बुझ्न मद्धत गर्न सक्छन । यदि तपाईँलाई म्युटेसन छैन भने यसलाई नकारात्मक परिणाम मानिन्छ ।
उपयोग
BRCA जीन परीक्षण एउटा रक्त परीक्षण हो । यी जीनहरुमा म्युटेसन हुने व्यक्तिहरुलाई सामान्य जनसंख्याको तुलनामा स्तन क्यान्सर हुने खतरा बढी हुन्छ । स्तन क्यान्सर व्यक्तिगत वा पारिवारिक इतिहासमा आधारित वंशाणुगत म्युटेसन हुने सम्भावना भएकालाई यी जीन परिक्षण गरिन्छ ।