Logo
|
Thursday 25th April 2024
Logo

epaper

कोभिड बेवास्ता गर्ने राष्ट्रपति संक्रमण भई अस्पतालमा



जनस्वास्थ्य सरोकार। पूर्वी अफ्रिकी मुलुक तान्जानियाका राष्ट्रपति जोन मागाफुलीले उनको देशले कोरोनाभाइरसमाथि विजय प्राप्त गरेको दाबी गरेका थिए । उनले खोपको खरिद आदेश दिन पनि अस्वीकार गर्दै आएका थिए।

तर बितेको ११ दिनदेखि सार्वजनिक कार्यक्रमा देखा नपरेपछि उनको स्वास्थ्यलाई लिएर प्रश्नहरू उब्जिएका छन्।

तान्जानियाका मुख्य विपक्षी दलका नेता टुन्डु लिसुले राष्ट्रपति मागाफुली कोरोनाभाइरसबाट सङ्क्रमित भएपछि सिकिस्त हालतमा केन्याको राजधानी नाइरोबीस्थित एक अस्पतालमा रहेको सूत्रहरूबाट थाहा पाएको बताएका छन्।

मागाफुलीको सरकारले कोभिड(१९ को व्यवस्थापनलाई लिएर निकै आलोचना बेहोरिरहेको छ। उनको सरकारले कोभिडविरुद्ध खोप समेत किन्न अस्वीकार गरिरहेको छ।

तान्जानियाले देशमा कोरोनाभाइरस मामिलाका विवरण मे महिनायता प्रकाशन गर्न पनि छाडिसकेको छ।

६१ वर्षीय राष्ट्रपति मागाफुलीले भाइरसलाई हराउन बरू प्रार्थना गर्न अनि जडिबुटीसहित बाफ लिन आह्वान गर्दै आएका थिए।

मृत्यु भएका एकजना वरिष्ठ सहयोगीको अन्तिम संस्कारमा केही साता अगाडि बोल्दै राष्ट्रपति मागाफुलीले तान्जानियाले कोभिडलाई गत वर्ष पनि पराजित गरेको र यो वर्ष पनि पराजित गर्ने बताएका थिए।

देशको अर्ध स्वायत्त जन्जिबार टापुका उपराष्ट्रपतिको कोभिड(१९ को उपचारका क्रममा मृत्यु भएको केही घण्टापछि ती सहयोगीको मृत्यु भएको थियो।

तान्जानियामा मानिसहरूले स्टिम बुथ भनिने बाफ लिने स्थलहरूको प्रयोग कोरोनाभाइरसजस्ता श्वासप्रश्वासजन्य रोगका निम्ति गर्ने गर्छन्

निर्वासित अवस्थामा हाल बेल्जियममा रहेका विपक्षी नेता टुन्डु लिसुले बीबीसीसँग बोल्दै राष्ट्रपति मागाफुलीलाई सोमवार राति विमानबाट नाइरोबी अस्पताल लगिएको बताए।

उनका अनुसार राष्ट्रपतिलाई हृदयाघात समेत भएको छ र उनी सिकिस्त हालतमा छन्। सरकारले यसबारे कुनै आधिकारिक प्रतिक्रिया जनाएको छैन। उसले राष्ट्रपतिको स्वास्थ्यबारे अपुष्ट सामग्री नछाप्न सञ्चारमाध्यमहरूलाई सचेत गराएको छ।

मागाफुलीलाई पछिल्लोपटक फेब्रुअरी २७ मा राजधानी दारेसलाममा देखिएको थियो।

नाइरोबीस्थित अस्पतालले पनि टिप्पणी गर्न अस्वीकार गरेको छ।

विपक्षी नेता लिसुले सरकारले प्रतिक्रिया नजनाएर गैरजिम्मेवार र घातक हुनसक्ने काम गरिरहेको बताएका छन्।

सरकारको मौनताले हल्ला फिँजिएको भन्दै उनले राष्ट्रपतिको स्वास्थ्य निजी विषय हुन नसक्ने बताए।

भाइरसको महामारीका समयमा बेवास्ता गर्दै आएकाले उनलाई कोरोनाभाइरस सङ्क्रमण भएको भए त्यसलाई मानिसहरूले आश्चर्यको विषय नमान्ने लिसुले बताए।

उनले बारम्बार अनि सार्वजनिक रूपमै स्थापित औषधिहरूको साटो प्रार्थना अनि अपुष्ट जडिबुटीमा भर गरिरहे। बीबीसी

प्रतिक्रिया दिनुहोस्