Logo
|
Friday 26th April 2024
Logo

epaper

‘अक्सफोर्ड-एस्ट्राजेनेका खोपले रगत जमेको प्रमाण छैन’



जनस्वास्थ्य सरोकार, काठमाडौँ । युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफोर्ड–एस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै सङ्केत नभएको जनाएको छ ।

त्यस्तो खतराको जोखिमस्तर खोप लगाएका र नलगाएका मानिसमा उत्तिकै रहेको उसले जनाएको छ ।

डेनमार्क तथा नर्वे लगायत कतिपय देशहरूले उक्त खोपको प्रयोग स्थगित गरेपछि उक्त निकायले स्पष्टीकरण दिएको हो ।

ती देशमा थोरै सङ्ख्यामा मानिसहरूलाई खोप लिएपछि रगत जमेको विवरण आएपछि खोप वितरण स्थगित गरिएको थियो ।

साथै उक्त खोप लिएपछि इटलीमा एकजना ५० वर्षीय पुरुषलाई डिप भेन थ्रम्बोसिस भएर ज्यान गएको विवरण पनि आएको थियो ।

‘खोपकै कारण यी समस्या आएका हुन् भन्ने हाल कुनै सङ्केत प्राप्त भएको छैन । खोपको साइड इफेक्टमा यी सूचीकृत छैनन्’, युरोपेली मेडिसिन्स एजेन्सी इएमएले जनाएको छ ।

‘खोपको फाइदा यसका सम्भाव्य जोखिमभन्दा निकै धेरै छ । यी मामिलाहरूको थप अनुसन्धान हुँदै गर्दा खोप दिलाउने काम अगाडि बढाइराख्न सकिन्छ’, उसले भनेको छ ।

उसका अनुसार पचास लाख युरोपेलीहरूलाई खोप दिँदा करिब ३० वटा यस्ता घटना देखा परेका छन् ।

एस्ट्राजेनेका कम्पनीले उसको खोपको सुरक्षाबारे क्लिनिकल परीक्षणका बेला सघन अध्ययन भएको प्रतिक्रिया दिएको छ ।

‘नियामक निकायहरूले कुनै पनि नयाँ औषधिलाई अनुमति दिँदा प्रभावकारीता तथा सुरक्षाबारे कडा जाँचबुझ गर्छन्’, कम्पनीका एक प्रवक्ताले भनेका छन् ।

बेलायतमा नियामक निकाय एमएचआरएले खोपले समस्या गराएका प्रमाण नभेटिएको जनाएको छ ।

उसले मानिसहरूलाई पालो आएपछि खोप लिन आह्वान गरेको छ ।

‘रगत जम्ने समस्या प्राकृतिक रूपमै भएको हुनसक्छ र यस्तो समस्या नौलो पनि होइन । बेलायतमा करोड १० लाख मात्राको अक्सफोर्ड–एस्ट्राजेनेका खोप दिलाइ सकिएको छ’, एमएचआरएका फिल ब्रायनले बताएको बीबीसीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्